२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

राउटेमा जति धजा, त्यति विवाह

दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा एक महिनादेखि राउटे समुदाय बस्दै आएको छ। यहीँ बस्तीमा दुई जोडी राउटेले लगनगाँठो कसे। एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने र खेतीपाती नगर्ने यो समुदायको विवाह संस्कृति पनि फरक हुन्छ।

राउटे समुदायमा विवाहको मिति तय भइसकेपछि आफू बसेकै ठाउँमा छुट्टै सार्वजनिक छानो बनाउँछन् । जहाँ विवाह गर्ने जोडीलाई राखिन्छ। यसपटक कृष्ण शाही र घुस्या शाही तथा कलम शाही र बैकर शाहीबीच विवाह भयो। कृष्ण रास्कोटी गोत्रका हुन् भने घुस्या कल्यालकी छोरी हुन् । कलम कल्याय गोत्रका हुन् भने बैकर रास्कोटी गोत्रकी हुन्। 

राउटे मुखिया सूर्यनाराण शाहीका अनुसार आफ्नो समुदायमा कति जनाको विवाह भयो भन्ने कुरा खामोमा बाँधेको धजा हेरेपछि थाहा हुन्। ‘विवाहका लागि बनाइएको छानोमा ठड्याइएको खामोमा जति धजा हुन्छन्, त्यति नै हाम्रो समुदायमा विवाह भएको हुन्छ,’ मुखिया सूर्यनारायणले भने, ‘हाम्रोमा केटा जन्ती लिएर केटीकोमा जाने, त्यहाँबाट विवाह गरेर आफ्नो घरमा लिएर आउने हुँदैन्।’

खामोमा रातो र सेतो धजा बाँधिएको हुन्छ। माथिल्लो पट्टी बाँधिएको रातो धजा केटा पक्षको हुन्छ भने तल्लो पट्टि बाँधिएको सेतो धजा केटी पक्षको हुन्छ । ‘विवाहको लगन एक–दुई महिनाअघि नै तय हुन्छ,’ मुखिया सूर्यनारायणले भने, ‘विवाह हुने बेलुका केटा र केटीको घरबाट ल्याइएको धजा खामोमा बाँध्छौं, रातभर नाचगान र खानपान गरेर विवाह उत्सव मनाउँछौं।’

विवाह हुने राति समुदायका सबै त्यहीँ सार्वजनिक छानोमा बस्छन्। भोलिपल्ट सुरुमा केटाको घरमा र बेलुका केटीको घरमा भोज दिने चलन छ। त्यस्तो भोजमा बाँदरको मासु र मदिरा प्रयोग हुन्छ। विवाहकै लागि समुदायका युवाहरू एक साताअघिबाटै नियमित सिकार खेल्न जान्छन्। ‘एउटा विवाहमा २० देखि ३० वटा बाँदर खर्च हुन्छ, यसपटक धेरै सिकार पर्‍यो,’ सूर्यनारायणले भने, ‘विवाह पनि रमाइलो भयो।’ राउटे समुदायमा केटी माग्ने र विवाहको मिति तय गर्न चाडपर्वलाई आधार मान्छन्। तीनवटै गोत्रका तीन जना मुखिया, ठालु, धामी र वैद्यको उपस्थितिमा केटी माग्ने र विवाहको मिति तय गर्ने प्रचलन हुन्छ।

राउटे समुदायमा तीनवटा गोत्र छन्। रास्कोटी, स्ववंशी र कल्याल। उनीहरू एउटै गोत्रमा विवाह गर्दैनन्। राउटे समुदायमा कल्यालको संख्या धेरै छ। त्यसैले यो समुदायका छोराछोरीको विवाहमा समस्या हुने गरेको छ। राउटे समुदायसँग काम गर्दै आइरहेको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार अहिले राउटे समुदायको संख्या १३७ छ।

प्रकाशित: १० असार २०८१ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App