२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

इन्डो–नेपाल टी– २० च्याम्पियनसिप : उपाधिका लागि मधेस प्रदेश र तालतला भिड्दै आज

चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेटमा उपाधिका लागि मधेस प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाताबीच आज प्रतिस्पर्धा हुँदै छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई दुई विकेटले पराजित गर्दै मधेस प्रदेश फाइनलमा पुगेको थियाे।  

जितको लागि लखनउले दिएको १४८ रनको लक्ष्य मधेस प्रदेशले १९।४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेकाे थियो। मधेसलाई जित्न अन्तिम ओभरमा ११ रन आवश्यकता थियो। पहिलो बलमा प्रदीप पासवान रनआउट भएका थिए। दोस्रो बलमा अभिषेक तिवारीले रन जोड्न सकेका थिएनन्।

तिवारीले नै तेस्रो र चौथो बलमा लगातार दुई छक्का प्रहार गर्दै मधेसलाई जित दिलाएका थिए। मधेसका लागि तिवारीले २३ रन बनाए। उनले दुई चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै रोहन विकले ५० बलमा ८३ रन बनाएका थिए। उनले ६ चौका र ६ नै छक्का प्रहार गरे। उनकै महत्वपूर्ण पारीले मधेसले बलियो टोली लखनउलाई पराजित गर्न सफल भएकाे थियो।  

लखनउका लागि प्रिन्स शाहीले चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिँदा मोहम्मद सरिम र कार्तिक यादवले समान एक विकेट लिएका थिए।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले आठ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। नखनउका लागि सन्दीप मित्तलले ३६, निखिल रावले २३ रन बनाएका थिए।

मधेसका लागि भुलन सहनीले तीन, विशाल पटेल र अभिषेक तिवारीले समान एक विकेट लिए। खेलमा महŒवपूर्ण पारी खेलेका मधेसका रोहन विक प्लेयर अफ द म्याच घोषित भएका थिए।

मधेस लिग चरणमा लखनउसँग पराजित हुँदै चौथो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो भने लखनउ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो।

यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै अर्को भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता फाइनलमा पुगेको थियाे।

सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य कोलकाताले १५।३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेकाे थियो। कोलकातालाई सहज जित दिलाउन विकास चौधरीले ७१ रनको विस्फोटक पारी खेलेका थिए। उनले ४२ बलमा पाँच छक्का र ६ चौका प्रहार गरेका थिए। रमन कदयनले ३७ बलमा तीन छक्का र सात चौकाको मद्दतमा ६० रन बनाए भने कुनाल नगरले ६ बलमा १३ रन बनाए।  

सुदूरपश्चिमका लागि नरेन साउदले दुई र दीपक बोहोराले एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १४४ रनमा अलआउट भयो। सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ५८ रन बनाए। उनले ४३ बलमा एक छक्का र ६ चौका प्रहार गरे। वसन्त कार्कीले १९ बलमा ३४, दीपक बोहोराले १३ बलमा १५ रन बनाए।

कोलकाताका सन्दीप गुप्ताले चार, सौरभ यादवले तीन र अभिषेक सिंह, प्रशान्त एवं मिलन यादवले समान एक विकेट लिए। खेलमा कोलकाताका विकास चौधरी प्लेयर अफ द म्याच घोषित भए।

प्रकाशित: १७ चैत्र २०८० ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App