२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रजातन्त्र दिवसको अवसरमा सरसफाई तथा खाद्यान्न वितरण

बादी बालिकाका लागि खाद्यान्न वितरण गर्दै मुख्यमन्त्री शाही। तस्बिर: नगेन्द्र उपाध्याय/नागरिक

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर कर्णाली प्रदेश सरकारले सरसफाई कार्यक्रमदेखि विभिन्न आश्रमहरुमा खाद्यान्न सहयोग गरेको छ । प्रदेश सरकारले शनिबार बिहान सहिद पार्कमा सरसफाई कार्यक्रमको आयोजना गरेको थियो भने दिउँसो मानव सेवा आश्रम, प्रशान्ति बृद्धाश्रम र वादी सरोकार मञ्चमा पुगेर खाद्यान्न तथा सरसफाईका सामाग्री वितरण गरेको थियो।

सरसफाई कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीसँगै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया, सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कार्चेन लामा, नेपाली सेना, नेपाल प्रहरीलगायतको सहभागिता रहेको थियो।

सरसफाई कार्यक्रमपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले सहिदले बगाएको रगतबाट प्राप्त उपलब्धीको रक्षा गर्नु सबैको दायित्व भएको बताए। ‘निरंकुशता विरुद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप राष्ट्रिय प्रजातन्त्र दिवस बनाउँदैछौं,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रजातन्त्र प्राप्तीपछि पनि नेपालमा विभिन्न कालखण्डमा आन्दोलनहरु भएका छन्, ति आन्दोलनबाट प्राप्त उपब्धीहरुको रक्षामा हामी सबै लाग्नु आवश्यक छ।’

सहिद पार्कभित्र सहिद स्तम्भ निर्माण गरिएको छ। प्रदेश सरकारले पहिलो पटक प्रजातन्त्र दिवसको अवसर पारेर सहिद पार्कमा कार्यक्रम गरेको हो। मुख्यमन्त्री शाहीले सहिद स्मारकमा माल्यार्पण गरेर सहिदको सम्झना गरे।

खाद्यान्न वितरण

सहिद दिवसको अवसर पारेर प्रदेश सरकारले मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ। मुख्यमन्त्री शाहीले आश्रमा आश्रित सहयोगापेक्षी मानवहरुको सेवाका लागि प्रदेश सरकार तयार रहेको बताए। उनले चालू आर्थिक वर्षमा आश्रममा रहेका सहयोगापेक्षी मानवहरुलाई प्रदेश सरकारले ३० लाख रुपैयाँ छुट्याएको जानकारी दिए।  

बादी सरोकार मञ्चको आश्रयमा रहेका ८० जना बालबालिकाहरुलाई पनि प्रदेश सरकारले खाद्यान्न सहयोग गरेको छ। विभिन्न आठ जिल्लाका बादी समुदायका बालबालिकाको आश्रयस्थललाई प्रदेश सरकारले थप सहयोग गर्ने उनले जानकारी दिए। मुख्यमन्त्री शाहीले बालबालिकाको शिक्षा राज्यको दायित्व भएकाले मञ्चको आश्रयमा रहेका बालबालिका पढाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए।

यस्तै, प्रशान्ति बृद्धाश्रममा पुगेर मुख्यमन्त्री शाहीले भौतिक संरचना निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले ४० लाख रुपैयाँ उपलब्ध गराउने बताए। आश्रममा २८ जना बृद्धबृद्धाहरु आश्रीत छन्।

मुख्यमन्त्रीद्वारा आर्थिक सहयोग

मुख्यमन्त्री शाहीले प्रजातन्त्र दिवसको अवसर पारेर भएका विभिन्न कार्यक्रममा व्यक्तिगत सहयोग गरेका छन्। उनले सहिद पार्कमा पानीको फोहरामाथि बन्दै गरेको भगवान शिवको मूर्ति निर्माणमा लाग्ने खर्च पार्कका अध्यक्ष अमर कार्कीलाई हस्तान्तरण गरे। सहिद पार्कभित्रको मुख्य पानीको फोहरास्थलमा पार्क व्यवस्थापनले शिवको मूर्ति राख्दै छ। ‘मुख्यमन्त्रीज्यूले शिवको मूर्तिमा लाग्ने आवश्यक खर्च हस्तान्तरण गर्नुभयो,’ अध्यक्ष कार्कीले भने, ‘अव मूर्ति निर्माणमा लाग्ने खर्चले अर्को कुनै संरचना निर्माण गछौं।’

मुख्यमन्त्री शाहीले बादी सरोकार मञ्चको आश्रयमा रहेका ८० जना बालबालिकाका लागि विद्यालय पोशाकमा लाग्ने खर्च आफूले व्यहोर्ने बताए। ‘पाँचदेखि १६ वर्षसम्मका बालबालिकाका लागि लाग्ने विद्यालय पोशाकको खर्च मुख्यमन्त्रीज्यूले व्यक्तिगत रुपमा व्यहोर्ने बताउनु भएको छ,’ मञ्चका अध्यक्ष हिक्मत बादीले भने, ‘यसबाट हामीलाई ठूलो राहत भएको छ।’

उनले बालबालिकालाई विहान–बेलुकाको छाक खुवाउन समस्या भइरहेको बेला मुख्यमन्त्रीबाट खाद्यान्नसहित बालबालिकाको विद्यालय पोशाकको पनि आश्वासन पाएको बताए।

प्रकाशित: ७ फाल्गुन २०७८ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App