२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मलेसियामा हात खुट्टा भाँचिदा अशक्त

खुट्टाको भाँचिएको भाग देखाउँदै रामप्रसाद आचार्य। तस्बिर : दमन राई/नागरिक

खोटाङ – वैदेशिक रोजगार सोचेजस्तो सहज छैन। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई वैदेशिक रोजगारको यात्रा।

पहिलोपल्ट मलेसियाबाट घाइते भएर फर्किएका आचार्य पुःन मलेसिया पुगेको दोश्रोपल्ट पूर्ण अशक्त बनेर घर फर्किएका छन्। सुरुमा २०५८ सालमा मेनपावरलाई ८५ हजार बुझाएर पहिलोपल्ट मलेसिया पुगेका आचार्य प्लाई उड बनाउनेक्रममा मेसिनको तार छिनेर एक तलामाथिबाट पछारिएका थिए। टाउकाको पछिल्तर र देब्रे खुट्टाको गोली गाँठोछेउमा चोट लाग्दा दुई/तीन महिना उपचार र आराम गरेर घर फर्कीएको आचार्य बताउँछन्।

घाइते ज्यान लिएर घर फर्किए पनि मलेसिया जाँदा लागेको ऋण तिर्ने बिकल्प थिएन। मलेसियामा पहिलोपल्ट लागेको घाउ निको हुँदै गयो। ऋण तिर्ने विकल्पमा एजेण्टलाई १ लाख १५ हजार बुझाएर पुःन उनी कतार पुगे। करिब ६ वर्ष कतार बसेपछि ३ लाख रुपैयाँ जम्मा गरेर आचार्य २०६५ सालमा घर फर्किए।

कतारबाट फर्किएको लामो समयसम्म घरै बसेर दुःखसुख गरेका आचार्यको वैदेसिक रोजगार मोह मरेन। रोजगारका लागि आचार्य झण्डै ७ वर्षपछि दोश्रोपल्ट २०७२ सालमा मलेसिया पुगे। मलेसियामा निर्माणाधिन अग्लो बिल्डिङको लिफ्ट नजिक वायरिङका काम गर्नेक्रममा उनी लडेर भुइँमा पछारिए। मलेसिया पुगेको चार महिनामै निर्माणाधिन भवनबाट खसेका आचार्यको टाउकोको बायाँपट्टी अर्को ठूलो चोट थपियो। देब्रे खुट्टाको फिला तेर्सो भाँचियो। देब्रे हातकै हत्केलामाथिको नाडी पनि भाँचियो। संयोगवस आचार्यको ज्यान बच्यो तर उनी सँधैका लागि अशक्त बने।

उपचारपछि २०७३ साल मंसिरमा घर फर्किएका आचार्य २०७४ साल कार्तिक-७ गतेदेखि माघसम्म बीपिकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बसेर देब्रे हातको स्टील झिकियो। उनको खुट्टाको स्टील झिक्न बाँकी नै छ। ‘पहिला धरान गइयो तर स्टील झिक्न सकेन, दोश्रो पल्ट घोपा पुग्दा डाक्टर पशुपती चौधरीले हातको स्टील निकालिदिनुभयो,’ आचार्यले भने, ‘खुट्टाको स्टील झिक्न बाँकी नै छ। त्यो अलि पछि निकाल्नु पर्छ रे। अशक्त भएका कारण मलेसिया पुगेको ९ महिनामै उनी घर फर्किएका हुन्।

उपचार गर्नेक्रममा भएकाे रकम पनि सकियाे उनले भने। घाइते भएका कारण आचार्यको भाँचिएको खुट्टाले राम्ररी काम गर्दैन। हिँडडुल गर्न सकस पर्छ। हातको स्टील झिके पनि भर छैन।  सम्पत्ती कमाउने सपनामा बिदेशबाट अशक्त बनेर फर्किएका आचार्य हाल परिवारसँग घरैमा व्यवसाय सुरु गरेका छन्। आचार्य परिवार दुःखसुख गर्दै २ छोरालाई पढाइरहेकाे छ।

प्रकाशित: १४ असार २०७५ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App