२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

तीन सय ३० किलो गाँजासहित ३ पक्राउ

गाँजासहित पक्राउ परेको मिनी ट्रक।

मकवानपुरको दुई छुट्टाछुट्टै स्थानबाट तीन सय ३० किलो लागू औषध गाँजासहित तीन जना पक्राउ परेका छन्।

भीमफेदी गाउँपालिका-१ सामरी पुल नजिकैबाट १७५ किलो गाँजासहित एकजना र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चेकपोइन्टबाट १७५ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन्।

सामरी पुल नजिकै भित्री सडक खण्डमा बा. ३ ख ४६१ नम्बरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा एक क्विन्टल ७५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

विशेष सूचनाको आधारमा चालक हेटौंडा-४ का ५१ वर्षीय पूर्णबहादुर रुम्बालाई नियन्त्रणमा लिएर ट्रक खानतलासी गर्दा "फल्स बटम" बनाइ लुकाएर ल्याएको अवस्थाको १७५ किलो गाँजा फेला परेको मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालले बताए।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटे चेक पोइन्टमा चेकिङको क्रममा एक क्विन्टल ५५ किलो गाँजासहित २ जना पक्राउ परेका हुन्।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख १११८ नम्बरको डिब्बा ट्रकबाट उक्त परिमाणको गाँजा फेला परेको हो। ट्रकको माथि हुटमा "फल्स बटम" बनाइ लुकाएर ल्याएको अवस्थाको १६ पोकामा रहेको १५५ किलो गाँजा फेला परेको प्रहरी प्रमुख रिजालले बताए।

प्रहरीले गाँजासहित ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ गड्यौली बस्ने ३६ वर्षका सुनिल मुक्तान र ट्रकमा रहेका चितवनकै राप्ती नगरपालिका-१ लोथर बस्ने २० वर्षका अनिल भन्ने धनबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले दुई सवारीबाट ३ क्विन्टल ३० किलो गाँजासहित ३ जनालाई पक्रेको हो।

गाँजासहित पक्राउ परेका तीन जनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मकवानपुर लागू औषध गाँजा तथा अफिम उत्पादन, सेवन र ओसारपसारमा नेपालमै नाम कहलिँदै आएको छ।

प्रकाशित: १३ असार २०८१ १७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App