२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

इलाममा रैथाने खाना प्रदर्शन गरिँदै

प्रदर्शनीबारे जानकारी गराउँदै आयोजक तस्बिर: भीम/नागरिक

रैथाने खानाका माध्यमबाट पर्यटक ल्याउनका लागि इलाममा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिने भएको छ। स्थानीय व्यवसायीकै सक्रियतामा यही असार ११ मा इलाम सदरमुकाममा यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।

इलाम बजारको होटेल रेडरोजमा आयोजना गरिने प्रदर्शनीमा रैथाने खानाका १५ स्टल रहनेछन्। जिल्लाका विभिन्न क्षेत्रका व्यवसायीले स्टल राख्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

इलामस्थित होटेल व्यवसायी संघ र इलाम नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा हुने प्रदर्शनीमा रैथाने खाना ढिँडो, गुन्द्रुक, मोही, टम्का मासु, नेवारी खाना, राई, लिम्बूलगायत विभिन्न जातजातिका सांस्कृतिक परिकार, भुटेको मकै लगायत रहने छन्।

होटेल व्यवसायी संघ अध्यक्ष देवी पौडेलले इलाम आउने पर्यटकलाई रैथाने खानामा लोभ्याउन र प्रचार गर्न प्रदर्शन आयोजना गरिएको बताए। ‘इलाम प्राकृतिक रूपमा सुन्दर छ, अझ यहाँको कला–संस्कृति र परम्परा पर्यटक पल्काउने काइदा हुन्,’ उनले भने, ‘तर, यहाँ आउने पर्यटकलाई रैथाने खानामा पल्काउन आवश्यक भएकाले प्रदर्शनी आयोजना गरिएको हो।’

प्रदर्शनीमा चार सयभन्दा धेरै आगन्तुक सहभागी हुने आशा आयोजकको छ। ‘अहिले पर्यटकको चाप अलि कम हुने सिजन हो तर प्रदर्शनीले पर्यटक लोभ्याउने आशा छ,’ होटेल व्यवसायी प्रकाश चापागाईंले भने, ‘इलामका होटलमा पाहुनालाई रैथाने खाना खुवाउनुपर्छ भन्नेबारे पनि प्रचार गर्न लागिएको हो।’ प्रदर्शनीमा आउनेले दर्जनौँ प्रकारका रैथाने खानाको स्वाद चाख्न पाउने आयोजकले जनाएको छ।

इलाम उद्योग वाणिज्य संघ र महिला उद्यमी संघ प्रदर्शनीका सहआयोजक छन् भने पर्यटन कार्यालय र इलाम नगरपालिका प्रवर्द्धकका रूपमा छन्। 

प्रकाशित: ९ असार २०८१ १८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App