२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजा र कास्की भिड्ने

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङ्जाले स्थान पक्का गरेको छ।

स्याङ्जा समुह ‘बी’ को खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो। बिहिबार हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ। कास्कीले यसअघि नै समुह ‘ए’ बाट फाइनलमा स्थान पक्का गरिसकेको थियो।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बलियो मानिएको नवलपुरलाई २ विकेटले पराजित गर्दै स्याङजा उपाधि नजिक प्रवेश गरेको हो।

फाइनल पुग्न निकै दबावका बाबजुत टस जितेर व्याटिङका लागि मैदानमा उत्रिएको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६.४ ओभरमा ७५ रन मात्रै बनाउन सक्यो।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके। त्यस्तै सुदीप अर्यालले १२ रनको योगदान दिए। पहिलो ओभरमा नै दुई विकेट गुमाउँदै दबावमा रहेको नवलपुर १३.६ ओभरमा ६८ रनमा ५ विकेट गुमाउन पुगेको थियो।

स्याङजाका लागि प्लेयर अफ दि म्याच समेत रहेका सन्दिप खत्री क्षेत्रीले २.४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने अंकित न्यौपानेले ३ ओभरको बलिङ स्पेलमा १३ रन खर्चिएर २ विकेट हात पारे।

यता जवाफि ब्याटिङका लागि मैदानमा उत्रिएको स्याङजालाई जितका लागि अन्तिम ओभर कुर्नु पर्यो। स्याङजाले १६.२ ओभरमा ८ विकेटको क्षतीमा ७९ रन बनाउँदै लक्ष्य भेटायो। स्याङजाका लागि अनिष ताम्राकारले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २२ रनको योगदान दिए। त्यस्तै इश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदिप पाण्डेले नट आउट रहँदै ११ रन बनाए। नवलपुरका लागि कमल परियारले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ३ विकेट लिंदा दिपक डुम्रेले ३ ओभरमा १ मेडनसहित ६ रन दिएर २ विकेट लिए।

फाइनल खेल विहिबार हुनेछ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार एकलाख र उपविजेता टिमलाई नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। यसैगरि महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ।

प्रकाशित: ५ असार २०८१ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App