२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाकाे नीति: ‘एकल पुरुष भत्ता’ देखि ‘गोठालो भत्ता’ सम्म

जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुषहरूलाई वार्षिक भत्ता उपलब्ध गराउने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने योजना ल्याएको हाे।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले आर्थिक अवस्था कमजोर भएका, बेसहारा र कुनै व्यवसाय नभएका एकल पुरुषहरूको जीविकोपार्जनलाई सहज बनाउन भत्ता दिने योजना ल्याएको बताए। ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई प्रति वर्ष ४ हजार रुपैयाँका दरले भत्ता दिने नीति तथा कार्यक्रम पारित भइसकेको छ।

अध्यक्ष चौलागाईंले भने, "गाउँबस्तीमा एकल पुरुषहरू पनि अपहेलित हुनु परिरहेको अवस्था छ। उनीहरूको उत्थानका लागि यो वार्षिक भत्ता महत्त्वपूर्ण मानिनेछ।"

कर्णालीमा यो नयाँ कार्यक्रम भएकोले सबैको चासो यही कार्यक्रममा देखिएको पालिकाले जनाएको छ। पहिलो चरणमा ५० जना एकल पुरुषलाई लक्षित गरेर वार्षिक २ लाख रुपैयाँ विनियोजन गरिएको छ।

अध्यक्ष चौलागाईंका अनुसार यो कार्यक्रम कार्यकाल नसकिँदासम्म निरन्तर चलिरहनेछ। 

तातोपानी गाउँपालिकाले एक सयभन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक ५ सय रुपैयाँ गोठाला भत्ता दिने नीति पनि ल्याएको छ। यसका लागि ४ लाख रुपैयाँ बजेट पारित भएको छ।

तातोपानी भेडाबाख्रा पालनका लागि उपयुक्त क्षेत्र भएकोले भेडापालक किसानको हितमा यो कार्यक्रम ल्याइएको पालिकाले जनाएकाे छ।

यसैगरी, अन्तरजातीय विवाह गर्ने जोडीलाई २० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने र स्वास्थ्य संस्थामा बढीभन्दा बढी सुत्केरी गराउन ल्याउने महिला स्वयंसेविकालाई पुरस्कारस्वरूप ५ हजार रुपैयाँ उपलब्ध गराउने कार्यक्रम पनि ल्याइएको छ।

प्रकाशित: १२ असार २०८१ १९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App