२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

अप्रेशन अफिम

थवाङमा अफिम खेती नस्ट गर्दै प्रहरी । बरमद गरिएको लागुऔषध अफिम ।

थवाङ गाउँपालिका छेर्लावाङस्थित गाउँको गोरेटो बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुईजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरुमा मुली झाक्रीमगर र विनज्योति रोकामगर रहेका छन्। २०७७ असोज ५ गते बेलुका उनीहरुको शरीर तथा निजहरुले बोकेको झोलाबाट ४ किलो ९ सय ३५ ग्राम तथा विनज्योती रोकामगरले बोकेको झोलाभित्र लागुऔषध (अफिम) ४ किलो ८ सय ८५ ग्राम, भारतीय सिक्का थान–१, नेपाल सरकार लेखेको सिक्का थान–९, ५ सय ग्रामको ढक थान–१ र तौल गर्ने तराजु थान–१, बरामद गरीएको थियो। बरामद गरीएका लागुऔषध र उनीहरु दुबै जनालाई पक्राउ गरी कानुनी उपचारका लागि अदालत पुर्‍याएको छ।

२०७७ फाल्गुन २० गते थवाङका रामधन बुढाको घरमा निज र सुकलाल घर्तिमगरले लागुऔषध अफिम ५ किलो १ सय ग्राम, र बिभिन्न नापका ढकहरु थान ८ र तराजु थान–१, थवाङ गाउँपालिका लेखेको कालो झोला सो झोलाभित्र टेक बहादुर डाँगी नामको नेपाल बैंक र जनता बैंकको चेक १÷१ थान, तराजु थान–१ बिभिन्न कृषि फर्मका छाप थान – ३ समेत फेला पारेकोले बरामद गरी निज रामधन बुढा र सुकलाल घर्तिमगरलाई पक्राउ गरेको छ।

२०७७ असोज १७ गते सुनिलस्मृती गाउँपालिका वडा नं २ खुङ्ग्री स्थितमा रोल्पाबाट दाङतर्फ जाँदै गरेको बा. १५ च. ३७७६ नंम्बरको स्कारपियो गाडीको डिक्कीमा ४ के.जी. ३ सय ग्राम अवैध कालो रङको लागू औषध फेला परेको थियो। सोही गाडीमा यात्रा गरेका मोतिलाल परियारको झोलाबाट ४ के.जी. कालो पदार्थ फेला परेकोले कानुनी उपचारका लागि जिल्ला अदालतमा पेश गरिएको छ।

२०७७ मंसिर १७ गते सुनिलस्मृति गाउँपालिका सुलिचौर बसपार्क स्थित सडकमा चेकजाँच गर्ने क्रममा सुनछहरी गाउँपालिका ७ का जुनिलाल बुढाले बोकेको पलास्टिकको बोराभित्र लागुऔषध (चरेस) ६ के.जी. फेला परेकोले उक्त लागुऔषधसहित निजलाई पक्राउ गरी अनुसन्धान पश्चात् रोल्पा जिल्ला अदालतमा पेश गरिएको छ।

ठूलो परिमाणमा लागुऔषध गाजा र अफिम पक्राउ हुन थालेपछि रोल्पा प्रहरीले सकृयता बढाएको छ। पछिल्लो समय प्रहरीले अफिम खेती नस्ट गर्न सुरु गरेको छ। समय समयमा जिल्ला र जिल्ला बाहिर बरामद हुने लागुऔषधका ढुवानी कर्ताहरु रोल्पाली पर्न थाले पछि रोल्पा प्रहरीले यतातिर चासो बढाएको हो।  

बिगत ६ महिनामा २४ किलो अफिम र ६ किलो चरेस पक्राउ गरेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए। यसरी पक्राउ पर्नेहरु प्रायः थवाङका स्थानीय भएपछि प्रहरीले थवाङ केन्द्रित रहेर अफिमको अप्रेसन सुरु गरेको जनाएको छ। थवाङमा केही दिनअघि २ कठ्ठामा खेती गरिएको अफिम नस्ट गरेको प्रहरीले मंगलवार ३ कठ्ठामा लगाईएको अफिम नस्ट गरेको छ। ‘ठूलो जंगलको बीचमा ऐलानी जग्गा अतिक्रमण गरेर खेती गरिएको अफिम नस्ट गरेका हौ।’ रोल्पा प्रहरी प्रमुख नरेश राज सुवेदीले भने ‘बीच जंगलमा बार लगाएर खेती गरिएको थियो। खेती कसको भन्ने खुलेको छैन।’  

प्रहरीका अनुसार यसरी उत्पादन गरिएको अफिम प्रायः भारत लैजाने गर्दछन्। संगठित अपराध भएकाले जडसम्म पुग्न कठिन भएको प्रहरीले बताउने गरेको छ। ‘कानुन तह अफिम खेती जघन्य अपराध हो।’ प्रहरी नायब उपरीक्षक नरेश राज सुवेदीले भने ‘दश वर्षमाथि सजाय हुने केस जघन्य अपराध मानिन्छ।’ हरेक वर्ष जिल्लामा लागुऔषध बरामद गर्ने गरिए पनि कारोबारीसम्म प्रहरी पुग्न सकेको पाईदैन। ढुवानी गर्नेहरु मात्रै पक्राउ पर्ने तर मुख्य अपराधीहरु कहिल्यै कानुनको दायरामा आउन नसकेको गुनासो पनि आउने गरेको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App