२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा ‘अलबिदा’ लेखेर बेपत्ता भए प्राध्यापक तिम्सिना

बेपत्ता भएका डा. रामजी तिम्सिना।

इटहरी वडा नं. २ निवासी डाक्टर रामजी तिम्सिना दुई दिनदेखि बेपत्ता भएका छन्। बुधबार बिहान (असार १९ गते) ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु। अलबिदा’ भनी लेखेर बेपत्ता भएका हुन्।

उनी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक हुन्। उनले लेखेको त्यो चिर्कटो मुनि ‘मिति २०८१/०३/१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ। उनको चिर्कटो फेला परेपछि परिवारका तर्फबाट खोजी गरी पाऊँ भनी इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिइएको  छ।

घर परिवारका सदस्य उठ्नुअघि नै उनी चिर्कटो लेखेर घरबाट हिँडेको खुलेको छ। उनले बुधबार बिहान ४ः१८ बजे चिर्कटो लेखेको उल्लेख भएकोमा घरदेखि ५०० मिटर पश्चिमतर्फ ४.३० गाउँलेले देखेको थिए। उनी आपगाछी चोकतर्फ जाँदै गरेको गाउँलेले देखेका थिए।

उनकी श्रीमती निरा पोखरेलका अनुसार तिम्सिना एक्कासि बेपत्ता भएका हुन्। ‘बाहिरी तनाव पनि केही थिएन,’ उनले भनिन् ‘बेपत्ता हुनुको केही कारण नै खुल्न सकेको छैन।’ प्रहरीले बिहीबारदेखि बेपत्ता तिम्सिनाको खोजतलास तीव्र पारेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले तिम्सिनाको खोजी गर्नका निम्ति तीन वटा प्रहरीको अलग अलग टोली परिचालन गरिएको बताए। प्रहरीले सुनसरीको बराहक्षेत्र मन्दिर क्षेत्रमा खोजी गरी रहेको छ। ‘मोबाइल लोकेसन बराहक्षेत्र मन्दिर आसपास देखिएपछि स्पेसल टोलीसहित तीन वटा टोली परिचालन गरिएको छ,’ एसपी रेग्मीले भने, ‘अहिलेसम्म फेला पार्न भने सकिएको छैन।’ उनका अनुसार तिम्सिनाले लेखिएको भनिएको चिर्कटो पनि प्रमाणित गर्ने काम भइरहेको छ।

खोजतलासमा खटिएका इलाका प्रहरी कार्यालय बराहक्षेत्रका इन्स्पेक्टर विकास राईले लोकेसन देखिएको क्षेत्रमा बिहीबार दिउँसोदेखि निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकिएको बताए। उनका अनुसार मोबाइलमा निरन्तर फोनको रिङ् गए पनि टेलिफोन समेत फेला पार्न सकिएको छैन।

तिम्सिना महेन्द्र बहुमुखी क्याम्पस धरान र इटहरीको कोसी कलेजमा अध्यापन गर्थे। उनी समालोचनामा विशेष दख्खल राख्छन्। पूर्वमा भएका विभिन्न साहित्यिक, वैचारिक कार्यक्रमहरूमा उनको सक्रियतापूर्वक सहभागिता रहने गरेको थियो। उनी बेपत्ता भएपछि शुभचिन्तकहरूले चिन्ता प्रकट गरेका छन्। सामाजिक सञ्जालमा शुभचिन्तकहरूले जहाँ भएपनि घर फर्किन अपिल गरेका छन्।

प्रकाशित: २१ असार २०८१ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App