२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

शेखर र गगनले भने ‘हामी एक छौं’

नेपाली कांग्रेसको संस्थापन इतर पक्षभित्रै शेखर कोइराला र गगन थापाबीच मनमुटाव सुरु भएको चर्चा चलिरहेका बेला यी दुवै नेताले आफूहरू एक रहेको सन्देश दिएका छन्।

इतर पक्षको बुधबारको बैठकमा कोइराला र थापाले अजेन्डामा आफूहरू एक रहेको प्रस्ट पारेका छन्। बैठकमा दुवै नेताले आफूहरू बीचको सम्बन्धमा कुनै समस्या नभएको पनि बताए।

बैठकपछि सञ्चारकर्मीसँग कोइरालाले भने, ‘महामन्त्री गगन थापा र मबीच अजेन्डामा एक इन्च पनि फरक छैन।’ थापा र आफूबीच उमेर र सोचाइ फरक भए पनि अजेन्डा फरक नभएको उनले प्रस्ट पारे। यस्तै भनाइ थापाको थियो।

‘मूलभूत रूपमा हामी एक ठाउँमा छौं। पार्टीभित्र सुशासन स्थापित गर्ने सवालमा पनि हामी एकजुट छौं,’ थापाले भने।

राष्ट्रियसभा सदस्यको निर्वाचनका सवालमा थापाले योग्य र अवसर नपाएकालाई राष्ट्रियसभामा लैजानुपर्ने धारणा राखे। उनले भने, ‘जो साथीहरूले अहिलेसम्म मौका पाउनुभएको छैन, ती साथीलाई राष्ट्रियसभा सदस्यमा लैजाने कुरा रहन्छ।’

महामन्त्री गगन थापा र मबीच उमेर र सोचाइमा फरक भए पनि अजेन्डामा एक इन्च पनि फरक छैन। -शेखर कोइराला

राष्ट्रियसभा सदस्यको टिकट बाँड्दा सभापति सिंगो कांग्रेसको हुनुपर्ने उनको भनाइ थियो।

बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टीबाट पटकपटक अवसर पाएका, समानुपातिक निर्वाचन सूचीमा परेका तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेताहरूलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा टिकट दिन नहुने तर्क राखेका थिए।

कांग्रेस सभपाति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा हारेका कृष्णप्रसाद सिटौला र समानुपातिक निर्वाचन सूचीमा परेका गोपालमान श्रेष्ठलाई राष्ट्रियसभा सदस्य बनाउने चर्चा भइरहेका बेला इतर पक्षका नेताहरूले नयाँ अनुहार र अवसर नपाएकालाई उम्मेदवार बनाउन पार्टी दबाब दिने भएका छन्।

बैठकमा उपसभापति धनराज गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनमा पटकपटक अवसर पाएका अनुहारलाई छाडेर नयाँलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। राष्ट्रियसभाको उम्मेदवार हुन चुनावमा हारेका र समानुपातिक सूचीमा परेका बीचमै प्रतिस्पर्धा भइरहेको सुनिएको बताउँदै उनले भने, ‘अब नयाँ अनुहारलाई पार्टीले मौका दिनुपर्छ।’

आगामी माघ ११ गते १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदैछ।

मूलभूत रूपमा हामी एक ठाउँमा छौं। पार्टीभित्र सुशासन स्थापित गर्ने सवालमा पनि हामी एकजुट छौं। -गगन थापा

बैठकमा सहभागी अन्य नेताले तोकिएको मितिमा महासमितिको बैठक गर्न नेतृत्वलाई दबाब दिनुपर्ने बताएका थिए। उपसभापति गुरुङले तोकिएको मितिमा महासमितिको बैठक गर्नुपर्ने धारणा राखे।

यही पुस १६ देखि १९ सम्म कांग्रेसले काठमाडौंमा महासमितिको बैठक बोलाएको छ। कांग्रेस सभापति देउवाले जाडोको बेला महासमितिको बैठक गर्न उपयुक्त नहुने भन्ने धारणा राखेपछि बैठक सर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रियसभा सदस्य निर्वाचनमा हिजो चुनावमा हारेका र समानुपातिक सूचीमा बसेकालाई अवसर दिने कि नदिने भन्ने विषयमा छलफल गर्नुपर्ने र यो विषयमा एउटा निश्चित मापदण्ड बनाउनुपर्ने बताएका थिए।

भागबन्डाको नाममा जसजसलाई जुनजुन व्यक्ति मन पर्छ, तिनैतिनैलाई ल्याउन नहुने उनको भनाइ थियो। अर्का नेता सुनिल शर्माले गत निर्वाचनमा टिकट पाएर पनि चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभाको निर्वाचनमा टिकट दिनै नहुने धारणा राखेका थिए। गाउँमा बसेका र अवसर नपाएकालाई राष्ट्रिय सभामा अवसर दिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २८ मंसिर २०८० ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App