२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चैते धान उत्पादनमा वृद्धि

राप्ती नगरपालिका–१ प्रतापपुरका कृष्णहरी पाण्डे आफ्नो खेतमा फलेको चैते धान देखेर दंग परेका छन्। बाबुबाजेको पालादेखि धान लगाउँदै आएका पाण्डेले जीवनभर यसरी धान फलेको कहिल्यै देखेका थिएनन्। पाँच कट्ठा जग्गामा धान खेती गरेका पाण्डेले ६४ प्रतिशतले बढी फलाएका छन्।

‘जीवनभर खेती गर्दा नौ क्विन्टलभन्दा बढी धान उत्पादन गर्न सकेका थिएनन्। यो वर्ष १४ क्विन्टल ७३ किलो धान फलेको छ,’ खुसी साट्दै उनले भने, ‘मेसिनले धान रोपेको धेरै राम्रो भयो।’

उनले प्रतिकट्ठा २.९४६ मेट्रिक टनसम्म उत्पादन गरेका छन्। धान भण्डार गर्ने ठाउँ नहुुदा प्रतिक्विन्टल २७ सय रूपैयाँमा धान बिक्री गरेका छन्। ‘दुई महिना राखेको भए प्रतिक्विन्टल चार हजार रूपैयाँसम्ममा बिक्री गर्न सकिन्थ्यो,’ आफ्नो समस्या राख्दै पाण्डेले भने, ‘भण्डारण गर्ने ठाउँ भए राम्रो हुने थियो।’

राप्ती–२ गँड्यौलीका शेरबहादुर रिजालको खेतमा पनि धानको उत्पादन राम्रो भयो। साढे  १० कट्ठामा खेती गरेका रिजालले अहिलेसम्मकै राम्रो उत्पादन गरेको बताए। ‘साढे १० कट्ठामा खेती गर्दा २५ क्विन्टल बढी उत्पादन भएको थिएन,’ उनले भने, ‘अहिले ३० क्विन्टल भयो।’

 उनले ८० हजार रूपैयाँमा धान बिक्री गरिसकेका छन्। यसअघि रिजालले ५० हजार रूपैयाँभन्दा बढीको धान बेच्न सकेका थिएनन्। ‘मैले चैते धान मात्र बेच्छु। अहिले प्रति क्विन्टल  २७ सय रूपैयाँमा बिक्री गरे। सुुक्न पाएको भए प्रतिक्विन्टल २९ सय रूपैयाँमा बिक्री हुन्थ्यो। तैपनि यस वर्ष धेरै खुसी छु’-उनले भने।

चितवनमा यस वर्ष चैते धानको उत्पादनमा वृद्धि भएको छ। धानमा रोगको प्रकोपमा कमी आउनु, नयाँ जातलाई बढावा दिनु, सिँचाइको सुविधा पुग्नु जस्ता कारणबाट चैते धान उत्पादनमा वृद्धि भएको किसान बताउँछन्।

‘यतिखेर धानमा कुनै रोग लागेन। पहिलाको तुलनामा प्रति कट्ठा ५० किलोसम्म बढी फलेको छ’, राप्ती नगरपालिका–१ का वडा सदस्य राजु राईले भने, ‘राप्ती खोलाको सिँचाइ, मेसिनको प्रयोग र अनुकूल मौसमका कारण पनि धान उत्पादन वृद्धि भएको देखिन्छ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ चितवनको तथ्यांकमा पनि धान जोन क्षेत्रमा धानको उत्पादन बढेको देखिन्छ। परियोजनाका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाका अनुसार, जिल्लामा जोन क्षेत्रमा गत वर्षकोभन्दा धानको उत्पादन दुई हजार ६८ मेट्रिकटनले वृद्धि भएको छ।

गत वर्ष जोन क्षेत्रमा ५३ हजार दुई सय चार मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष ५५ हजार दुई सय ७२ मेट्रिक टन उत्पादन भएको उनले बताए। पूर्वी चितवनको आठ हजार पाँच सय ४० हेक्टर क्षेत्रफललाई धान जोनमा सूचीकृत गरिएको छ। त्यसमध्ये चार हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ। जसमा रत्ननगर नगरपालिकाको वडा नम्बर ३ देखि  ९, खैरहनी नगरपालिकाको ५–७ र ९–१३, राप्ती नगरपालिकाको १–४ र ६ नम्बर वडा रहेका छन्।

मेसिनले धान रोपेका किसानले धेरै उत्पादन गर्न सफल भएको परियोजनाका कार्यालय प्रमुख महेश रेग्मी बताउँछन्। ‘कुनै किसानको उत्पादकत्व धेरै राम्रो छ। समग्रमा हेर्दा चैते धानको उत्पादकत्व गत वर्षभन्दा चार प्रतिशतले वृद्धि भएको देखिन्छ,’ प्रमुख रेग्मीले भने, ‘मेसिनले धान रोपेका किसानको खेतमा धेरै फलेको छ।’

कुनै किसानले प्रतिहेक्टर ८.४१६ मेट्रिकटनसम्म धान उत्पादन गरेका छन्। चितवनमा चैते धान बालीका रूपमा चैते–५, हर्दिनाथ–१, पिआर जातका धान लगाउने गरिएको छ। जिल्लामा २२ हजार आठ सय ७० हेक्टरमा धान खेती हुुन्छ। त्यसमध्ये पाँच हजार पाँच सय ४० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ।

प्रकाशित: ७ असार २०८१ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App