२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

विषाक्त वायु छोटिंदो आयु

जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वायु प्रदूषणलाई वर्तमान विश्वका तीन प्रमुख चुनौती मानिन्छ। यी समस्याले मानव अस्तित्वलाई मात्र होइन, समग्र पृथ्वीको पारिस्थितिकीय प्रणाली र प्राकृतिक सन्तुलनलाई समेत नराम्री बिथोलेका छन्। यो क्रम बढ्दो छ। यही शृंखलामा गत साता सार्वजनिक स्टेट अफ ग्लोबल एयर–२०२४ अन्तर्राष्ट्रिय प्रतिवेदनले डरलाग्दो तथ्यांक र प्रवृत्ति देखाएको छ। प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वमा २०२१ मा ८१ लाख मानिसको मृत्यु भएको छ। सन् २०१९ मा यो संख्या ७२ लाख रहेको थियो। यी मृृत्युबाहेक वायु प्रदूषणका कारण करोडौँ मानिसले अनेकौँ दीर्घ रोगसँग जुध्नुपर्दा स्वास्थ्य प्रणाली, अर्थतन्त्र र समाजका लागि वायु प्रदूषण निकै ठूलो भार बनेको प्रतिवेदनमा उल्लेख छ। विश्वभर मानिसलाई मृत्युको मुखमा धकेल्ने प्रमुख कारणमध्ये वायु प्रदूषण उच्च रक्तचापपछि दोस्रो कारक बनेको छ। विश्वभर पाँच वर्षमुनिका बच्चाको मृत्युका लागि कुपोषणपछि वायु प्रदूषण दोस्रो ठूलो कारक बनेको छ।

विश्वका २०० राष्ट्रको वायु प्रदूषण समीक्षा गरिएको सो प्रतिवेदनमा नेपालको पनि वायु प्रदूषणको अवस्था र यसले जनस्वास्थ्यमा पारिरहेको प्रभाव समेटिएको छ। नेपालमा वायु प्रदूषणका कारण सन् २०२१ मा ४८ हजार पाँच सयको मृत्यु भएको देखाएको छ। यसअघि सोही संस्थाले सन् २०२१ मा प्रकाशित गरेको समान प्रकृतिको प्रतिवेदनमा सन् २०१९ मा नेपालमा वायु प्रदूषणका कारण ४२ हजार एक सयको मृत्यु भएको उल्लेख थियो।

यसरी सन् २०१९ को तुलनामा सन् २०२१ मा अर्थात् दुई वर्षको अवधिमै वायु प्रदूषणका कारण थप ६ हजार चार जनाको मृत्यु भएको देखिएको छ। विषाक्त वायुका कारण नेपालमा भएको कुल मृत्युमध्ये घरभित्र हुने प्रदूषणका कारण ३३ हजार नौ सय तथा घरबाहिरको प्रदूषणका कारण अन्य १४ हजार ६ सयको मृत्यु भएको देखिएको छ। प्रतिवेदनका अनुसार धुवाँ र धुलो मिसिएका अत्यन्त साना विषाक्त कण अर्थात् पिएम २.५ का कारण सन् २०२१ मा नेपालमा १२ हजार ७०० को मृत्यु भएको देखिएको छ। पिएम २.५ को जोखिमका हिसाबले नेपाल विश्वको १० राष्ट्रको सूचीमा छ। बालबालिका, वृद्ध, महिला तथा जोखिममा रहेका अन्य समुदायमा वायु प्रदूषणको प्रभाव झन उच्च छ। नेपालमा घरभित्र र घरबाहिर हुने वायु प्रदूषणका कारण श्वास/प्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात, फोक्सोको क्यान्सर, मुटु रोगको प्रकोप, बाल मृत्यु तथा मधुमेहको प्रकोप बढ्दो क्रममा देखिएको छ ।

स्मरणीय छ, नेपालको सांविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हक व्यवस्था छ । चालु आर्थिक वर्षमा सम्पन्न हुने पन्ध्रौँ पञ्चवर्षीय योजनाले पनि प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन र हरियाली प्रवर्धनको लक्ष्य लिएको थियो। यसैगरी राष्ट्रिय वातावरण नीति २०७६, वातावरण संरक्षण ऐन २०७६ लगायत राजधानीमा प्रदूषण नियन्त्रण गर्न काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६ कार्यान्वयनमा ल्याइएको छ। यीबाहेक अन्य विषयगत नीतिले वायु प्रदूषण नियन्त्रण तथा उत्सर्जन नियन्त्रणको विषय समेटेका छन्। तर यी प्रावधानको कमजोर कार्यान्वयनका कारण प्रदूषणका कारण हुने मानवीय, आर्थिक तथा समाजिक क्षति बढ्दो छ।

प्रदूषणका कारण प्रष्ट छन्। नेपालमा विशेषगरी डिजेल र पेट्रोलमा आधारित सवारी साधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले निकाल्ने धुवाँ, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा हुने उत्सर्जन, विषादीको उच्च प्रयोग, सडकबाट निस्कने धुलो वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ। घरभित्रको वायु प्रदूषणका लागि खाना पकाउन तथा तातो राख्न प्रयोग गरिने दाउरा लगायत अन्य परम्परागत जैविक इन्धनको प्रयोग कारण मानिन्छ।

वायु प्रदूषण मानव सिर्जित समस्या हो र यसको समाधान पनि हामीसँगै छ। त्यसैले यी कारक पक्षलाई सम्बोधन गर्न सरकार, नागरिक समाज र सर्वसाधारणलगायत सबै सरोकारवाला गम्भीर हुनै पर्छ। प्रदूषणका कारण नेपालमा बर्सेनि ५० हजारको अकाल मृत्य हुनु चानचुने र सामान्य विषय होइन। रोक्न र टार्न सकिने मृत्युका कारण यतिधेरै सर्वसाधारणको मृत्यु हुनु गम्भीर विषय हो। यसमा यो अथवा त्यो कारणले गर्न सएिकन भन्ने सुविधा कसैलाई छैन। यो स्वच्छ हावा र वातावरणमा बाँच्न पाउने संविधान प्रदत्त अधिकारको समेत विरुद्धमा छ। 

प्रकाशित: १६ असार २०८१ ०६:०६ आइतबार

Download Nagarik App
Download Nagarik App