२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

प्लाष्टिक, पर्यावरण र मानव स्वास्थ्य

प्लाष्टिकको आविष्कार १८ औँं शताब्दीको उत्तराद्र्धमा बेलायती वैज्ञानिक अलेक्जेण्डर पार्केसले गरेका हुन्। उनको नाममा त्यस बेला प्लाष्टिकलाई पार्केजाइन भनिन्थ्यो। पार्केसले यसको आविष्कार नाइट्रोसेलुलोजद्वारा गरेका थिए। प्रारम्भिक प्लाष्टिक अत्यधिक कठोर थियो। यसलाई तेल र कपुर मिलाएर मुलायम बनाइयो।

प्लाष्टिक शब्दको उत्पति ग्रीक भाषाको प्लाष्टिककोज शब्दद्वारा भएको हो। जसको अर्थ बनाउन या तयार गर्न भन्ने हुन्छ। प्लाष्टिक बनाउने व्यापारिक विधिका जन्मदाता भने लियो ह्यान्ड्रिकस आर्थर बेकलैण्ड हुन्। उनले प्लाष्टिकको निर्माण सन् १९१० मा फिनोल र फर्मल्डी हाइडको रासायनिक क्रिया गराएर बनाएका थिए। यसपछि प्लाष्टिक निर्माणका नयाँ नयाँ तरिकाहरू आउन थाले।

इथाइलिनको बहुलिकरण गरेर पोलीइथाइलिनको निर्माण पनि हुन थाल्यो। आज यस्ता पदार्थहरूबाट प्लाष्टिक तयार गरिन्छ, जसको गुणवत्ता र उपयोग बहुमुखी छ। प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ। यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ।

पोलेथिन व्यागदेखि लिएर खेलौना, भाँडाकुडा, पाइप, फर्निचर, बट्टा आदि अनेक उपयोगी वस्तुहरुको निर्माण प्लाष्टिकद्वारा हुने गर्छ। यसैले त प्लाष्टिक र शिशालाई आधुनिक रसायनको महत्वपूर्ण खोजको उपनाम दिइएको हो। यी दुई तत्वहरुलाई मात्र हाम्रो जीवनबाट हटाइदिने हो भने जीवन साँघुरो हुन जानेछ।

यसरी एकातिर प्लाष्टिक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ, भने अर्कोतिर चाडो नगल्ने, नसड््ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा सावित हुँदै गइरहेको छ।

मौसम, पानी, किराफट्याङ्ग्रालगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसी पनि यसलाई गलाउन असक्षम सावित भइसकेका छन्। अम्ल, क्षार, लवणलगायत अन्य रसायनहरूसँग क्रिया गराउँदा पनि प्लाष्टिकलाई गलाउन नसकिने हुँदा प्लाष्टिकको फोहोर हाम्रो वातावरणमा दिनप्रतिदिन बढिरहेको छ।

समुन्द्रको तट होस् या हिमाल, मरुभूमि होस या घना जङ्गल, तालतलैया होस् या नदी–नाला लापरबाहिकपूर्वक फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य भएका यी प्राकृतिक संरचनालाई दिनप्रतिदिन कुरुप बनाउँदै गइरहेको छ।

हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुको उत्पादनमा ईष्टर–थ्यालेट भन्ने तत्व हुन्छ। यो तत्व प्लाष्टिकजन्य वस्तुहरुलाई मुलायम, टिकाउ, दरिलो र वहुउपयोगि बनाउन प्रयोग गरिन्छ। तर प्लाष्टिक र ईष्टर–थ्यालेटको बीच कुनै पनि रासायनिक बन्धन नहुने हुँदा प्लाष्टिक पुरानो हुँदै गएपछि ईष्टर–थ्यालेटका धुलोहरू वातावरणमा फैलिने र श्वासनली, मुख, छाला आदि हुँदै शरीरभित्र प्रवेश गरी मिथोक्सि–एसीडिक–एसीड भन्ने अत्यन्त हानिकारक विष बनाउँछ। यो विषको अत्यन्त सूक्ष्म मात्रा पनि शरीरका विभिन्न अंगहरुका क्रियाशिल कोषहरुलाई मार्न सक्षम छन्।

विशेषगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसित हुने कोषहरूलाई मिथोक्सि–एसीडिक–एसीडले चाडै मार्छ। यी कोषहरुको मृत्यु पश्चातव्यक्तिमा नपुंषकता, बाँझोपन, हर्माेनहरूको गडबडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरु जन्मने समस्याहरू आउँछन्।

ईष्टर–थ्यालेट र यसका स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरुमा हजारौँ अनुसन्धान भइरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै गईएको छ। आज फेरि उही प्रश्न उठ्दछ की, यो समस्याबाट मुक्ति कसरी पाउने ? अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसंर्जनले पर्यावरण प्रदूषित गर्नका साथै जनस्वस्थ्यमा ठूलो क्षति पुर्‍याईरहेको छ।

प्रायःजसो हामी नगल्ने प्लाष्टिकबाट बच्नका लागि यसलाई जलाइदिन्छौ। तर, यसको जलनबाट वातावरणमा कार्बनडाइअक्साइड, कार्बनमनोअक्साइड र अन्य विषालु ग्यासको मात्रा बढ्न जाने हुँदा जनस्वस्थ्यका लागि झन् ठूलो समस्या श्रृजना गर्छ।

अर्कोतर्फ यसको जलनाट उत्पन्न विशिष्ट उष्माधारीतावाला ग्यासको उत्पादनले पर्यावरण तातिदै जाने र ग्लोबल वार्मिन जस्तो भयावह समस्या उत्पन्न हुन गई जनस्वास्थ्य अझ विकाराल बन्न पुगेको छ। प्लास्टिक बिसर्जनको अर्को तरिका स्वरुप यसलाई हामी खाल्डो खनेर गाडिदिने गर्दछौँ।

तर, यसो गर्दा प्लाष्टिक हाम्रो आँखाको सामुन्नेबाट केहि छिनको लागी त हट्छ तर सही स्थान र सहि तरिकाले नगाडेमा यसले ल्याउने जैव उत्पादकत्वसम्बन्धी समस्या झन विकाराल छन्। माटोको पत्र भन्दा मुनि प्लास्टिकले आफ्नै पत्र बनाउदा यसलाई छेडेर पानीको आदानप्रदान हुन सक्दैन फल स्वरुप त्यो ठाउँमा बिज अंकुरण हुननसकि जैब उत्पादकत्व घट्छ।

अङ्कुरण भईहाले पनि जमीनमुनिको प्लास्टिक पत्रलाई छेडेर बिरुवाका जरा गहिराई सम्मपुग्न सक्दैनन्। प्लाष्टिकका गुण भन्दा अवगुण धेरै विभिन्न गुण प्लाष्टिकमा भए पनि नराम्रा पक्षहरू ज्यादा छन्।

विशेषतः पर्यावरणीय समस्याका साथसाथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखा परिरहेका भयावह रोगहरुका कारण पनि प्लाष्टिकलाई नै मान्न थालिएको छ। यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरुले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाइका साथ प्रतिबन्ध लगाउदै गएका छन्।

हाम्रो देशमा पनि पोलिथिनको उपयोग र बिक्री वितरणलाई निरुत्साही गर्न विभिन्न कानुनको व्यवस्था छ। फोहरमैला व्यवस्थापन ऐन ०६८ अुनसार पोलिथनजन्य वस्तुहरूको उपयोग तथा बिक्री वितरण गर्नेलाई १५ हजार देखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर हालसम्म कसैमाथि पनि कारवाही हुन सकेको छैन।

नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र निरुत्साही गर्ने खालको कानुन छ। तर प्लाष्टिक भनेको पोलोथिन मात्र हैन, पोलोथिनलाई मात्र निरुत्साही गरेर यस समस्याको समाधान हुँदैन।

ढिलै भए पनि प्लाष्टिकजन्य पदार्थ र पोलिथिनको अव्यवस्थित बिसर्जनले ढल–निकासमा हुने जामको मर्मत गर्दागर्दा वाक्क भएको काठमाडौं महानगरपालिकाले यो समस्याबाट मुक्ति पाउन पोलिथिन ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यले जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै जाने निर्णय गरेको छ। तर, यसको कार्यान्वयन पक्ष कतिसम्म सफलिभुत हुन सक्छ त्यो त भविष्यले नै देखाउला।

तथापि यसको प्रयोग गर्ने उपभोक्तालाई पाँच सय र बिक्रीकर्तालाई एक हजारसम्म जरिवाना गर्ने काठमाडौ महानगरपालिकाको नीति मात्र कार्यान्वयन भई दियो भने प्लाष्टिकको प्रयोग निकै हदसम्म नियन्त्रण हुनेछ। वास्तवमा प्लाष्टिक तथा प्लाष्टिकयुक्त वस्तुहरु वातावरण र जनस्वास्थ्यकालागि अत्यन्त हानिकारक तत्व भए पनि यसको उपयोग र बिक्री वितरण यथावत नै चलिरहेको छ।

प्लाष्टिकबाट बनेका वस्तुका तात्कालिन फाइदा देखेर यसका जनस्वास्थ्यमा र वातावरणमा पर्ने दीर्घकालिन असरलाई आँखा चिम्लिदिने हो भने एक दिन जीव, जीवन र जगतले अपुरणीय क्षतिव्यहोर्नु पर्नेछ। यो दुर्घटनाबाट बच्ने एउटै उपाय भनेको यसको उत्पादनमा नै प्रतिबन्ध लगाउनु हो।

 

(डा. हेमराज कोइरासँगको कुराकानीमा आधारित)

प्रकाशित: १८ जेष्ठ २०८१ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App