२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

चल्न नसकेको ‘गोल्डेन जेनेरेसन’

बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ फुटबलरहरू जर्मनीबाट स्वदेश फर्किएपछि पल भ्यान हिमस्ट र एरिक गेरेट्सजस्ता पूर्वखेलाडी आफ्नो टोलीको प्रदर्शनलाई सम्झेर हाँसे भने माफ गर्न सकिन्छ। किनभने पछिल्लो एक दशक ‘ओभरहाइप’ पाएको यो टोलीले आशा गरेजस्तो प्रदर्शन कहिल्यै गर्न सकेको छैन।

रूस विश्वकपमा सेमिफाइनल, ब्राजिल विश्वकपमा क्वार्टरफाइनल र युरो कप (२०१६ र २०२०) मा दुई पटक अन्तिम आठमा पुग्नु नै यो टोलीको सर्वोत्कृष्ट प्रदर्शन थियो। यही प्रदर्शनलाई सुधार्दै बेल्जियमले कतार विश्वकप र युरो कप २०२४ मा सबैले अपेक्षा गरेअनुसार उपाधिनजिक पुगेको देख्न चाहेका थिए। तर, कतार विश्वकपमा समूहचरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेल्दै बाहिरिएको बेल्जियमको यो यात्रा यस पटक फ्रान्सले रोकिदियो।

बेल्जियमले ६ वर्षअघि विश्वविजेता टोलीहरूले जस्तै सानदार प्रदर्शन गरेको थियो। रूस विश्वकपको क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्नुले पनि यो कुरा प्रस्ट्याउँथ्यो। तर, इडेन हाजार्ड, भिन्सेन्ट कोम्पनी, थिबाउट कोर्टोइस, केभिन डी ब्रुएना र रोमेलु लुकाकुजस्ता खेलाडी खेल्दा पनि यो राष्ट्रले उपाधि जित्न त परै जाओस्, कुनै पनि ठूला प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गर्न सकेन। कप्तान डी ब्रुएना भन्छन्, ‘मैले सक्दो प्रयास गरें। तर, नतिजा हामीले चाहेजस्तो आएन। स्लोभाकियाविरुद्धको खेलमा पराजित भएपछि हामीले आत्मविश्वास गुमायौं।’

युरो कपमा समूहचरणदेखि नै बेल्जियमले आफ्नो स्वाभाविक लय गुमाएको थियो। फिफा वरीयतामा ४५औं स्थानमा रहेको स्लोभाकियासँग १–० गोलअन्तरले पराजित भयो भने युक्रेनसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो। उक्त नतिजासँगै समूह ‘ई’ को उपविजेता बनेर नकआउट चरणमा स्थान बनाएको बेल्जियमले लगातार विश्वकप फाइनलमा पुगेको फ्रान्सलाई प्रतिद्वन्द्वी पाएको थियो।

फिफा वरीयतामा तेस्रो स्थानमा रहेको बेल्जियमले आफूभन्दा एक स्थानमाथिको स्पेनविरुद्ध आक्रामक फुटबल देखाउन सकेन, जसका लागि टोली परिचित थियो। विश्वकै उत्कृष्ट आक्रामक खेलाडीमध्येका एक मानिने डी ब्रुएनालाई रक्षात्मक भूमिका झारिएको थियो। त्यसैले ड्युसेलडोर्फ एरिनामा सोमबार राति सम्पन्न खेलमा फ्रान्सका रक्षक र गोलरक्षकले खासै समस्या झेल्नुपरेन।

प्रतिस्थापित हुँदै मैदान प्रवेश गरेका रान्डाल कोलो मुआनीले खेलको ८५औं मिनेटमा प्रहार गरेको बल बेल्जियमका रक्षक जान भर्टोन्घेनलाई ‘डिफ्लेक्ट’ हुँदै जाली चुमेपछि फ्रान्सले अग्रता लिएको थियो। सोही गोल खेलमा निर्णायक बन्यो र फ्रान्स अघिल्लो चरणमा पुग्यो।

‘हामीले जुन योजना बनाएका थियौं, त्यसमा अडिग रह्यौं। पक्कै पनि फ्रान्सले हाम्रो पोस्टमा बढी प्रहार गर्‍यो। तर, हामीले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न सकेनौं,’ उनले भने। शुक्रबार आफ्नो ३३औं जन्मदिन मनाएका डी ब्रुएना संन्यासनजिक पुगिसकेका छन्। यद्यपि, आधुनिक खेलमा उपयोगी देखिएका उनले यस पटक सबैलाई प्रभावित पार्ने खेल देखाउन सकेनन्। 

उनी अहिले नै सन्यासबारे नसोचेको बताउँछन्। तर, सन् २०२६ मा क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्वकपमा उनी ३५ वर्ष पुग्नेछन्। इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्दै प्रिमियर लिग, लिग कप, एफए कप र च्याम्पियन्स लिगजस्ता सबै उत्कृष्ट प्रतियोगिताको ट्रफी उचालिसकेका उनले चोटका कारण गत सिजन अधिकांश खेल गुमाएका थिए।

उनीसँगै बेल्जियमको ‘ड्रेसिङ रुम सेअर’ गरेका हाजार्ड, कोम्पनी र कोर्टोइसजस्ता खेलाडीले आफ्नो टोलीलाई उपाधि दिलाउन नसेपछि यसअघि नै संन्यास लिइसकेका छन्। यी खेलाडीबिना मैदान उत्रिएको बेल्जियमले यसपटक पनि पहिलाको झैं चमत्कारी प्रदर्शन देखाउँछ भनेर आशा गरे पक्कै नाइन्साफी हुने थियो। तर, योभन्दा माथि पुग्ने अपेक्षा भने राख्न सकिन्थ्यो। यद्यपि, सर्वकालिक सर्वाधिक गोलकर्ता लुकाकुले चार खेलमा एक गोल पनि गर्न सकेनन्। ३१ वर्षीय लुकाकु प्रतियोगितामा थकित देखिएका थिए। उनी कुनै पनि खेलमा फुर्तिला देखिएनन्।  

कतार विश्वकपको अन्त्यसँगै रोबर्टो मार्टिनेज बाहिरिएपछि डोमेनिको टेडेस्कोले बेल्जियमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनकै नेतृत्वमा बेल्जियम छनोटमा शीर्ष स्थानमा रहेर युरो कपमा पुगेको थियो भने लुकाकु सर्वाधिक गोलकर्ता (१४ गोल) बनेका थिए। तर, प्रतियोगिताअघि प्रभावशाली देखिएको यो टोलीले जर्मनीमा त्यो लयलाई समात्न सकेन।

‘लुकाकुमाथि हाम्रो ठूलो भरोसा थियो। उनले कठिन प्रतियोगिता खेलेका थिए। तर, यस पटक उनी शून्य गोलका साथ घर फर्किएका छन्। यो मेरा लागि दुःखको कुरा हो,’ टेडेस्कोले भने। लगातार खराब प्रदर्शनले टोलीमा केही परिवर्तन गर्नुपर्छ भन्ने संकेत देखाएको छ। तर, टोलीमा परिवर्तन भए यो ‘गोल्डेन जेनेरेसन’ले अझैं केही वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षा गरिएअनुसार नतिजा हासिल गर्न पक्कै पनि संघर्ष गर्नुपर्छ।

प्रकाशित: १९ असार २०८१ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App