२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

योगमय जीवनमा जोड

योगको अर्थ हो-जोड्नु। शरीर र मनलाई जोड्ने यो विधिमा यम, नियम आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छन्। यी आठ अंगको संयोजन नै योग हो। जीवन र जगतलाई सन्तुलित ढंगले हेर्ने अपूर्व शक्ति यसबाट प्राप्त हुन्छ। यसलाई केबल केही आसनको निरन्तरताका रूपमा लिन सकिँदैन। चेतनासहित जीवन जिउँने कला योग हो। चञ्चल चित्तवृत्तिको ठाउँमा संयमित र सन्तुलिन जीवन यसको अभिष्ट हो। आजको संसारले यसलाई जीवनको एउटा अपूर्व कलात्मक उपायका रूपमा अंगीकार गरिसकेको छ। स्वस्थ र सन्तुलिन जीवनका निम्ति योगलाई दैनिक कार्यको अभिन्न अंग बनाउनु उचित हुन्छ।

योग ध्यानले मानिसमा चेतना जागृत गराउँछ। एकै छिन भएपछि मौन रहेर आफूसँग आफैंले संवाद गर्ने, आफैंलाई हेर्ने यो अनुपम प्रक्रिया हो। जसले मानिसको बाहिरी व्यक्तित्वलाई अनुशासन, जिम्मेवारी र आचरणले जोड्छ भने आन्तरिक स्वभावलाई सकारात्मक बनाउँछ। चित्त शुद्धीले मनमा बुद्धि भर्छ। पवित्रताले जीवन सुसज्जित पार्छ। योग स्वस्थ जीवनको साँचो हो। प्राचीन ऋषिमुनिदेखि आजको मानिसम्ममा यसको उत्तिकै प्रभाव देखिएको छ। जीवनमा अथक मेहनत गर्न र आफूलाई सद्विचार र कार्यमा लगाइरहन यसले उर्जाशील बनाउँछ।

बदलिँदो जीवनशैलीका कारण शरीरलाई पर्याप्त उर्जा प्राप्त गर्न कठिन भएको छ। यसले जीवन अस्वस्थ हुने सम्भावना पनि उत्तिकै छ। यस्तो अवस्थाबाट मुक्ति दिलाउने माध्यमका रूपमा पनि लिइन्छ योगलाई। जुनसुकै उमेरका व्यक्तिले पनि अपनाउन सक्ने, खासै कठोर पनि नहुने अनि आर्थिक दृष्टिले पनि किफायती भएका कारण योग सर्वसुलभसमेत छ। टेलिभिजन, युट्युब आदि हेरेर आफ्नै शयन कक्ष वा बैठक कोठामा समेत अनुशरण गर्न सकिने भएकाले यो सहजसमेत छ। अनि परिवारका इच्छुक सबै एकै ठाउँमा बसेरसमेत गर्न सकिने भएकाले समय र स्थान धेरै नचाहिने त छँदैछ, सामूहिकताको भावना वृद्धिमा पनि सघाउँछ।

आध्यात्मिक अनुशासनको पर्याय ठानिने योग संस्कृत भाषाको ‘युज’बाट आएको हो। ईश्वरसँग आत्माको मिलन अर्थ लाग्ने यो शब्दबाटै थाहा हुन्छ कि योग कति शक्तिशाली छ। शरीर र दिमागलाई नियन्त्रणमा राख्ने, भड्किन नदिने जस्ता चामत्कारिक शक्तिले परिपूर्ण हुने मानिन्छ योगलाई। त्यसैले त पूर्वीय दर्शनको यो शक्तिशाली अस्त्रलाई पश्चिमाहरूले समेत विशेष महŒवसाथ अपनाउने गरेका छन्। यस वर्ष अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘महिला सशक्तिकरणका लागि योग’ हो। प्रत्येक वर्ष जुन २१ का दिन यसलाई मनाउन थालिएको छ। नेपाल र भारतमा योगको केही वर्षयता व्यापक प्रचार भइरहेको छ। यसले. कैयनलाई स्वस्थ जीवन व्यतित गर्न प्रेरित गरिरहेको छ।

योग स्वस्थ रहनका लागि गरिन्छ भने बिमारीबाट मुक्तिका लागि पनि अपनाइन्छ। त्यसैले सबैले एकैखालको र उही आसनका योगहरू गर्नुपर्छ भन्ने छैन। भक्तियोग, राजयोग, ज्ञानयोग, कर्मयोग जस्ता धेरै प्रकारका योग आफ्नो इच्छा, आवश्यकता र रुचिअनुसार अंगाल्न सकिन्छ। त्यसैगरी त्रिकोणासन, वृक्षासन, कोणासन, अर्ध चक्रसन, गरुडासन जस्ता विविधखाले आसन अपनाउन सकिन्छ। शिशुआसन, वज्रासन, बद्धकोणासन जस्ता बसेर गर्ने योग अपनाउन सकिन्छ भने शलभासन, भुजंगासन, वशिष्ठासन जस्ता पेट योगाको मुद्रा पनि अपनाउन सकिन्छ। यसबाहेक हलासन, मत्स्यासन, शवासन जस्ता पिठको बलमा बसेर गर्ने योग पनि अंगाल्न सकिन्छ। यसरी हेर्दा योगका बहुआयामिक प्रक्रियाबाट भरपुर फाइदा लिन सकिन्छ।

पूर्वीय दर्शन आधुनिक विज्ञानभन्दा निकै जेठो मात्र हैन, दूरदर्शी र परिपक्व पनि मानिन्छ। विज्ञानमा आधारित पश्चिमा समाजले समेत यसलाई आत्मसात गर्नुको अर्थ यो जीवनोपयोगी रहेको पुष्टि हुन्छ। केही वर्षयता हामीले यसको महŒव बुझ्न थालेका छौं। यसलाई स्कुल तहबाटै विद्यार्थीलाई सिकाएर जीवनभरि उपयोग गर्न सक्ने बनाउनु उचित हुन्छ। हाम्राजस्ता सुन्दर ठाउँलाई योग र स्वास्थ्यका निम्ति संसारभरिका मानिसलाई आकर्षित गर्ने गरी विकास गर्न सकिन्छ। यहाँ योग र स्वास्थ्यका निम्ति पर्यटक निम्त्याउन सकिन्छ। संयक जीवनका निम्ति यो अत्यन्तै उपयोगी हुने देखिएको छ। सबैलाई तनावमुक्त जीवन व्यतित गर्न योग दिवसले प्रेरित गरोस्। यसले यथार्थमै सही मानव समाज सिर्जनामा मद्दत गर्नेछ।  

प्रकाशित: ७ असार २०८१ ०५:५७ शुक्रबार

Download Nagarik App
Download Nagarik App