बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
इटहरी रंगशालामा सोमबार राति निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा बिर्तामोडका विवेक पौडेल, आशिष चापागार्इं र देवेन्द्र तामाङको प्रहार विफल हुँदा विशाल दर्जी र मौसम सुब्बाको प्रहार मात्र गोलमा परिणत हुन पुग्यो।
आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेमान घलेले गोल गरे। कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोके।
त्यसअघि निर्धारित समयको ८१औं मिनेटमा आर्मीका आशिष चापागार्इंले पेनाल्टीमार्फत गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ६ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
सोमबार म्यान अफ द म्याच आर्मीका गोलकिपर विकेश कुथु घोषित भए। उनले नगद १० हजार पाए। मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडाैं र एनआरटीबीच प्रतिस्पर्धा हुने आयोजक राष्टिय जागृति क्लबले जनाएको छ।
प्रकाशित: १४ चैत्र २०८० ०६:५० बुधबार