नेपाल पत्रकार महासंघ बाँके शाखाले एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरेको छ।
कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागिएको अध्यक्ष दामोदर भण्डारीले बताए।
‘सामान्य अवस्थामा समेत बिरामीको चाप बढ्दो छ, त्यसैले जो कोहीलाई पनि कुनैबेला एम्बुलेन्सको अभाव र आवश्यकता हुन्छ,’ भण्डारीले नागरिकसँग भने ‘पत्रकार तथा आम नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गर्न लागेका हौं।’
उनका अनुसार एम्बुलेन्स खरिदको प्रक्रिया चाँडै अगाडि बढाइनेछ। एम्बुलेन्स खरिद गरिसकेपछि सञ्चालन र व्यवस्थापनको सम्पूर्ण काम महासंघ बाँके शाखाले नै गर्ने अध्यक्ष भण्डारीले सुनाए।
एम्बुलेन्स सञ्चालन गर्नेमा बाँके सम्भवतः मुलुककै पहिलो शाखा हुने दाबी गरिएको छ। शाखाको शुक्रबार सम्पन्न बैठकले पनि एम्बुलेन्स खरिद गर्ने निर्णय गरिसकेको छ।
शाखा सचिव कमल डाँगीका अनुसार मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा ७ सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ।
एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी÷गैरसरकारी निकाय सबैलाई सार्वजनिक रुपमा आब्हान गरिएको सचिव डाँगीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
महासंघ बाँके शाखाले कोरोना महामारीलाई लक्षित गर्दै पत्रकारका लागि निःशुल्क रुपमा विशेषज्ञ सेवा पनि प्रदान गर्दै आएको छ। शाखाले कोरोना महामारी अवधिभरका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत फिजिसियन तथा फोक्सो रोग विशेषज्ञ डा. सुवास योगीलाई स्वास्थ्य परामर्शदाताको रुपमा नियुक्त गरेको छ।
बाँकेका थुप्रै पत्रकारले अहिले निःशुल्क रुपमा उपचार तथा परामर्श लिइरहेको अध्यक्ष भण्डारीले सुनाए। ‘होम आइसोलेसनमा बसेका थुप्रै पत्रकारको घरमा पुगेर डा. योगीले उपचार गरिरहनु भएको छ, म आफैले पनि उहाँलाई पत्रकारको घरदैलोसम्म पुर्याउने काम गरिरहेको छु,’ भण्डारीले भने।
महासंघ अध्यक्ष दामोदर भण्डारी र डा.योगीबीच गत सोमबार निःशुल्क उपचार तथा परामर्शका लागि सम्झौता भएको थियो। कोरोनाबाट अहिलेसम्म करिव दुई दर्जन पत्रकार संक्रमित भइसकेका छन्।
प्रकाशित: ३१ वैशाख २०७८ १३:१३ शुक्रबार