२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा १५ प्रतिशत रोपाइँ

उदयपुरमा राष्ट्रिय धान दिवसको अवसरमा शनिबार सामूहिक रोपाइँ गरिँदै। तस्बिर: महेश्वर/नागरिक

हरेक असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरिन्छ। सोही क्रममा शनिबार उदयपुरमा पनि विविध कार्यक्रम गरी २१औं राष्ट्रिय धान दिवस मनाइएको छ। सदरमुकाम गाईघाटलागयत विभिन्न स्थानीय तहहरूमा आआफ्नौ तरिकाले दिवस मनाइएको हो।

त्रियुगामा प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर, त्रियुगा नगरप्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई, कृषि ज्ञानकेन्द्र प्रमुख योगेन्द्र यादव तथा स्थानीय कृषकको सहभागितामा सामूहिक रोपाइँ गरेर दिवस मनाइएको छ। कृषि ज्ञान केन्द्र, त्रियुगा नगर, प्रधानमन्त्री कृषि परियोजना (जोन), वडा कार्यालयको संयुक्त आयोजनामा आयोजित सामूहिक रोपाइँमा वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारी, पेसा व्यवसायी र पत्रकारको पनि सहभागिता थियो।

सदरमुकाम त्रियुगासँगै जिल्लाका कटारी, बेलका, चौदण्डीगढी नगर तथा रौतामाई, ताप्ली, उदयपुरगढी र लिमचुङबुङ गाउँपालिकामा पनि सामूहिक रोपाइँ गरेर यस वर्षको धान दिवस मनाइएको छ। कटारी नगरपालिका कृषि शाखाको आयोजनामा स्थानीय किसानको खेतमा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का र वडाध्यक्ष तथा कर्मचारीले सामूहिक रोपाइँ गरे।

चौदण्डीगढी नगरपालिकाको बेलटारमा पनि स्थानीय कृषि शाखाको आयोजनामा सामूहिक रोपाइँ गरियो। प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठका अनुसार नगरप्रमुख कालुमान लामा र उपप्रमुख मणिकादेवी दुलाललगायत जनप्रतिनिधि र कर्मचारी तथा किसान रोपाइँमा सहभागी थिए।

त्यसैगरी उदयपुरगढीको नेपालटारमा फराकिलो खेतमा सामूहिक रोपाइँ गरियो। नेपालटारको रोपाइँमा मन्त्री मगर, गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाइँ, वडाध्यक्षहरू तथा कृषि शाखाका कर्मचारीसँगै स्थानीय अगुवा र किसानको सहभागिता थियो।

रौतामाई गाउँपालिकाको भुट्टारमा पनि सामूहिक रोपाइँ गर्दै दिवस मनाइएको छ। कृषि शाखाको आयोजनामा भएको सामूहिक रोपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरेन्द्र मगर, उपाध्यक्ष भूपेन्द्र थापा, वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारी र किसानको सहभागिता रहेको लेखा अधिकृत भूपध्जव रायमाझीले बताए।

ताप्ली गाउँपालिकाको रूपाटारमा पनि स्थानीय सरकारको आयोजनामा सामूहिक रोपाइँ गरिएको छ। अध्यक्ष ढुंगराज विक, उपाध्यक्ष धनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत भक्त राई, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि रोपाइँमा सहभागी भएका थिए।

उता लिमचुङबुङ गाउँपालिकाले पनि स्थानीयको खेतमा सामूहिक रोपाइँ कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। गाउँपालिका कृषि शाखाको आयोजनामा भएको रोपाइँमा जनप्रतिनिधि, कर्मचारी, किसान र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको कर्मचारी ज्ञानेन्द्र राईले बताए।

धान दिवससम्म आइपुग्दा उदयपुरमा १५ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। ज्ञान केन्द्र प्रमुख यादवका अनुसार यस वर्ष समयमै वर्षा भएकाले रोपाइँ धमाधम भइरहेको छ। विगतमा ढिला वर्षा भएको र रोपाइँ गर्न नपाएका किसानलाई यस वर्ष रोपाइँ गर्न सहज भइरहेको यादवले बताए।

यादवका अनुसार खासगरी सिचाइँ सुविधा नभएका खेतमा बर्खे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता किसानलाई छ। तर, बेलैमा वर्षा भएपछि किसान हौसिएर रोपाईमा लागिरहेको उनले बताए।

ज्ञान केन्द्रका अनुसार समयमै वर्षाले साथ दिएकाले रोपाइँ बेलैमा भइसक्ने अनुमान गरिएको र धान उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ। वर्षा समयमै भएपछि सिचाइँ सुविधा नपुगेको ठाउँमा पनि रोपाइँ गर्न सजिलो हुने हुँदा यस वर्ष छिट्टै रोपाइँको काम सकिने अनुमान गरिएको केन्द्रकी बाली विकास अधिकृत फुलमाया शेर्पाले बताइन्।

शेर्पाका अनुसार उदयपुरमा १४ हजार २५० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। जसमध्ये समथर भूभाग र सिचाइँ सुविधा पुगेका तथा बर्खे पानीबाट खेती हुने जमिन बेलका, चौदण्डीगढी, कटारी र त्रियुगा नगरपालिका रहेका छन्। यी स्थानीय तहका भूभाग धान खेतीका लागि उर्वर मानिएका क्षेत्र हुन्।

जिल्लाका पहाडी स्थानीय तहहरू ताप्ली, रौतामाई, उदयपुरगढी र लिमचुङबुङमा पनि खेती लगाउने गरिएको छ। तर, ती स्थानीय तहमा चाहिँ खोला मुहानबाट सिचाइँ हुने बेँसी, खोँच र खोलाखोल्सीमा मात्र धान खेती हुने गरेको छ।

उदयपुरमा वर्षेनी ६० देखि ८० हजार मेट्रिक टनसम्म धान उत्पादन हुँदै आएको छ। यस वर्ष बेलैमा वर्षा भएको र समयमै रोपाइँ सुरु भएकाले आगामी वर्ष धान उत्पादन केही बढ्ने अनुमान गरिएको शेर्पाले बताएकी छिन्।

प्रकाशित: १६ असार २०८१ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App