२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

साकेला उभौलीः ‘गीता स्मृति रनिङ सिल्ड’ मा इटहरीको ह्याट्रिक

विजेता हाँसपोसा समूहलाई ‘गीता राई स्मृति रनिङ सिल्ड’ वितरण गर्दै संरक्षक बिमला राई।

यसवर्षको साकेला उभौली रनिङ सिल्ड इटहरीले जितेको छ। सदरमुकाम गाईघाटमा शनिबार सम्पन्न ‘गीता राई स्मृति साकेला सिली रनिङ सिल्ड प्रतियोगिता ०८१’ को ११ औँ संस्करण किरात राई यायोक्खा साविक हाँसपोसा, इटहरी उपमहानगर १, १९ र २० वडा समूहले जितेको हो।

यो जितसँगै इटहरी समूहले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक पूरा गरेको छ। आयोजक किरात राई यायोक्खा त्रियुगा नगर समितिका अध्यक्ष सर्वधन राईका अनुसार यसअघि दुई पटक जितिसकेको हाँसपोसा समूहले यसवर्ष पनि जितेपछि सिल्ड ‘पच’ गरेको छ।

यसअघि यायोक्खा मोरङको पथरीले चार वर्षअघि सिल्ड ‘पच’ गरेको थियो। हाँसपोसा दोस्रो सिल्ड ‘पच’ गर्ने समूह हो।

प्रतियोगितामा त्रियुगा नगर प्रारम्भिक कमिटी उपविजेता बन्न सफल भयो भने तेस्रो स्थान धरान उपमहानगर १५ ले लियो। किरात राई पुमा तुप्पा वाङ्खला साकेला समूह त्रिनपा १२, यायोक्खा लेटाङ मोरङ, कौवाई बुङ साकेला समूह र यायोक्खा चौदण्डीगढी नगर ४ सान्त्वना स्थानमा रहे।

विजयी समूहहरुलाई गीता राई स्मृति प्रतिष्ठानका संरक्षक नरध्वज राईको तर्फबाट छोरी बिमला राई, यायोक्खा अध्यक्ष सर्वधन राई, प्रमुख सल्लाहकार प्रेम चामलिङ, सल्लाहकार महेन्द्र राई र अन्य प्रतिष्ठानका प्रतिनिधिहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरे।

संरक्षकको तर्फबाट बिमलाले प्रथम विजेता हाँसपोसालाई सिल्ड, नगद ३० हजार र प्रमाणपत्र प्रदान गरिन्।

उपविजेता त्रियुगा नगरलाई स्वर्गीय प्रमिला राई स्मृति प्रतिष्ठानद्वारा प्रायोजित उनका पति प्रेम चामलिङले नगद २० हजार प्रदान गरे। तेस्रो स्थान पाउने धरान १५ लाई भूपध्वज-निर्मला स्मृति प्रतिष्ठानका नवीन राईले नगद १५ हजार र प्रमाणपत्र प्रदान गरे।

सान्त्वना पाउने चार समूहहरु क्रमशः यायोक्खा लेटाङलाई स्वर्गीय लालशेर–मिथिला राई स्मृति प्रतिष्ठानका छोरा सागर समीप राईले, कौवाई बुङ त्रिनपा ३ चाँपलाई अरुण राई स्मृति प्रतिष्ठानकी संरक्षक हिरामोति राईले, किरात पुमा बाङ्खला १२ लाई जगतबहादुर–विष्णुदेवी स्मृति प्रतिष्ठानका छोरा कालीदास राईले, र यायोक्खा चौदण्डीगढीलाई बुद्धिसरा स्मृति प्रतिष्ठानका संरक्षक रत्नबहादुर राईले क्रमशः ७/७ हजार नगद र प्रमाणपत्र प्रदान गरे।

आयोजक यायोक्खा नगर कमिटीका सचिव कर्ण राईका अनुसार प्रतियोगितामा विभिन्न जिल्ला र स्थानीय तहका गरी १२ समूहको सहभागिता थियो।

त्रियुगा ११ साकेलाथानस्थित किरात सांस्कृतिक परिसरमा आयोजित प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी रमेश थापा, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानलगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसहित हजारौँको उपस्थिति थियो।

प्रकाशित: ९ असार २०८१ २०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App