२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ–१ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

तनहुँ जिल्ला भलिबल सङ्घले आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रममा बाेल्दै उनले नेपालकै मध्य भागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन योजनाबद्ध ढङ्गले लाग्नुपर्ने बताए।

डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको बताए। उनले भने, ‘खेलकुदमा नेपालले धेरै प्रगति गरेको छ। अहिलेको बजेटमा पनि खेलकुदतर्फको रकम केही वृद्धि भएको छ’, उनले भने, ’खेलकुदको विकासका लागि सरकारका तर्फबाट पहल हुनुपर्छ। यहाँ खेलकुद विकासका लागि के गर्न सकिन्छ त्यसबारेमा सम्बन्धित पक्षसँग पहल गर्नेछौँ।’

उनले नेपालमा खेलकुद कूटनीतिलाई अगाडि बढाउनुपर्ने अवस्था समेत औँल्याए। नेपालमा केही भएन भन्ने युवामाझ नैराश्य मात्रै रहेकाले त्यस्तो भाष्यलाई चिर्न अब कुराभन्दा काममा जोड दिनुपर्ने उनको भनाइ थियो।

आज घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ। दुवै टिमले एक–एक सेट जितेपछि तेस्रो सेट खेल्दै गर्दा खेल स्थगित भएको हो।

भिमाद नगरपालिकालाई हराउँदै शुक्लागण्डकी नगरपालिका फाइनलमा पुगेको थियो। शुक्लागण्डकीले भिमादलाई सोझो सेटमा पराजित गरेको थियो।

त्यस्तै ऋषिङ गाउँपालिकालाई हराउँदै घिरिङले फाइनलयात्रा तय गरेको थियो। घिरिङले पनि ऋषिङलाई सोझो सेटमा हराएको हो। तेस्रो स्थानका लागि भिमाद र ऋषिङबीच खेल भएकामा भिमाद तेस्रो भएको छ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख एक हजार एक सय ११,  द्वितीयलाई ५१ हजार एक सय र तेस्रो हुनेलाई २५ हजार एक सय ११ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घका महाससचिव अशोक गिरीले जानकारी दिए।

प्रतियोगितामा जिल्लाका आँबुखैरेनी गाउँपालिकाबाहेक नौवटा पालिकाको सहभागिता रहेको थियो। प्रतियोगितामा व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा ऋषिङ, घिरिङ, म्याग्दे, बन्दीपुर र देवघाट गाउँपालिकाको सहभागिता जनाएका छन्।  

प्रकाशित: १९ जेष्ठ २०८१ १७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App