२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

‘पिस कोर कार्यक्रम कम लागतमा उच्च लाभ दिने लगानी’

पिस कोर उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर गत साता नेपाल भ्रमणमा थिए। आफ्नो पाँच दिने बसाइमा ह्वाइटले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरेर पिस कोर कार्यक्रमलाई लगातार सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यसको विस्तार योजनाबारे पनि छलफल गरेका थिए। यसक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र रिपब्लिकाका सम्पादक कोषराज कोइरालाले ह्वाइटसँग गरेको वार्तालाप:

तपाईंको नेपाल भ्रमणको उद्देश्यबारे बताइदिनुहुन्छ कि?

सबैभन्दा पहिले म यहाँ आउन पाउँदा अत्यन्तै खुसी छु। भ्रमणका पाँच दिन अत्यन्त फलदायी रहे। नेपाल सुन्दर छ। यो मेरो पहिलो नेपाल भ्रमण हो।

 मैले भेटेका अधिकांश मानिस र भ्रमणका क्रममा भएका अन्य क्रियाकलाप एवम् अन्तक्रियाका आधारमा मैले नेपाली संस्कृति धेरै हिसाबले फरक, गहिरो र सर्वव्यापी पाएँ। यो मेरा लागि साच्चिकै सानदार अनुभव बनेको छ। म संयुक्त राज्य अमेरिका फर्केपछि सबैलाई नेपाल कति सुन्दर छ भनेर भन्न र मेरो नेपाल भ्रमणको अनुभव सुनाउन व्यग्र छु। मैले उनीहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नेछु।

तपाईंलाई थाहै होला, राष्ट्रपति बाइडेनले जुन २०२३ मा मलाई पिस कोरको उपनिर्देशकका रूपमा मनोनित गरेका हुन्। त्यही वर्ष डिसेम्बरमा संयुक्त राज्य अमेरिकाको सिनेटले मेरो नियुक्ति अनुमोदन गरेको हो। त्यसपछि पिस कोर निर्देशक क्यारोल स्पानसँग शपथ ग्रहण लिएर यही वर्ष जनवरीदेखि मैले यो पदभार ग्रहण गर्दै आएको हुँ। यो सस्थासँग मेरो करिब चार महिनाको मात्र आबद्धता भए पनि यस अवधिमा नेपालसहित विश्वका अन्य देशमा रहेका पिस कोर समुदायको सहयोगले म आह्लादित भएको छु। मैले पिस कोरमा काम गरेर फर्किएका स्वयंसेवकहरूसँग पनि बसेर कुराकानी गरेको छु। यो पृष्ठभूमिमा आज तपाईंसँग बसेर हाम्रा कामबारे अलिकति कुरा गर्न पाउनु मेरा लागि साँच्चिकै महत्त्वपूर्ण क्षण हो।

अमेरिका र नेपाल सरकारबीच द्विपक्षीय सम्बन्धको ७७ वर्ष लामो इतिहास छ। यो अवधिको ठुलो हिस्सा पिस कोरले नेपाली जनता र नेपाल सरकारसँग बलियो साझेदारी स्थापना गरेको छ। पिस कोर नेपाली भूमिमा विगत ६२ वर्षदेखि कार्यरत छ।

म मुख्यतया तीन कारणले यहाँ आएको हुँ। पहिलो कारण, हाम्रा स्वयंसेवकहरूसँग भेट्न र आफ्नो परियोजना क्षेत्रका स्थानीय परिवारसँग बसेर हरेक दिन उनीहरूले गरिरहेका उत्कृष्ट र परिवर्तनकारी कामसँग साक्षात्कार हुनु हो। कार्यक्रम सञ्चालनको मेरुदण्डका रूपमा रहेका नेपालमा कार्यरत हाम्रा स्थानीय कर्मचारीहरूलाई भेट्नु भ्रमणको दोस्रो उद्देश्य हो। उनीहरू नेपाली नागरिक हुन् र उनीहरूले हरेक दिन हामीलाई साथ दिँदै आएका छन्।

पिस कोर स्वयंसेवक र यी नेपाली कर्मचारी नेपाली जनताको हितमा काम गर्न जुटेका छन्। तेस्रो, नेपालमा भइरहेका कार्यसँग सम्बद्ध सरकारी प्रतिनिधिसँग भेट्नु हो। उनीहरू हाम्रा लागि ठुला साझेदार र अग्रदूत हुन्।

यसैगरी, भ्रमणका अवसरमा ढिँडोदेखि ममजस्ता नेपालका उत्कृष्ट खाना खाने अवसर मैले पाएँ। फापरको ढिँडोले नेपालको कृषिको महत्त्वलाई झल्काउँछ। भूगोल र उचाइका आधारमा हुने यो अन्नबालीको आफ्नै महत्त्व छ। यस्तो स्वादिलो खाना बनाउन सक्ने विशिष्ट कलाको पनि आफ्नै महत्त्व छ।

नेपाल र अमेरिकाले हालै आफ्नो कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सव मनाएका छन्। पिस कोरको नयाँ कार्यक्रमले नेपालसँग अमेरिकाको लामो समयदेखिको साझेदारीलाई कसरी सुदृढ पार्छ?

केही दिनअघि मात्र नेपाल आइपुगेका १० जना पिस कोर रेस्पोन्स स्वयंसेवकलाई शपथ दिलाउने अवसर मैले पाएँ। मेरा लागि यो एक महत्त्वपूर्ण अनुभव थियो।

नेपाल अमेरिका सम्बन्धलाई अगाडि बढाउन यो महत्त्वपूर्ण कदम हो। यसले हाम्रो साझेदारीलाई अर्को स्तरमा लैजानेछ। सन् १९६२ देखि दुई वर्षे स्वयंसेवा दिँदै आएका स्वयंसेवकभन्दा नयाँ कार्यक्रमअन्तर्गतका पिस कोर रेस्पोन्स स्वयंसेवकहरू अलि फरक खाले स्वयंसेवक हुन्। त्यसो त, सुरुदेखि हालसम्म नेपालमा कुल चार हजार पिस कोर स्वयंसेवकले सेवा गरेका छन्।

नयाँ स्वयंसेवकहरू अधिकांश क्याम्पसको पढाइ सकेर कैयन् वर्ष बिताएका र अलि पाको उमेरका छन्। काम सुरु गर्नुअघि उनीहरूले नेपालमा तीन महिना लामो पूर्वसेवा तालिम लिनुपर्छ। त्यसपछि मात्र उनीहरूले २४ महिना समुदायमा सेवा गर्छन्। त्यहीं भाषा सिक्छन् र आतिथ्य परिवारहरूसँग बस्छन्। त्यसपछि उनीहरूले नेपालका विकास परियोजना सफल पार्न सघाउ पुर्‍याउँछन्।

यी पिस कोर स्वयंसेवकहरूले यसअघिको महान् परम्परा र विरासतलाई कायम राख्नेछन् तर उमेरका हिसाबले उनीहरू अलि पाको उमेरका छन्। पछिल्लो पटक आएका १० पिस कोर स्वयंसेवकको औसत उमेर ५० वर्ष छ।

सबैभन्दा जेठाका तीन नातिनातिना छन्। धेरैसँग उच्चतम शैक्षिक उपाधि छ र उनीहरू आफ्नो क्षेत्रका विशेषज्ञ पनि हुन्। उनीहरूले आफ्नो उन्नत अनुभव र विशेषज्ञतालाई नेपालमा प्रयोग गर्नेछन्। यो समूहका स्वयंसेवक फरक फरक क्षेत्रमा काम गरिरहेका छन्।

स्थानीय वैज्ञानिकसँग मिलेर कृषि क्षेत्रका अनुसन्धान र कृषि अनुसन्धानमा रसायन विज्ञानको प्रयोग उनीहरूले काम गर्ने एक क्षेत्र हो भने पर्यटनको विकास र पर्यटक वृद्धि अर्काे क्षेत्र। यसैगरी उनीहरूले सूचना र सञ्चार प्रविधिको क्षेत्रमा काम गर्नेछन्। यो कार्यक्रमअन्तर्गत शिक्षक र विद्यार्थी दुवैको हितका लागि कक्षाकोठालाई डिजिटल बनाउन सहयोग गरिनेछ।

 महत्त्वपूर्ण पक्ष के हो भने यी परियोजनाले नेपाल सरकारका चाहना र आवश्यकतालाई सम्बोधन गर्नेछन्। म नेपाल आउनुअघि अमेरिकाका लागि राजदूत श्रीधर खत्रीसँग दूतावासमा वार्तालाप गरेँ र मैले उहाँलाई सोधेँ, ‘हामी तपाईंलाई पर्यटन र कृषिक्षेत्रमा केकस्तो सहयोग गर्न सक्छौं ? यी आयोजनाले नेपाली जनताको आकांक्षाको प्रतिनिधित्व गर्छन्।’

नेपालमा रहँदा स्थानीय जनतासँग पनि कुराकानी गर्नुभयो। छलफलमा उनीहरूका वास्तविक आवश्यकताहरू के थिए?

सबैभन्दा पहिले म भन्न चाहन्छु, नेपाली जनता अन्वेषक र उत्थानशील छन्। गहिरो र ऐतिहासिक सांस्कृतिक विरासत बोकेका नेपाली जनताको भविष्य उत्कृष्ट छ। काठमाडौं मात्रै नभई पोखरा र पर्वतका सर्वसाधारणसँग पनि भेट्ने अवसर पाएँ। मैले त्यहाँ आमासमूहसँग भेट गरें र उनीहरूका आवश्यकताहरू र हामीले उनीहरूलाई कसरी सहयोग गर्न सक्छौं भन्ने बारेमा केही कुरा गर्‍यौं।

त्यस क्रममा उनीहरूले दुई फरक परियोजनाबारे चासो राखेका थिए। एउटा च्याउसँग सम्बन्धित थियो। उनीहरूले ओइस्टर च्याउ खेतीबारे धेरै चासो राखेका थिए। यो खेतीमा हामी अझ बढी सहयोगी कसरी हुन सक्छौं र सही तरिकाले यो खेती गर्न एकअर्कालाई कस्तो खाले सहयोग गर्न सकिन्छ भन्नेमा हाम्रो छलफल भएको थियो।

उक्त ठाउँमा मोये नाम गरेका एक पिस कोर स्वयंसेवकले उक्त आमासमूहलाई च्याउखेतीमा गरिरहेको सहयोगबारे जानकारी लिने मौका समेत मिल्यो।

मैले आमासमूहका एक जनालाई सोधेँ, ‘अब तपाईं आफैंले यो गर्न सक्नुहुन्छ?’ उनले गजबको जवाफ दिइन्, ‘हो, मलाई थाहा भयो अब यो कसरी गर्ने भनेर।’ ज्ञानको साझेदारी गर्ने यो ठुलो अवसर हो। यसले सदाका लागि सबैलाई सहयोग पुग्छ।

दोस्रो परियोजना माहुरीपालनसँग सम्बद्ध थियो। स्थानीय स्तरमा माहुरीको घार हेर्ने मौका मलाई मिल्यो। हाम्रा तीन स्वयंसेवक तीनवटा विभिन्न समुदायसँग मिलेर माहुरीपालनका उत्कृष्ट अभ्यासहरू र सिकेका पाठहरू साझेदारी गरिरहेका छन्। सो जिल्लाका १०० भन्दा बढी माहुरीका घारमा यो सिकाइले काम गरिरहेको छ। साझा विकास प्राथमिकतामा पिस कोर स्वयंसेवकले कसरी सहयोग गर्न सक्छन् भन्ने कुरा नेपाली जनताबाट प्रत्यक्ष सुन्न पाउँदा अत्यन्त खुसी लाग्यो।

नेपालमा सरकारी अधिकारीहरूसँगको भेटमा के कुराकानी भयो?

पिस कोरले नेपाल सरकारसँग साझेदारी गरेकामा उहाँहरूले खुसी व्यक्त गर्नुभयो। पिस कोर ६२ वर्षदेखि नेपालमा क्रियाशील छ। प्रत्येक मन्त्रालयका बैठकमा मैले सम्बद्ध मन्त्रीबाट पिस कोरसँगको उहाँहरूको व्यक्तिगत अनुभवबारे सुनें।

कतिपयसँग पिस कोर स्वयंसेवकका लागि आफूहरूले आतिथ्य दिएको अनुभव थियो भने कतिपयलाई पिस कोर स्वयंसेवकले केही कुरा सिकाएका थिए। आफूले भेटेको पहिलो विदेशी नागरिक पिस कोर स्वयंसेवक रहेको अन्यको अनुभव थियो।

मलाई लाग्छ, आफ्नो सरकारले पिस कोर स्वयंसेवकको सेवाका लागि अमेरिकी सरकारसँग हातेमालो गरेकामा नेपाली जनता खुसी छन्। विकासका साझा प्राथमिकताका क्षेत्रमा यसप्रकारको सहकार्य निरन्तर जारी रहनुपर्छ भन्नेमा सबै एकमत रहेको मैले पाएको छु।

नयाँ पिस कोर रेस्पोन्स स्वयंसेवक कार्यक्रम परम्परागत पिस कोर कार्यक्रमभन्दा कसरी फरक छ?

नयाँ कार्यक्रमअन्तर्गत स्वयंसेवकले स्थानीय स्तरमा छोटो समयमा उच्चतम नतिजा दिने अवसर सिर्जना गर्न सक्छन्। यी सबै स्वयंसेवकसँग सम्बद्ध क्षेत्रको उच्च शैक्षिक उपाधि र दशकौंको अनुभव छ। कैयन् साताको प्रशिक्षण लिएर मात्र उनीहरू कार्य क्षेत्रमा जान्छन्। उनीहरूलाई सहजीकरण गर्न भाषा र सांस्कृतिक सहजकर्तासमेत हुन्छन्, जसले उनीहरूलाई आफ्नो आतिथ्य परिवारसँग मिलाउन र नेपाली संस्कृतिसँग परिचय गराउन मद्दत गर्छन्। त्यसपछि उनीहरू कार्यक्षेत्रमा खटिन्छन् र नौदेखि १२ महिनासम्म स्थानीय स्तरमा काम गर्छन्। कार्यक्रम सम्पन्न भएपछि उनीहरू अमेरिका फर्केर नेपाली संस्कृतिबारे अन्य अमेरिकीलाई जानकारी दिन्छन्।

यसअघिको परम्परागत दुई वर्षीय कार्यक्रमको तुलनामा यो केही हिसाबले फरक र केही हिसाबले मिल्दोजुल्दो कार्यक्रम हो। यसमा थोरै संख्याका स्वयंसेवकले अत्यधिक नतिजा दिन्छन्। विश्वका अन्य देशमा समेत कार्यान्वयन भइरहेको यो कार्यक्रम गर्व गर्न लायक छ। यो कार्यक्रम सन् १९९६ बाट सुरु भएको हो र यो अवधिमा यो झन् परिष्कृत बनेको छ। हाम्रा साझेदार देशमा यसको उच्च माग छ। परम्परागत पिस कोर स्वयंसेवक कार्यक्रम दुई वर्षका लागि थियो।

त्यसो त, प्राविधिक रूपमा, पिस कोर रेस्पोन्स स्वयंसेवकहरूले तीनदेखि १२ महिनासम्म कहीं पनि सेवा गर्न सक्छन्। भर्खरै आएका १० स्वयंसेवकले पनि नेपालमा नौदेखि १२ महिनासम्म काम गर्नेछन्। तर स्वयंसेवकहरूले आफ्नो बसाइ थप्नु सामान्य मानिँदैन। प्रायःजसोले आफूले गरिरहेको काम अत्यन्त महत्त्वपूर्ण रहेको र नेपाली संस्कृतिप्रति आफ्नो रुचि बढेका कारण तत्काल घर फर्कन नचाहेको बताउँछन्।

कतिपय स्वयंसेवक अमेरिका फर्केर केही समय आफ्नो परिवारलाई भेटेर पुनः नेपाल फर्कन्छन्। यो अवसरले एकातिर अमेरिकी सरकार र पिस कोरको सम्बन्ध प्रगाढ बन्ने गरेको छ भने अर्कातिर नेपाल सरकारसँगको सम्बन्धलाई सुमधुर पारेको छ।

सेवा गर्न आउने व्यक्तिहरूमा पिस कोर स्वयंसेवक कार्यक्रमको आजीवन प्रभाव कस्तो रहन्छ?

यो पोखरीमा ढुंगा खसाल्नुजस्तै हो। जब तपाईं पोखरीमा ढुंगा खसाल्नुहुन्छ, त्यो पानीको सतहमुनि डुब्छ तर यसले पोखरीमा तरंग सिर्जना गरेको तपाईं देख्नुहुन्छ। कहिलेकाहीं यी तरंगले छालसमेत सिर्जना गर्छन्।

त्यसैगरी पिस कोर स्वयंसेवक कार्यक्रमले नेपाली जनता र स्वयंसेवकको भविष्यलाई सकारात्मक प्रभाव र उज्ज्वल पार्न सहयोग गरेको छ। विगत ६२ वर्षमा नेपालमा सेवा गरेका चार हजार स्वयंसेवकले नेपाल बसाइले आफ्नो जीवनमा आधारभूत प्रभाव पारेको बताउने गरेका छन्। उनीहरूमध्ये कोही कोही विश्वविद्यालयका अध्यक्ष, कर्पोरेट सिइओ वा उच्च स्तरीय सरकारी अधिकारीहरू बनेका छन्।

म अमेरिकी सरकारमा रहेका कतिपय मानिसलाई चिन्छु, जसले पिस कोर स्वयंसेवकका रूपमा काम गरेका थिए। त्यो अनुभवले उनीहरूको जीवनलाई फरक अनुभूति र आकार दिएको छ। त्यो अनुभवले उनीहरूमा सकारात्मक परिवर्तनको लहर ल्याएको छ। यसैगरी अमेरिका र उनीहरूले सेवा गरेको देशलाई जोड्ने पुल निर्माण गरेको छ।

नेपाल बसाइमा उनीहरूले आफ्नो संस्कृति नेपाली जनतासँग बाँड्छन् भने अमेरिका फर्किएपछि नेपाली संस्कृतिलाई प्रवर्धन गर्छन्। यसरी आपसी ज्ञान र वृद्धिको वृत्त (सर्कल) सिर्जना हुन जान्छ। पिस कोर कार्यक्रम हाम्रा दुवै देशका जनताका लागि सकारात्मक परिवर्तनको लहर सिर्जना गर्ने ठुलो अवसर हो।

नेपालसँग रहेको पिस कोर सम्बन्धलाई आगामी दिनमा कसरी अगाडि बढाउने योजना छ?

यो धेरै लामो साझेदारी हो। नेपालीसँग छलफल गरेर यो सम्बन्धलाई अर्को तहमा कसरी लैजान सकिन्छ भनेर निक्र्योल गर्ने हो। सम्बन्धको यो कोसेढुंगालाई आधार मान्दै दुई देशबिच शान्ति र भाइचारको प्रवर्धन गर्ने दिशामा यो कार्यक्रमलाई अझ बढी परिष्कृत पार्न म उत्साहित छु।

संयुक्त राज्य अमेरिकामा पिस कोर परिवारभन्दा समग्र पिस कोर समुदाय भनेर बुझिन्छ। यस सन्दर्भमा मलाई पुरानो संस्कृत भनाइको पनि सम्झना हुन्छ, ‘सारा संसार एउटै परिवार हो।’ यो विचार मसँग प्रतिध्वनित हुन्छ र हाम्रा स्वयंसेवकहरूमार्फत नेपाली जनता र अमेरिकी जनताबीच सम्बन्ध एकै परिवारका जस्तो बन्न जान्छ।

पिस कोरले आफ्नो कार्यक्रमको प्रभावकारिता र प्रभावलाई कसरी मापन गर्छ? यसका लागि कुनै प्रकारको प्रणाली छ?

कार्यक्रमको प्रभाव संख्यामा गणना गर्ने विषय होइन। यो कार्यक्रमले कति सर्वसाधारणलाई छुन सकेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। पिस कोर कार्यक्रमबाट फरक हिसाबले प्रभावित भएका केही नेपालीहरूसँग मैले रात्रिभोज गर्ने मौका पाएँ। पिस कोर स्वयंसेवकको प्रोत्साहन र पढाइका कारण एकजनाले आफू मेडिकल स्कुल जान प्रेरित भएको बताए।

यस्ता खाले आपसी सम्बन्धका कारण विश्व शान्ति र मित्रतामा भएको प्रवर्धनलाई हामीले मापन गर्नुपर्छ। परिमाणात्मक रूपमा हामीले कति विद्यार्थीलाई सिकायौं, कति शिक्षकसँग साझेदारी गर्‍यौं र कतिवटा कृषि परियोजनामा मिलेर काम गर्‍यौं भनेर रेखांकन गर्न हामीसँग बलियो प्रणाली छ। यो तथ्यांक र जानकारीले हामीलाई अमेरिकी कांग्रेसमा रिपोर्ट गर्न र कसरी पिस कोर कार्यक्रम कम लागतमा उच्च प्रतिफल दिने लगानी हो भनेर प्रमाणित गर्न सहयोग पुग्छ।

यसैगरी हामी यी प्रमाणहरूलाई अमेरिकी जनतासँग साझेदारी गर्छौं भने उनीहरूलाई वर्तमान विश्वमा पिस कोर कार्यक्रम किन महत्त्वपूर्ण र सान्दर्भिक छ भनेर भन्छौं।

अमेरिकी समाजका विभिन्न तहलाई भेट्दा हरेक अवसरमा मैले पिस कोर कार्यक्रमबारे बताउँछु। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति, सेक्रेटरी अफ स्टेट, पिस कोरका निर्देशक सबैलाई नेपाल कसरी भिन्न छ र किन नेपाल भ्रमण गर्न आवश्यक छ भनेर म बताउन चाहन्छु। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सुमधुर सम्बन्ध छ र यो जनस्तरमा पनि उत्तिकै प्रगाढ छ।

के तपाईं पिस कोर रेस्पोन्स स्वयंसेवक कार्यक्रमभित्र नयाँ कार्यक्रमहरू प्रस्तुत गर्ने सोच्दै हुनुहुन्छ?

हामी नेपाली जनताका लागि के कुरा महत्त्वपूर्ण छ भन्ने कुरा जान्न र सुन्न सधैं उत्साहित र लालायित छौं। म पिस कोर कार्यक्रम लागु भएका देशहरूमा जाँदा सधैं सोध्छु, ‘तपाईंका लागि के महत्त्वपूर्ण छ? कसरी यो कार्यक्रमले स्थायी र सकारात्मक परिवर्तन गर्न सक्छ? कसरी हामी मिलेर काम गर्न सक्छौं?

नेपालमा भएका हरेक अन्तक्र्रियामा पनि मैले त्यही प्रश्न राखेको थिएँ। हो, आपसी सम्बन्ध एकतर्फी हुँदैन। यो दुवै तर्फबाट हुनुपर्छ। यो कार्यक्रमबाट जति नेपाली जनतालाई फाइदा हुन्छ, अमेरिकी नागरिकलाई पनि उत्तिकै फाइदा छ। उनीहरूले नेपाली संस्कृतिलाई जान्ने मौका पाउँछन्।

अर्कोतर्फ संयुक्त राज्य अमेरिकाको डालासदेखि बोस्टन र न्युयोर्क सहरसम्म ठुलो संख्यामा नेपालीहरू छन्। उनीहरूले नेपाली संस्कृतिलाई जीवन्त राखेका छन्। अमेरिकाको शक्ति भनेको यही विविधता हो। अमेरिकामा बलियो, जीवन्त नेपाली समुदाय रहेकोमा हामीलाई गर्व छ।

हाम्रा नेता, नीतिनिर्माता र नेपाली जनताका लागि केही सन्देश छ?

पिस कोरको प्रभावकारिता, विरासत र उज्ज्वल भविष्य भनेको यो कार्यक्रममार्फत विश्वभर स्वयंसेवकले गरेको योगदान हो। विश्वका १४४ देशमा दुई लाख ४४ हजार अमेरिकीले सेवा गरेका छन्। विश्वका हरेक स्थानमा जाँदा यो कार्यक्रमसँग जोडिएका व्यक्तिसँग सडक, औपचारिक बैठकमा हाम्रो जम्काभेट हुन्छ।

हालै युनिभर्सिटी अफ मिचिगनमा मैले १९८० को दशकमा सेवा गर्ने एक पूर्वस्वयंसेवकलाई भेटें। यहींबाट तत्कालीन सिनेटर जोन एफ केनेडीले अक्टोबर, १९६० मा पिस कोर कार्यक्रमको सुरुवात गरेका थिए। उनले मलाई आफ्नी नेपाली पत्नीसँग परिचय गराए। उनले आफूलाई नेपालको संस्कृति र इतिहास अत्यन्त मन परेको र कसरी दुईजनाबीच प्रेम बसेको थियो भन्ने कुरा समेत बताए। यो एउटा उदाहरण मात्र हो।

पिस कोरको तेस्रो लक्ष्य भनेको अन्य संस्कृतिहरूलाई अमेरिकामा प्रवेश गराउनु र यसलाई थप समझदार, समृद्ध र जीवन्त बनाउनु हो। यो सन्दर्भमा पनि नेपालमा आउन पाउँदा म एकदमै खुसी छु।

म काठमाडौंमा बौद्ध स्तुप पुग्न पाएकोमा खुसी भएँ। पोखरा विमानस्थलमा जाँदै गर्दा एक पल हामीले माछापुच्छ्रे हिमाल देख्न पायौं। हाम्रा लागि बादल केही क्षण फाटेको थियो।

हामीले सो शिखर देख्न सक्यौं। यो कौतुकमय थियो। त्यही क्षण मैले अर्काे भ्रमणमा मेरी पत्नीलाई पनि पोखरा घुमाउन ल्याउने प्रण गरेँ। उनले प्रत्यक्ष रूपमा यो सुन्दरतालाई देख्न सकून् र हामीले मिलेर त्यो क्षणको आनन्द लिन सकौं। म चाँडै फर्कन आतुर छु। नेपालका हुने धेरै यात्रामध्ये यो पहिलो हुनेमा म विश्वस्त छु।  

प्रकाशित: १५ जेष्ठ २०८१ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App