२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

रोमानिया र नेदरल्यान्ड्स आम्नेसाम्ने

रोमानिया र नेदरल्यान्ड्स युरो कपको अन्तिम १६ मा एकअर्काको सामना गर्दै छन् भन्नुमा अब आश्चर्यजनक लाग्ने छैन। रोमानियाले युक्रेनलाई ३–० गोलअन्तरले हराएको छ।

स्लोभाकियालाई बराबरीमा रोकेको रोमानियाले फिफा वरीयतामा आफूभन्दा ४४औं स्थान माथि रहेको बेल्जियमलाई पनि पछि पार्दै समूहचरणमा शीर्ष स्थानमा रहेर नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको छ।

त्यसैले अब रोमानियको लक्ष्य छ, यो लयलाई निरन्तरता दिने।रोमानिया आफैंमा सोचेभन्दा कमजोर टोली भने होइन। सन् २००० मा बेल्जियम र नेदरल्यान्ड्सले संयुक्त रूपमा आयोजना गरेको ११औं संस्करणको युरो कपमा रोमानिया समूहचरणमा शीर्ष दुईमा रहेर पहिलोपल्ट यसरी नै नकआउट चरणमा पुगेको थियो।

समूहचरणमा जर्मनीलाई १–१ को बराबरीमा रोकी इङ्ल्यान्डमाथि ३–२ को प्रभावशाली जित हासिल गरेको रोमानियाको यात्रा नकआउट चरणमा इटालीले रोक्यो। त्यसयता यो टोली तेस्रो पटक नकआउट चरणसम्म पुग्न सफल भएको हो।

रोमानियाका प्रशिक्षक एडवर्ड इओर्डानेस्कु भन्छन्, ‘हामी भविष्यमा के गर्न सक्छौं भन्ने मलाई थाहा छैन। तर, यहाँसम्म पुग्न पाउँदा निकै खुसी छौं । हामी सकेसम्म अगाडि जान चाहन्छौं।’ यता, सन् १९८८ को युरो कप विजेता नेदरल्यान्ड्सको कथा भने बिलकुलै फरक छ। सन् २००४ सम्म युरो कपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेदरल्यान्ड्स पछिल्ला तीन संस्करणमा त्यस्तै गर्व गर्नलायक प्रदर्शन गर्न चुक्दै आएको छ ।

यस पटक पनि उसले त्यस्तै इतिहास दोहोर्‍याएको छ। युवा र अनुभवी खेलाडीको साथ पाएको नेदरल्यान्ड्सले पोल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरे पनि अस्ट्रियासँग गरेको प्रदर्शनले उसको आगामी यात्रालाई लिएर चिन्ता व्यक्त गरिएको छ।

स्ट्राइकर मेम्फिस डेपेले भन्छन्, ‘परिणाम नआए माहोल बिग्रनु सामान्य कुरा हो। तर, हामीले अस्ट्रियासँगको पछिल्लो खेलबारे समीक्षा गरेका छौं। यस हारबाट हामीले पाठ सिक्नुपर्छ।’

समूहचरणका पहिलो दुई खेलमा एक जित र एक बराबरी खेल्दै नेदरल्यान्ड्सले युरो कप सुरु गरेको थिय। पोल्यान्डविरुद्धको पहिलो खेलमा तीन अंक सुरक्षित गरेको टोलीले फ्रान्सविरुद्ध गोलरहित बराबरी खेल्दै अन्तिम खेलमा समूहविजेता बन्ने अवसर पाएको थियो। तर, अस्ट्रियासँग ३–२ गोलअन्तरले पराजित हुनु नेदरल्यान्ड्सका लागि नसोचेको नतिजा बन्दियो।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा रहेको नेदरल्यान्ड्स निराशाजनक प्रदर्शनका बावजुद  लयमा फर्किने अपेक्षा गरिएको छ। लिभरपुलका कोडी गाक्पो अहिले उत्कृष्ट लयमा छन्। जारी प्रतियोगितामा दुई गोल गरेका उनले अन्तर्राष्ट्रिय करियरमा गोलसंख्या ११ पुर्‍याइसकेका छन्। उनीजस्तै डेपे पनि लय समातिरहेका छन्।

अस्ट्रियाविरुद्ध पहिलो गोल गरेका उनले रोमानियाविरुद्ध पनि यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यो जोडीले अहिलेसम्म बलियो देखिएको रोमानियाको डिफेन्स लाइनलाई समस्या खडा गर्ने अनुमान गर्न सकिन्छ। रोमानियाको डिफेन्स लाइनले पछिल्ला दुई खेलअघि लगातार तीन पटक ‘क्लिन सिट’ राखेको थियो।

यी दुई पक्षबीच यसअघि १३ पटक भेट भइसकेको छ। जसमा नेदरल्यान्ड्स नौ खेलमा विजयी हुँदा एक पटक मात्र हार बेहोरेको छ। यो हार सन् २००७ मा युरो कप छनोटका क्रममा भएको थियो। यी दुई टोली पछिल्लो पटक सन् २०१७ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भिडेका थिए।

उक्त खेलमा डेपे, रायन बाबेल र लुक डी जोङले नेदरल्यान्ड्सका लागि गोल गरेका थिए । त्यही लयलाई दोहोर्‍याउन सके नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा अस्ट्रिया र टर्कीबीचको विजेतासँगको भेट पक्का गर्नेछ।

प्रकाशित: १८ असार २०८१ ०६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App