२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सूर्योदयमा पढाइबाहेक ‘१२ महिना–१२ कार्यक्रम’

इलामको सूर्योदय नगरपालिकाका विद्यालय पुगेर अनुगमन गर्दै मेयर रणबहादुर राई। तस्बिर: नागरिक

सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा आन्तरिक राजस्वको ३० प्रतिशतभन्दा बढी रकम खर्च गरिरहेको छ। नगरले सामुदायिक विद्यालयका लागि आवधिक योजना निर्माण गरेको छ। पढाइबाहेक अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न नगरले ‘१२ महिना–१२ कार्यक्रम’ सञ्चालन गरिरहेको छ। यो कार्यक्रममा शिक्षकलाई क्रियाशील, आपसमा प्रतिस्पर्धी, सृजनशील र उनीहरूबाट दक्ष जनशक्ति उत्पादन गर्ने परिकल्पना गरिएको नगरपालिकाका मेयर रणबहादुर राई बताउँछन्।

नगरले ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ अभियान सञ्चालन गरेको छ। ‘पहिला गणित विषय निकै अप्ठ्यारो मान्ने विद्यार्थी अहिले गणित अप्ठ्यारो छैन भन्न थालेका छन्,’ मेयर राईले भने, ‘विषयगत शिक्षक अपुग भएका ठाउँमा ल्याब र अनलाइन कक्षासमेत सञ्चालन गरिरहेका छौँ।’ नगरले विशेष गरी अंग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थीलाई सैद्धान्तिक र प्रयोगात्मक शिक्षामा जोड दिएपछि केही वर्षयताको नतिजासमेत सुध्रिएको उनी बताउँछन्। केही वर्षअघिको कोभिड–१९ ले बालबालिकाको पढाइमा ठूलो क्षति गरेकाले त्यसबाट उकास्न चाहिँ समय खर्च भएको उनको भनाइ छ।

नगरका सबै विद्यालयमा इन्टरनेट सेवा पुगेको छ। सबै विद्यालयमा कम्प्युटर र प्रयोगशाला छ। सबै विद्यालयका विद्यार्थीको बाल बचत खाता खोलिएको छ। ‘यो दीर्घकालीन योजनामा नगरपालिका, बैंक र सम्बन्धित विद्यार्थीको साझेदारी छ,’ उनले भने, ‘यो कार्यक्रमले विद्यार्थीमा बचत गर्ने बानीको विकास गरेको छ, जङ फुड प्रयोग घटाएको छ। र, अहिले बचत भएको रकमले भविष्यमा उच्च शिक्षाको पढाइ पनि आर्थिक हिसाबले सुनिश्चित गरेको छ।’

नगरको ऐतिहासिक करफोक माध्यमिक विद्यालय प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले दक्ष जनशक्ति उत्पादनको केन्द्रका रूपमा विकास गरिँदैछ। एउटै विद्यालयमा आठ करोड रुपैयाँ लगानी गरी विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाइँदै छ। अर्को विद्यालयमा पाँच करोड रुपैयाँ लगानी गरी विज्ञान र गणितको ‘इनोभेसन सेन्टर’ बनाइँदै छ।

उनका अनुसार विद्यार्थीलाई पशुमा कस्ता रोग लाग्छन्, कुन रोगको लक्षण के हो, कुन रोग लाग्दा कस्तो उपचार गर्ने, गाईको गोठको मल व्यवस्थापन कसरी गर्ने, गड्यौले मल व्यवस्थापन, बालीनाली खेती, गोडमेल, बालीनालीमा गहुँतको प्रयोग, ठूला फार्म सञ्चालन, कृषिमा यान्त्रीकरण, असल किसान बन्ने तरिकालगायत विषयबारे प्राविधिक शिक्षासमेत दिइँदै छ। ‘बालीनाली उत्पादन, संरक्षण, भण्डारणलगायत सबै विषयमा हामी विद्यार्थीलाई सिकाउँदैछौं,’ उनले भने, ‘नगरको स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन भएको छ। यसबाट विद्यार्थीले सानै उमेरमा आफ्नो पालिकाको भूगोल, संस्कृति, सम्पदा लगायतबारे थाहा पाउँछन्।’

विभिन्न समयमा नगरभित्र विज्ञान, गणित प्रदर्शनी हुने गरेको छ। गणितका लागि विद्यार्थीलाई बेग्लै कापी वितरण गरिएको छ। सूर्योदयका छोरी र बुहारीलाई करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क गरिएको छ। यहाँबाट उत्पादन भएको जनशक्तिलाई नगरले कम्तीमा सय दिन रोजगारीसमेत दिइरहेको छ।

कोभिडको समयमा भएको पढाइको क्षति न्यूनीकरण गर्न नगरले सय दिन स्वयंसेवक शिक्षकको व्यवस्थासमेत गरेको छ। अहिले नगरका संस्थागत र सामुदायिक विद्यालयलाई शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्ने वातावरण बनाइँदै छ। ‘केही वर्ष अघिसम्म ६० प्रतिशत विद्यार्थी सामुदायिक र ४० प्रतिशत संस्थागत विद्यालयमा रहेकामा अहिले यो तथ्याङ्क ठिक उल्टो हुनु पनि हाम्रो कार्यक्रमको उपलब्धि हो,’ मेयर राई भन्छन्, ‘तर, यो नगरपालिका बालमैत्री नगर पनि भएकाले बालबालिकाबिच चाहिँ विभेद गरिएको छैन, नगरले सामुदायिक विद्यालयका बालबालिकालाई दिने सुविधा संस्थागत विद्यालयका बालबालिकालाई पनि दिएको छ।’

नगरले दुवै खाले विद्यालयका बालबालिकालाई स्थानीय पाठ्यपुस्तक र छात्रालाई सेनिटरी प्याड पनि निःशुल्क दिएको छ। सूर्योदय विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको उनी बताउँछन्। भर्खरै सम्पन्न जिल्ला स्तरीय चेस प्रतियोगितामा सूर्योदयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएका छन्। ‘यो अहिले तत्कालैको लगानीको प्रतिफल होइन, लामो समयदेखि गरिरहेका कामको उपलब्धि पनि हो,’ मेयर राईले भने, ‘पढाई मात्र होइन, विद्यार्थीको चाहनाअनुसार अतिरिक्त क्रियाकलापमा पनि बढी ध्यान दिइएको छ।’

नगरले महिला शिक्षक सुत्केरी भएर लामो बिदामा बस्दासमेत विद्यार्थीको पढाइमा असर नहुने गरी शिक्षणको व्यवस्था मिलाएको उनले जनाए। सूर्योदय नगरपालिका देशभरका सात सय ५३ पालिकामध्ये दिगो विकास लक्ष्य (भिएलआर)मा पनि १४ नगरपालिकामध्ये पर्छ र १४ मध्ये पनि सूर्योदय उत्कृष्टमै रहेको मेयर राई बताउँछन्। ‘दिगो विकास लक्ष्यका कार्यक्रम राम्ररी कार्यान्वयन गरियो भने मात्र सफल बन्न सकिन्छ भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने, ‘यसैले पनि नगरका सबै जनप्रतिनिधि शिक्षा क्षेत्रमा ठूलो लगानी गर्नेमा सहमत हुनुहुन्छ, उहाँहरू सबैले सहयोग गर्नुभएको छ।’

विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि नगरले विभिन्न कार्यक्रम ल्याएको छ। प्रत्येक विद्यालयको भौतिक अवस्था अध्ययनका लागि नगरले आरबिएस (¥यापिड भर्चियल स्क्रिनिङ) गरेको छ। यसबाट कुन विद्यालयको भौतिक अवस्था कस्तो छ, सुधार गर्न कस्तो कार्यक्रम ल्याउनुपर्छ र कति रकम खर्च हुन्छ भन्नेबारे पनि अध्ययन भएको छ। त्यसैअनुसार विद्यालयको भौतिक विकासमा अघि बढेको मेयर राईले बताए। ‘कुन विद्यालयको भौतिक सुधार सबैभन्दा पहिला आवश्यक छ, भौतिक पूर्वाधार विकासमा हुने खर्च कुन स्रोतबाट प्राप्त हुन्छ भन्नेजस्ता विषयमा योजना बनाइसकेका छौँ,’ मेयर राईले भने, ‘धुलोरहित कक्षाकोठा, पानी चुहिने छानो, भत्किने पर्खालजस्ता समस्या समाधान भइसकेका छन्।’

नगरमा शिक्षकको मनोबल र शिक्षण क्षमता बढाउने कार्यक्रम पनि छन्। नगरले सीमावर्ती क्षेत्रबाट भारतको दार्जिलिङतिरका स्कुलमा पढ्न जाने विद्यार्थीलाई समेत यतै आकर्षित गरिरहेको जनाएको छ। अहिले यसरी पढ्नकै लागि दार्जिलिङ जाने विद्यार्थी पनि यतैका विद्यालयमा भर्ना हुन थालेको उनले बताए। ‘गणित र विज्ञानको पढाइको स्तर हाम्रोतिर नै राम्रो भएकाले विद्यार्थी नगरकै विद्यालयमा आकर्षित भएका छन्,’ उनले भने, ‘विद्यार्थीलाई उच्च शिक्षा पनि नगर र देशभित्रैका क्याम्पसमा पढ्ने वातावरण बनाउन प्रयास गरिरहेका छौँ।’

सूर्योदय नगरमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय छन्। यहाँ ११ हजार छ सय १२ विद्यार्थी रहेकामा सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी रहेको नगरको शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए। 

नगरमा तीन सय ९८ शिक्षक दरबन्दी छन् भने बाल शिक्षक ६२, स्वयंसेवक शिक्षक २३ र विद्यालय कर्मचारी ७८ जना छन्। यीबाहेक विद्यालयहरूले निजी स्रोतबाट समेत शिक्षक राखेका छन्। 

प्रकाशित: २३ जेष्ठ २०८१ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App