२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

महिनावारीमा सफाइ नपुगे यौन रोग

अहिले पनि कतिपय समाजमा महिलामा हुने महिनावारी (रजस्वला) लाई अपवित्र अवस्थाको रूपमा लिइन्छ र सोहीअनुसार व्यवहार गरिन्छ। महिनावारी नियमित र यस्तो बेला योनीको सफाइ नभएमा विभिन्न रोग लाग्छ। महिनावारीका बेला गरिने विभेद र अपमानले कतिपय महिला मृत्युको मुखमा समेत पुग्नुुपरेको महिनावारी स्वच्छता अभियन्ताले औंल्याएका छन्।

विभिन्न सचेतनामूलक कार्यक्रमसहित बुधबार ‘विश्व महिनावारी सफाइ दिवस’ मनाइएको छ। यस दिवसका अवसरमा आयोजित कार्यक्रममा महिनावारी स्वच्छता अभियन्ताहरूले महिनावारीका बेला सफाइ र सम्मानपूर्ण व्यवहार भए मात्र स्वस्थ महिलाको परिकल्पना गर्न सकिने बताएका छन्।

महिनावारी प्राकृतिक तर मर्यादित स्थिति रहेकाले योसँग जोडिएर आएका विभेद र यसको व्यवस्थापनमा सबैको ध्यान पुग्नुपर्ने अभियन्ताहरू बताउँछन्। अहिले पनि महिनावारीका बेला नेपालमा सहर र गाउँ दुवै ठाउँमा महिलाप्रति अपमानजन व्यवहार विभेद हुने गरेको महिनावारी स्वच्छतासम्बन्धी काम गर्दै आएको संस्था ग्रिन तारा नेपालकी वरिष्ठ कार्यक्रम व्यवस्थापक सलिता गुरुङले बताइन्।

‘विकट गाउँमा अहिले पनि छाउपडी प्रथाको अभ्यास कायमै छ, सहरमा पनि महिनावारी भएका महिलालाई पूजापाठ, भान्सामा प्रवेश र चाडपर्व मनाउनबाट वञ्चित गरिन्छ,’ उनले भनिन्।

महिनावारी प्राकृतिक अवस्था भएकाले विभेदका आँखाले हेर्नु आवश्यक नभएको उनले बताइन्। महिनावारीका बेला गरिने विभेदका कारण विगत तीन वर्षमा चारजनाको छाउगोठमा ज्यान गएको जानकारी उनले दिइन्। ‘महिनावारीका बेला हुने विभेदमा केही सुधार आए पनि पूरै हट्न नसकेको गुरुङ बताउँछिन्।

‘हाम्रो अभियानको लक्ष्य नयाँ पुस्ता मात्र हैन, पुरानो पुस्तालाई पनि महिनावारी पाप होइन, नियमित प्राकृतिक प्रक्रिया भएको विषयमा शिक्षा दिनु हो,’ उनले भनिन्।

महिनावारीमा हुने विभेद अन्त्यका लागि यो विषयमा हरेक व्यक्ति खुलेर बोल्नसक्ने वातावरण निर्माण गर्नुपर्ने बियोन्ड बेइजिङ कमिटीकी कार्यकारी निर्देशक डा. शर्मिला श्रेष्ठ बताउँछिन्। ‘समाजलाई महिनावारी प्राकृतिक प्रक्रिया हो भनेर स्वीकार गर्न सक्ने बनाउन खोजिरहेका छौं,’ उनले भनिन्।

कतिपय महिलाले लाजका कारण महिनवारीका बेला कष्ट झेलिरहेको समेत उनले बताइन्। ‘कतिलाई जटिल काममा लगाइन्छ, कतिलाई सरसफाइ पुगेको हुँदैन,’ उनले भनिन्।

महिनावारीको बखत सफाइ नपुग्दा यौनरोग, पाठेघरको रोग लाग्ने र बाँझोपनसमेत हुने जोखिम रहेको बियोन्ड बेइजिङ कमिटीकी उपाध्यक्ष डा. लक्ष्मी तामाङले बताइन्। तामाङका अनुसार महिनावारीका बेला सफाइ नपुग्दा महिलामा ‘लिकोरिया’ नामक रोग लाग्छ। यो रोग लागेमा योनी चिलाउने, योनीबाट सेतो पानी बग्नेजस्ता समस्या निम्तिन्छन्। त्यसपछि विभिन्न खालको यौनरोग लाग्छ। महिनावारीका समयमा सफाइ नपुगेमा कलाइमेडिया भन्ने संक्रमण हुन्छ। यसले पाठेघरको डिम्बवाहिनी नलीमा क्षति पुर्‍याउँछ।

महिनावारीका बेला सफाइ नपुगेमा गोनोरिया, धातुरोगलगायत जटिल यौन रोेग पनि लाग्छन्। यी रोग लागेका बेला यौन सम्पर्क भएमा अरूलाई पनि सर्छ। संक्रमितले लगाएका भित्री कपडा अरूले लगाएमा पनि यौन रोग सर्छ। गोनोरियाको समस्या छ भने गर्भको बच्चा महिना नपुगी जन्मिने, जन्मेको बच्चामा दृष्टि समस्या हुने जस्ता जटिलता देखापर्ने तामाङले बताइन्।

महिनावारीमा बेला विभिन्न संक्रमणबाट जोगिन सफा प्याड प्रयोग गर्ने, त्यसलाई तीन/चार घण्टाको अन्तरमा बदल्ने, भित्री लुगा राम्रोसँग घाममा सुकाएर प्रयोग गर्ने जस्ता सावधानी अपनाउन सकिने तामाङ बताउँछिन्।

कार्यक्रममा महिनावारी सचेतना बढाउन देशभरिबाट विभिन्न निकायका प्रतिनिधि, किशोरी, अभिभावक, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक सहभागी थिए। उनीहरूले महिनावारीका बेला झेल्नुपरेको विभेद र अप्ठेरो पनि साटासाट गरे।

नेपाल तथा विश्वभरि कायम महिनावारीसँग सम्बन्धित सबै प्रकारका विभेद र लाञ्छना अन्त्य गर्ने उद्देश्य यो दिवसको रहेको ‘राइट हेयर, राइट नाउ’का राष्ट्रिय संयोजक राजेन्द्र महर्जनले बताए।

प्रकाशित: १८ जेष्ठ २०८१ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App