१९ असार २०८१ बुधबार
image/svg+xml
कला

सन् २०२३ः बलिवुडमा राज गर्ने यी हुन् ५ अभिनेत्री

सन् २०२३ सकिनै लागेको छ। अबको केही घन्टा पछि सन् २०२४ अर्थात् अङ्ग्रेजी नयाँ वर्षको शुभारम्ब हुँनेछ। सन् २०२३ बलिवुडका लागि खासै उत्कृष्ट रहेन। तर, वर्षको अन्त्यतिर केही चलचित्रले बलिवुडको गम्दै गएको शानलाई जोगाउन ठूलो भूमिका निर्वाह गर्‍यो।  

हलिवुड होस् या कलिवुड अथवा बलिवुड नै किन नहोस् फिमेलभन्दा मेल क्यारेक्टरले सँधै बढी चर्चा पाउने गर्छन्। तर, सन् २०२३ मा बलिवुडका यी ५ अभिनेत्रीले राज गरेकी छन्। आफ्नो अभिनयले बलिवुडका यी पाँच अभिनेत्रीले सबैको मन मात्रै जितिनन् बलिवुड अभिनेत्रीले पनि धान्न सक्छ भन्ने सन्देश दिएकी छिन्।

यी हुन् बलिवुडका ५ अभिनेत्रीः

अदा शर्माः ‘द केरल स्टोरी’ मा मुख्य भूमिकामा रहेकी अदा शर्माले निकै चर्चा पाइन्। बक्स अफिसमा अदा शर्मा अभिनित चलचित्र ‘द केरल स्टोरी’ ले ३०० करोडभन्दा बढीको आम्दानी गर्‍यो। उनको अभिनयलाई आलोचक र दर्शकहरूले निकै सराहना गरे। अदाले राम्रो कन्टेन्ट भयो भने तपाईंभित्रको च्याम्पियनलाई बाहिर ल्याउनका लागि सहज हुने भन्ने कुरालाई पनि प्रमाणित गरिन्।  

आलिया भट्टः आलिया भट्टलाई आजको दिनमा बलिवुडमा कुनै परिचयको आवश्यकता छैन। पछिल्लो समय उनले अभिनय गरेका चलचित्रले उनलाई अलग पहिचान दिएको छ। त्यसैलाई कायम राख्दै सन् २०२३ मा पनि उनले आफूलाई स्थापित गराउन सफल भइन्। बलिवुड निर्माता निर्देशक करण जोहरको चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ मा फरक ढङ्गले प्रस्तुत भएकी आलियालाई दर्शकले निकै मन पराए र उनको अभिनयको सराहना पनि गरियो। बलिवुड बक्स अफिसमा रणवीर सिंह र आलिया अभिनित उक्त चलचित्रले राम्रो कमाई गर्नुका साथै चर्चा पनि पायो।  

दिपिका पादुकोणः सन् २०२३ दिपिका पादुकोणका लागि पनि निकै महत्त्वपूर्ण रह्यो। दिपिकाले अभिनय गरेका पठान, जवान लगायतका चलचित्रले बलिवुडमा धमाल नै मच्चायो। वर्षको सुरुवातमा पठान र वर्षको अन्त्यतिर जवान चलचित्रमा दमदार अभिनय गरेकी दिपिकाले आफूलाई फरक रुपमा प्रस्तुत गरिन्।

करिना कपुर खानः बलिवुडकी बेबो करिना कपुर खानले यसवर्ष ओटीटी प्ल्याटफर्ममा डेब्यु गरिन्। उनको पहिलो ओटीटी डेब्यु चलचित्र ‘जाने जा’ मा उनको दमदार अभिनय देख्न पाइयो। उनले आफ्नो अभिनयबाट दर्शकलाई चलचित्र हेर्न बाध्य मात्रै बनाइनन् शानदार प्रदर्शनका लागि उत्तम विकल्प रहेको पनि प्रमाणित गरिन्।

रानी मुखर्जीः रानी मुखर्जी कुनै समयको निकै चर्चित र लोकप्रिय अभिनेत्रीमध्यकी एक हुन्। तर, पछिल्लो समय बलिवुडमा खासै सक्रिय नरहेको उनले यो वर्ष भने निकै दमदार प्रस्तुतिका साथ बलिवुडमा देखिइन्। एनले अभिनय गरेको ‘मिसेज चटर्जी भर्सेज नर्वे’ नामक चलचित्रमा उनको अभिनयले उनलाई एकपटक फेरि ठूलो सफलता दिलायो। चलचित्रमा उनको अभिनय निकै सराहनीय थियो भने दर्शकले पनि निकै मन पराए।

प्रकाशित: १५ पुस २०८० ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App