२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौंं उपत्यकामै छैन गुणस्तरीय बिजुली

काठमाडौं उपत्यकामा पछिल्लो साता विद्युत् सेवा अवरुद्ध हुने क्रम बढ्दै गएको छ। अधिकांश विद्युत् लाइन ‘ओभरहेड’ प्रणालीबाट ग्राहकसम्म वितरण गर्ने गरिएको छ। जसका कारण ठूलो वर्षा र हावाहुरी आउनासाथ विद्युत् सेवा अवरुद्ध हुने गरेको हो।

त्यस्तै उच्च भोल्टेजका कारण विद्युत्को पोलमा आगलागी भई विद्युत् अनियमित हुने गरेको छ। वर्षौं पुराना पोल र तार फेर्नतर्फ नेपाल विद्युत् प्राधिकरणको ध्यान पुग्न नसक्दा आम ग्राहकले बर्सेनि उही समस्या भोग्नुपरेको हो।

अझ बर्खायाम सुरु भएपछि त काठमाडौं उपत्यकाको बिजुली ‘ट्रिपिङ’ हुने क्रम बढ्ने गरेको छ। पछिल्ला केही दिनलाई मात्र हेर्ने हो भने पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हप्तैपिच्छे विद्युत् सेवा अवरुद्ध हुने गरेको छ। सरकारले २०७३ को लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरे पनि उपत्यकाबासीले हालसम्म गुणस्तरीय बिजुली पाउन सकेका छैनन्।

पछिल्लो पटक भने प्राधिकरणले सूचना जारी गरेरै बिजुली काटिरहेको छ। अहिले काठमाडौं उपत्यकाभर प्राधिकरणले तार भूमिगत गर्ने कार्य गरिरहेको छ। तार भूमिगत गर्ने बहानामा प्राधिकरणले उपत्यकाका विभिन्न ठाउँहरूमा विद्युत् लाइन काट्न थालेको हो।

जेठ सुरु भएसँगै प्राधिकरणले काठमाडौंको नयाँबजार फिडरअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध गरेको थियो। गत जेठ ५ गते क्षेत्रपाटी फिडरअन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी धोविचौर, ठहिटी, पकनाजोल चोक, ज्याठा र कान्तिपथ, खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो।

त्यस्तै, जेठ ६ गते भीमसेन स्थान फिडरअन्तर्गत वडा नं १२ वडा कार्यालय, ह्युमत, जैसीदेवल चिकँमुगल, भीमसेनस्थान, काष्ठमाण्डप, जेठ ८ गते भीमसेनस्थान, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु, पचलीभैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर, विश्वनिकेतन स्कुल, वडा नं १२ वडा कार्यालय लगायतका क्षेत्रमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको थियो।

त्यस्तै प्राधिकरणले जेठ १३ गते आइतबारदेखि पुनः एक हप्ता काठमाडौं उपत्यकाभर विद्युत् आपूर्ति बन्द गर्ने तालिका सार्वजनिक गरेको छ। आइतबार साँखु फिडर अन्तर्गत साँखु बजारमा र चौमती फिडरअन्तर्गत छाउनीस्थित आर्मी अस्पताल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको प्राधिकरणले सोमबार केएमसी र पुरानो एयरपोर्ट फिडरअन्तर्गत सुविधानगर, सिनामंगल र भिमसेनगोला क्षेत्रमा बिजुली अवरुद्ध गरेको थियो।

आगामी १६ गते कालीमाटी फिडरअन्तर्गत सोल्टी मोडदेखि कलंकी क्षेत्र, १७ गते रोपवे फिडर अन्तर्गत मैत्रोनगर र टेङ्लाफाँट क्षेत्र र १८ गते मूलपानी फिडरअन्तर्गत पर्ने फिकल चोकदेखि बाबा चोकसम्म बिजुली आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

ती क्षेत्रमा पनि भूमिगत तार व्यवस्थापन कार्यका निम्ति विद्युत् सेवा बन्द गरिएको प्राधिकरणको दाबी छ। तार भूमिगत गर्ने प्रयोजनका लागि मात्र होइन, यसअघि पनि प्राधिकरणले बिना जानकारी लाइन काट्ने गरेको छ।

पछिल्लो पटक विद्युत् सेवामा ट्रिपिङ समस्याले हैरानी खेप्नुपरेको घट्टेकुलोकी गीता आचार्यले बताइन्। ‘पानी पर्‍यो र हावाहुरी चल्यो भने बिजुली गएर हैरान हुन्छ,’ उनले भनिन्, ‘कहिले सडक खनेर होस् वा पोलमा टाँगिएका तार जलेर बारम्बार बत्ती गइरहेको हुन्छ।’

प्राधिकरणले भने गुणस्तरीय बिजुली आपूर्ति वितरण गरिरहेको दाबी गरे पनि ग्राहकले भने भरपर्दो बिजुली उपभोग गर्न पाएका छैनन्। भरपर्दो र गुणस्तरीय विद्युत् वितरण गर्न ओभरहेडको सिस्टमलाई ‘अन्डरग्राउन्ड केवलिङ’ गरिएको र विभिन्न प्रसारण तथा वितरण प्रणालीमा व्यापक सुधार गर्दै लगिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।

यसअघि प्राधिकरणले ग्राहकलाई एलपिजी ग्यासको सट्टा निर्धक्क भएर इलेक्ट्रिक चुलोको प्रयोग गर्न आग्रह गरेको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम्ले विद्युत् खपतका लागि विद्युतीय चुलो बाँड्ने अभियान चलाएका थिए।

अहिले पनि उपत्यकाका अधिकांश ग्राहकको भान्साबाट एलपिजी ग्यास विस्थापित हुन सकेको छैन। कारण, विद्युत् सेवाप्रति आम ग्राहकको भरोसा र विश्वास नहुनु नै हो।

त्यति मात्रै होइन, मुलुकको ठूलो प्रशासनिक क्षेत्र सिंहदरबारभित्रै ग्यास सिलिन्डर हट्न सकेको छैन । गत आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डरलाई विद्युतीय चुलोले विस्थापन गर्ने घोषणा गरेको थियो। हालसम्म पनि सिंहदरबाभित्रका अधिकांश क्यान्टिनमा ग्यास सिलिन्डर नै प्रयोग भइरहेको छ।

विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गरिरहेका उपभोक्ता पनि गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेकाले हैरानी बेहोर्न बाध्य छन्। कहिले विद्युत् लोड उच्च हुने, कहिले भोल्टेज कम हुँदा उपभोक्ताले विद्युतीय चुलो प्रयोग गर्न नपाएको गुनासो गर्दै आएका छन्।

भोल्टेज कम भएका कारण माइक्रो ओभन चलाउन नपाएको गुनासो पनि ग्राहकले गरिरहेका छन्। ‘पुराना र जीर्ण बिजुलीका पोल र गुणस्तरीय प्रशारण लाइनका कारण पनि आम उपभोक्ताले धेरै ठाउँमा जोखिम बेहोरिरहेको पुष्टि पछिल्लो समय अनेक स्थानमा भइरहेको विद्युतीय दुर्घटनाले गर्दछ’, उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्।

 स्मार्ट पोलको प्रयोग र गुणस्तरीय बिजुली प्रदान गर्न नियमनकारी निकायको ध्यान नगएको उनको भनाइ छ। हामी कहाँ अहिलेसम्म स्मार्ट पोलको अवधारणा भित्रिएको देखिँदैन।

वितरण लाइन व्यवस्थित नहुँदा विद्युत् चुहावट भइरहेको छ। यसतर्फ विद्युत् प्राधिकरण, दूरसञ्चारलगायतका नियमनकारी निकायको ध्यान पुग्न नसक्दा नेपाली उपभोक्ताले आफूले मूल्य तिरेअनुसारको विद्युत् सेवा पाउन सकेका छैनन्। विद्युत् सेवा अबरुद्ध भएका बेलाको सहुलियत र छुट पनि प्राधिकरणले नदिएको उनको भनाइ छ।  

प्रकाशित: १५ जेष्ठ २०८१ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App