२० असार २०८१ बिहीबार
image/svg+xml
कला

सयको समतादेखि करोडको कलेजसम्म

उनले कक्षा ६ देखि १० सम्म एक सय रूपैयाँमा पढाउने नेपालको विद्यालयमा अध्ययन गरिन्। त्यसपछि भने उनले संसारकै महँगो र उत्कृष्टमध्येको एक अन्तर्राष्ट्रिय कलेजमा पढ्ने अवसर पाइन्।

राजधानीस्थित समता स्कुलमा मासिक सय रूपैयाँ शुल्कमा पढेकी अस्मिता वार्षिक झन्डै दुई करोड शुल्क लाग्ने आइग्लोन कलेजमा चार वर्ष अध्ययन गरेर नेपाल फर्केकी छन्।

स्विजरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी अस्मिताले ज्ञानको कुनै मूल्य नहुने सुनाइन्। ‘ज्ञानको कुनै मूल्य हुँदैन,’ यसै साता स्वदेश फर्केकी अस्मिताले भनिन्, ‘मैले सयको समतामा संस्कार सिके, करोडको स्विजरल्यान्डमा संसार चिनें।’

चितवन घर भएकी अस्मिता आफ्ना बाबासँगै राजधानीको नयाँ पाटीमा बस्दै आएकी छन्। उनका बुबा ट्याक्सी चालक हुन्। आफू पढ्ने विद्यालयमा संसारकै धनी मान्छेका छोराछोरी पढ्ने गरेको उनले सुनाइन्।

 ‘म पढ्ने विद्यालयमा त गाडी उत्पादन गर्ने कम्पनीका मालिकका सन्तान पनि पढ्छन्,’ उनले हाँस्दै भनिन्, ‘तर मलाई ट्याक्सी चालककी छोरी भन्दा कुनै असजिलो लागेन।’

राम्रो वातावरणमा पढ्न पाए भविष्यबारे पनि राम्रै कल्पना गर्न सकिने उनको बुझाइ छ। उनी आफू गरिब परिवारको भए पनि अन्य धनी साथीजस्तै सपना देख्न सकेको उनले बताइन्। ‘त्यहाँ बसेर भविष्यबारे कल्पना गर्दा म कोही भन्दा पनि कम भइनँ,’ उनले भनिन्, ‘मैले सुरुवाती अध्ययन गरेको समता र अहिले पढेको कलेजका कारण आत्मविश्वास निकै बढेको महसुस भएको छ।’

साथीहरू निकै धनी भए पनि उत्तिकै मनकारी भएको उनको अनुभव छ। विभिन्न देशका साथीसँग संगत गरेकी उनले धनभन्दा पनि मान्छेको मन ठुलो रहेको सुनाउँछिन्।

‘मेरो एक जना साथी मनाल नाइजेरियाकी राजकुमारी रहेको कुरा मैले तीन वर्षपछि मात्र थाहा पाएँ,’ उनले भनिन्, ‘उनी यति नरम र सज्जन थिइन् कि हामीले उनी राजकुमारी होलिन् भन्ने कल्पनै गर्न सकेनौं।’

धनी साथीहरूले आफ्नो घरको धाक देखाउनेभन्दा पनि पढाइ र क्षमताका कुरा बढी गर्ने उनको बुझाइ छ। ‘हामी आआफ्ना देश र तिनमा भएका सम्भावनाका कुरा गर्थ्याैं,’ उनले भनिन्, ‘घरका व्यक्तिगत कुराहरू खासै हुँदैनथे।’

स्विजरल्यान्डको त्यो विद्यालय सिंगो संसारजस्तो लागेको उनले सुनाइन्। ‘विभिन्न देशका साथीहरूको संस्कृति र खानपानसँगै मलाई संसार भ्रमण गरेजस्तो हुन्थ्यो,’ उनी भन्छिन्, ‘मैले किताबी ज्ञानसँगै थुप्रै व्यावहारिक शिक्षा पनि पाएँ।’

अस्मिताले सन् २०२० मा स्विजरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन्। जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ। भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए। नेपालबाट व्यापारी उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन्।

यसै साता सम्पन्न उनको दीक्षान्त समारोहमा बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक पनि आएका थिए। बच्चनसँगै तस्बिर खिचाएकी उनले आफू नेपालको हुँ भन्दा बच्चन खुसी भएको सुनाइन्। ‘मैले म नेपालबाट भनेँ,’ अस्मिताले उनीसँगको भेट सम्झिँदै भनिन्, ‘अभिषेकले मुस्कुराउँदै पढाइबारे कुरा गर्नुभयो।’

पढाइ र प्रतिस्पर्धामा अब्बल भएका कारण अस्मिताले उक्त कलेजमा निःशुल्क पढ्ने अवसर पाएकी हुन्। उक्त कलेजमा नेपालबाट पनि विपन्न विद्यार्थीले पढ्न पाउनुपर्छ भनेर पहलकदमी भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले गरेका थिए। महतोले धनीका छोराछोरीले पढ्ने ठाउँमा गरिब परिवारका विद्यार्थीले पनि पढ्न पाउनुपर्छ भनेर पहल गर्दै आएका थिए।

महतोले आफ्नी छोरीले पढेको कलेजका प्रिन्सिपल रिचर्ड म्याकडोनाल्डलाई नेपाल बोलाए। सन् २०१९ मा स्कुलका प्रिन्सिपल रिचर्ड नेपाल आए। उनले समताको पढाइ र त्यहाँ पढ्ने विद्यार्थीको अवस्थामा चासो दिए। त्यसपछि उनले एक जना विद्यार्थीलाई छात्रवृत्ति दिने भन्दै विद्यार्थीको क्षमता मापन गरे। समतामै पढ्दै गरेका पाँच सय विद्यार्थीको विवरण संकलन गरेर स्विजरल्यान्ड गएका रिचर्डले अस्मिताको नाम छनोट गरेका हुन्।

समता स्कुलका संस्थापक उत्तम सन्जेलले अस्मिता निकै मेहनती रहेको सुनाउँछन्। ‘विपन्न परिवारमा जन्मे पनि मेहनती विद्यार्थीले राम्रो ठाउँमा अध्ययन गर्ने अवसर पाउनु निकै गौरवको कुरा हो,’ उनले भने, ‘हामी अस्मिताको थप अध्ययनका लागि पनि पहल गर्दैछौं।’

अस्मिताले कक्षा ६ देखि समतामा पढेकी हुन्। एसइईमा ३.९ जिपिए ल्याएर उत्तीर्ण गरेकी अस्मिताले आइग्लोनमा पढ्ने अवसर पाउँदा आफू असाध्यै खुसी भएको बताइन्। ‘मेरो जीवनमा त एकैपटक धेरै परिवर्तन भएको महसुस भएको छ। यो यात्रा मलाई एउटा सपनाजस्तो लागेको छ।’

उनी विदेशमै रहेको समयमा आमा कल्पना अधिकारीको निधन भयो। ‘मेरो जीवनमा सबैभन्दा खुसी आएको क्षणमा आमा साक्षी हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिले सफलताको बाटो तय गर्दै गर्दा आमाको कमी महसुस गरेकी छु।’

अस्मिताको लक्ष्य अक्सफोर्ड वा यस्तै विश्वस्तरका शैक्षिक संस्थामा पुगेर पिपिई (पोलिटिक्स, फिलोसफी, इकोनोमिक्स) पूरा गर्ने रहेको छ। त्यसका लागि उताको विद्यालय र यताको विद्यालय दुवैले तयारी गरिरहेका छन्।

विदेशमा बसेर पढे पनि उनले स्वदेशलाई बिर्सन नसकेको सुनाउँछिन्। ‘म पढाइ सकेर नेपाल आमाको उन्नतिका लागि काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘सयको स्कुलदेखि करोडको कलेजमा पढेर सिकेको कुरा यत्ति हो।’

प्रकाशित: २६ जेष्ठ २०८१ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App