महामारीबाट समाजलाई जोगाउन सदियौदेखि नाचिदै आएका परम्परागत नाच अहिले आफैं महामारीकै चपेटामा परेका छन्। सर्वसाधरणको बाक्लो सहभागितामा मनाइँदै आएका तान्त्रीक विधिका नाचहरू कोरोनाका कारण औपचारिकतामा सिमित बनेका छन्।
भक्तपुरका प्रसिद्ध नवदुर्गा, निलवाराही, भैरव, महाकाली लगायतका नृत्य संकटमा परेको सस्कृतिविद् ओम धौभडेलले बताए। समाजका विभिन्न महामारी तथा दुर्भक्षको विनासका लागि पुर्खाले नाच शुभारम्भ गरेका थिए।
प्राचीनकालमा भूत, प्रेत, पिसाचलाई तह लगाउन नाच चलेको जनविश्वास छ। ‘भूत,प्रेत, पिसाच भनेर त्यति बेलाको महामारीलाई बुझाउँछ,’ संस्कृतिविद् धौभडेल भन्छन्,‘अहिले यिनै नाच कोरोनाको चपेटामा परेका छन्।’
![](https://images.nagariknewscdn.com/third-party/1597398873_om%20dhaubadel.jpg)
विगतमा प्लेग, बिफरजस्ता महामारीबाट जोगिएको समाज यसपटक कोरोनाको चपेटामा परेको छ। प्राचीनकालमा भूत, प्रेत, पिसाचले दुःख दिन थालेकाले त्यसको निराकरण गर्न नाचको चलन चलेको हो। ‘भूत, प्रेत, पिचास भनेर त्यति बेलाको महामारीलाई बुझाउँछ,’ धौभडेले भन्छन्, ‘अहिले यिनै नाच कोरोनाको चपेटामा परे।’
इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरका राजा भुवन मल्ल (सन् १५०५देखि १५१९सम्म)ले सञ्चालनमा ल्याएको नवदुर्गा नाच पनि संकटमा परेको छ। नेपाल संवत् ६३३ (ईस १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तत्कालीन राजाले नाच चलाएका उनको भनाई छ।
‘नवदुर्गा नाचलाई महामारी र अनिकाल माथिको विजयका रुपमा समेत लिने गरिन्छ’, उनले भने, ‘आठ महिना लामो यो नाच कोरोनाका कारण प्रभावित छ।’ टोलटोलमा देखाइने नाच मन्दिरभित्र खुम्चिएको छ।
‘अहिले नाच देखाएर भीड गर्ने भन्दा पनि संस्कृतीको रक्षा गर्ने तर्फमात्र सवै केन्द्रित छन्’, उनले भने, संस्कृतीलाई मर्न नदिएर समाज जोगाउने अभियान सकारात्मक छ।’
![](https://images.nagariknewscdn.com/third-party/1597399049_navdurga%20dance.jpg)
त्यस्तै सत्रौ सताब्दी देखि भक्तपुरकै बोडेमा शुरु भएको नीलवाराही नाचमा विगत ६२ वर्षदेखि नाच्दै आएका ६९ वर्षे प्रेमचन्द्र अदुवाले आफ्नो जीवनकालमा यस अघि यस्तो समस्या नआएको सुनाए।
‘जात्रा नै संकटमा परेपछि यसका केही विधी र समय फेर्न बाध्य बन्यौ’, उनले भने, ‘यस पटक जेनतेन जात्रा जोगाएका छौ।’
कोरोनाको बढ्दो संक्रमणका कारण बोडेमा नाचिने नीलबाराही नाच यस पटक रातिको समयमा मात्र नाचियो। गाइजात्राको भोलीपल्टबाट तान्त्रिक विधिमा आधारित नाच बेलुका १० बजेदेखि बिहान ५ बजेसम्म मात्र नाचियो ।
‘विगतमा मध्यारातदेखि दिनभर नाचिन्थ्यो’, प्रेमचन्द्रले भने, ‘परपरबाट हेर्ने मानिसको घुइँचो लाग्थ्यो।’
सर्वसाधरणका लागि देखाउने नाच उनीहरू धेरै आउलान् भन्ने डरले खुम्चिनु पर्ने बाध्यता बनेको छ।
‘जति हेर्ने मान्छे धेरै भयो नाच्नेलाई उति खुसी लाग्थ्यो,’ उनले थपे, ‘समाजको हितका लागि हामीले नाचलाई रातमा मात्र सिमित ग-यौं।’
![](https://images.nagariknewscdn.com/third-party/1597398987_premchandra%20aduwa.jpg)
यसैगरी भक्तपुरको नगदेशमा देखाइने महाकाली नाच र मध्यपुरथिमि नगरपालिकामा प्रदर्शन गरिदै आएको प्रसिद्ध एवम् ऐतिहासिक भैरव नाच पनि प्रभावित बन्यो। नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, चोर, जल, अग्नि, वायु, भूकम्प र चट्याङको भय नहुने जनविश्वास छ।
कोरोना भाइरस संक्रमणको डर भएकाले रातको समयमा मात्र नाच चलाउनु परेको बोडेका हरिभक्त भिन्डवाले जानकारी दिए। ‘दिनको समयमा अन्यत्रबाट पनि नाच हेर्न आउनेको भिड लाग्ने भएकाले राती मात्र नाचिएको हो’, उनले भने, ‘समाज र संस्कृती दुवैलाई केही हदसम्म जोगाउन सफल भएका छौ ।’
![](https://images.nagariknewscdn.com/third-party/1597398810_nilbarahi%20nach%20(1).jpg)
प्रकाशित: ३० श्रावण २०७७ १०:०० शुक्रबार