२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

यू-१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा आजदेखि यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु हुँदैछ। पहिलो पटक हुन लागेको यू–१५ विद्यालय खेलकुद प्रतियोगिगताको तयारी पूरा भएको छ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले जानकारी दिए। 'विद्यालय बाटै खेलकुदको विकास गर्ने लक्ष्यसहित पहिलो पटक यू–१५ विद्यालयक खेलकुद हुन लागेको छ। यसको सबै तयारी पूरा भएको छ। ब्याडमिन्टनको इभेन्टहरु भने मंगलबारदेखि सुरु भइसकेको छ,' सदस्य–सचिव शर्माले पत्रकार सम्मेलनमा भने।

प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागि हुनेछन्। प्रत्येक प्रदेशबाट समान ७६–७६ खेलाडी, ८ प्रशिक्षक र ६ व्यवस्थापक सहभागी हुने छन्।

प्रतियोगितामा विभिन्न ६ खेलको प्रतिस्पर्धा हुनेछ। एथ्लेटिक्स, बास्केटबल, रग्वी, ब्याडमिन्टन, टेबल टेनिस र चेसमा प्रतिस्पर्धा हुनेछ। ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ।

पहिलो संस्करणमा ६ खेललाई मात्र समावेश गरिएको र आगामी वर्षहरुमा खेल संख्यालाई बढाउदै लैजाने शर्माले जानकार दिए।

प्रतियोगिता आयोजक कमिटीका सदस्य राजकुमार कार्कीले ओलम्पिकमा खेलिने खेल, विद्यालयमा स्तरमा पनि खेलिने खेल र राष्ट्रपति रनिङ शिल्डमा समावेश एथलेटिक्स बाहेकका खेलललाई पनि प्रवद्र्धन गर्नुपर्ने भएकोले अहिले ६ खेल छनोट गरिएको बताए।'फादर अफ स्पोर्ट्स एथ्लेटिक्स मुख्य खेल भएकोले समावेश गर्नु पर्‍यो। ओलम्पिकमा समावेश हुने गेमहरु, राष्ट्रपति रनिङ शिल्डमा समावेश भएका बाहेक अरु खेललाई पनि आयोजना गर्नुपर्छ भन्ने योजना अनुसार अहिले हामीले गण्डकी प्रदेशसंग समन्वय र छलफल गरेर नै ६ खेल राखेका हौँ।'

नेपाल विद्यालयक खेलकुद महासंघका महासचिव समेत रहेका कार्कीले स्कुलस्तर देखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दा खेलकुदको जग बलियो र यहीँबाट भविष्यमा ओलम्पियन जन्मने धारणा व्यक्त गरे।

एथ्लेटिक्समा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सटपुट, लङजम्प र ४ गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ। ब्याडमिन्टन र टेबलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच–पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ। बुद्धिचालमा छात्र/छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ।

एथ्लेटिक्समा छात्र र छात्रा दुवैमा ६–६, ब्याडमिन्टनमा र टेबलटेनिसमा छात्र र छात्रा ४–४, बुद्धिचालमा ४ खेलाडी सहभागी हुने छन्। रग्वीमा र बास्केटबलमा छात्र र छात्रामा १०–१० खेलाडी सहभागी हुनेछन्।

पाँचै खेलको प्रतिस्पर्धा पोखरा रंगशाला हातामा हुनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन बुधबार दिउँसो ३ बजे हुने प्रदेश परिषद् गण्डकीका सदस्य–सचिव शर्माले जानकारी दिए। ब्याडमिन्टनको प्रतिस्पर्धा भने मंगलबारदेखि नै सुरु भइसकेको छ।

प्रतियोगिता सञ्चालन गर्न कूल १ करोड ८२ लाख बजेट छुट्याइएको छ। त्यसमा १ करोड ५० लाख राष्ट्रिय खेलकुद परिषद् र बाँकी ३२ लाख प्रदेश खेलकुद परिषद् गण्डकीले व्यहोर्ने सदस्य(सचिव शर्माले जानकारी दिए।

प्रकाशित: ३० जेष्ठ २०८१ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App