२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

मोदी ३.०

‘राजनीतिक, धार्मिक र आर्थिक, तिनै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको भाजपा सरकारले गराउन लागेको निर्वाचन कति स्वतन्त्र र निष्पक्ष हुनेछ यसको पर्यवेक्षक भारतीयले मात्र होइन, सारा विश्वले नै एकसाथ गर्नेछ। किनकि लोकतान्त्रिक भारत भारत मात्र होइन, विश्वकै लोकतन्त्रका लागि आवश्यक छ। अझ नेपालजस्तो सीमासँगै परापूर्वकालदेखि विशेष सम्बन्ध जोडिएको छिमेकीका लागि त यसको महत्त्व झनै छ, किनभने लोकतान्त्रिक, सभ्य, समृद्ध, सहिष्णु र सहयोगी भारतले मात्र भोलिको नेपालका लागि सही दिशानिर्देश गर्न सक्छ। आपसी शान्ति र सौहार्दता कायम गराउन सक्छ। फेरि पनि अन्तिम सत्य जनता नै हुन्। भारतलाई आजको संकटबाट कसैले पार लगाउन सक्छ भने ती सचेत भारतीय जनता नै हुन्। महात्मा गान्धी जन्माएको भारतले जस्तोसुकै परिस्थितिमा पनि लोकतन्त्रलाई बचाउनेछन् भन्ने भरोसा गर्नु अतिशय आशावादी हुनु होइन। लोकतान्त्रिक भयमुक्त भारतको शुभकामना!’

भारतमा लोकसभाको पहिलो चरणको निर्वाचन शुरु हुन १२ दिनअघि अर्थात् २५ चैतमा हामीले ‘भयमुक्त भारतको कामना!’ शीर्षकमा यस्तो सम्पादकीय लेखेका थियौं। अहिले भारतमा चुनाव सकिएको मात्र छैन, निर्वाचन परिणामसमेत आइसकेको छ। यतिमात्र होइन नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। आज आइतबार संघीय राजधानी नयाँदिल्लीमा उनको सपथ ग्रहण हुँदैछ, जसमा हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदैछन्।

त्यसो भए फरक के त ? आखिर प्रधानमन्त्री त फेरि मोदी नै बन्दैछन्, उनकै पार्टी भारतीय जनता पार्टी (भाजपा) कै नेतृत्वमा सरकार बन्दैछ। के बदलियो जसले हामीलाई सम्पादकीयको अंश पुनः उद्धृत गर्न सान्र्दभिक बनायो ? के अब भारत भयमुक्त बन्छ त ? लोकतान्त्रिक नै रहिरहन्छ त ? उत्तर सहज छैन । तर, प्रधानमन्त्रीमा मेदी नै तेहेरिए पनि यो निर्वाचनले भारतको लोकतान्त्रिक जीवनमा कतै ठोस त कतै संकेतमै सही, केही यस्ता बदलाव ल्याइदिएको छ, जसले भारतीयसँगै हामी छिमेकी नेपालीका साथै विश्व लोकतन्त्रलाई नै आशावादी तुल्याएको छ। त्यसो नहुँदो हो त प्रसिद्ध म्यागेजिन दि इकोनोमिस्ट्ले आफ्नो नयाँ अंकको आवरणमा एक आँखा छोपिएको मोदीको तस्बिर राखेर ‘भारतीय लोकतन्त्रका लागि एक विजयउल्लास’ भन्ने शीर्षक राख्ने थिएन।

भारतलाई ‘संसारकै ठूलो लोकतान्त्रिक मुलुक’ देखिराख्न चाहनेहरूको विश्लेषण नियाल्ने हो भने प्रधानमन्त्री मोदीले यो निर्वाचनमा सन् २०१९ को निर्वाचनमा जस्तै भाजपा एक्लैले बहुमत ल्याउने र नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) ले चार सय सिटमा विजय हासिल गर्ने दाबी गरेका थिए। सातचरणको निर्वाचनले दोस्रो चरण पार गर्दा मोदी थोरै व्यवहारवादी लागे र ३७० सिट जसरी पनि ल्याउने बताउन थाले। अंकको खेल कस्तो थियो भने, संविधानको ३७० धारामा रहेको कश्मीरको विशेषाअधिकार, जसले मोदी सरकारले अघिल्लो सरकार बनेलगत्तै निलम्बन गरेको थियो। तर, परिणाम मोदी र भाजपाले सोचे, भनेजस्तो भएन। भाजपाले अघिल्लो निर्वाचनमा ल्याएको ३०३ सिट त ल्याएन नै, बहुमत (२७२) सिट पनि जित्न सकेन। ऊ २४० सिटमै खुम्चियो। मोदीलाई सरकार बनाउनका लागि गठबन्धनको सहारा लिनुप¥यो । जनता दल (युनाइटेड) का अध्यक्ष नीतिश कुमार र तेलुगू देशम पार्टीका एन.चन्द्रबाबु नायडुजस्ता सहयात्री जसले यसअघि भाजपालाई धोका दिइसकेका छन्।

भाजपा र एनडीए गठबन्धनका नेता, कार्यकर्ताहरूले भने चुनावी परिणामको व्याख्या आफूअनुकुल गरिरहेका छन्। पहिलो त, तेस्रो कार्यकाल पनि मोदी प्रधानमन्त्री हुनुलाई उनीहरू नेहरू शासनसँग तुलना गरिरहेका छन्। सिट घटेपनि जनमतमा भने भाजपालाई खासै असर नपरेको उनीहरूको भनाइ छ।

सन् २००४ मा युनाइटेड पिपुल्स अलायन्स (युपीए) गठबन्धन सरकारको नेतृत्व गरेको कांग्रेस सत्तामा हुँदा आलोचना नभएको तर अहिले मोदी सरकारलाई कमजोर ठान्ने विपक्षी भाष्यलाई उनीहरूले चुनौति दिइरहेका छन्।

लोकतन्त्रवादीहरूलाई आशा पलाएको चाहिँ अब भारत एउटै दल र विचारको लिगबाट थोरै भए पनि हटेकोमा हो। चरम बहुमतका साथ चुनाव जितेर संविधान बदल्ने भाजपाको रणनीतिमा तत्कालका लागि सफल नहुने भएको छ। भारतलाई हिन्दुराष्ट्र बनाउने राष्ट्रिय स्वयंसेवक संघको अभिष्ट पनि अहिलेका लागि असम्भव देखिएको छ। बहुमतीय राष्ट्रवाद, हिन्दुत्व राजनीतिलाई नै पछिल्लो १० वर्षमा अभ्यास गरिरहेको, गान्धी होइन गोड्से पुजिरहेको मोदी सरकारको अधिनायकवादमा अब केही लगाम लाग्ने विश्वासमा लोकतन्त्रवादीहरूले उल्लास मनाएका हुन्। विपक्षीमात्र होइन, सम्पूर्ण राज्यसंयन्त्र, मूलधारका सञ्चारमाध्यमलाई आश या त्रास देखाएर पत्तासाफ गर्ने मोदी–नीतिमा आइन्दा कमी होला भन्ने लागेर पीडितहरू हौंसिएका हुन्।

इतिहासले सबैलाई यस्तो अवसर दिदैंन, जुन मोदीले पाएका छन्। तेस्रोपटक प्रधानमन्त्री बनाएर आफ्नो छवि सुधार्ने दुर्लभ मौका उनलाई भारतका जनताले दिएका छ । यो अवसरलाई उनले हिन्दुत्व, घृणा, अलगाववाद र विपक्षीलाई सिध्याएरै छाड्ने अहंकारका साथै आफू जैविक नभएको भन्ने भ्रम त्याग्न प्रयोग गर्नुपर्छ। पुरानै मोदी अबको भारतमा सान्र्दभिक हुनसक्तैनन्, निर्वाचनको कार्यादेशबाट उनले यही पाठ सिक्नुपर्छ। 

प्रकाशित: २७ जेष्ठ २०८१ ०६:११ आइतबार

Download Nagarik App
Download Nagarik App