२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

महिलालाई मनपर्ने पुरुष

यस्ताे पनि!

कुनै महिलालाई आफूप्रति आकर्षित गर्नु छ भने बालबालिकासँग हिमचिम बढाउनु उपयुक्त हुन्छ। हालै एक सर्भेमा बालबालिकासँग देखिएका पुरूषहरू महिलालाई बढी आकर्षक लाग्ने देखिएको छ। पुरूषहरूमा बालबालिकालाई सम्मान गर्ने, उनीहरूसँग कुरा गर्ने र यस्तै अन्य गुण छ भने उनीहरू आकर्षक नभए पनि महिलाहरूको नजरमा पर्ने गरेको देखिएको हो।

नेदरल्यान्ड्सस्थित लेइडेन विश्वविद्यालयले गरेको शोधमा यस्तो पाइएको हो। अध्ययनमा तीन सय ६० जना पुरूषका तस्बिर प्रयोग गरिएको थियो। आकर्षक पुरूष एक्लै छन्, अनाकर्षक पुरूष बालबालिकासँग खेल्दै छन् भने यस्तो अवस्थामा अनाकर्षक पुरूष महिलाहरूको छनोटमा पर्ने गरेको देखिएको छ।

खासगरी बालबालिकासँग रहेका २१.५ प्रतिशत पुरूषहरूलाई महिलाले बढी आकर्षक मान्ने गरेको बताएका छन्। यस्तो प्रभावलाई ‘प्यारेन्टल इन्भेस्टमेन्ट थ्योरी’ भनिन्छ। यो अध्ययन इभोल्युसनरी साइकोलजिकल साइन्स जर्नलमा हालै प्रकाशित भएको छ।

जुन महिलाले गर्भधारण गरेर बालबालिका जन्माएका छन्, आफ्ना सन्तानलाई स्तनपान गराएका छन्, त्यस्ता महिलाको नजर बालबालिका मन पराउने पुरूषमा जाने गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ। यस अध्ययनलाई पिटर बोसले अगुवाई गरेका थिए। उनी भन्छन्, ‘हामी यही अध्ययनलाई अन्तिम र प्रामाणिक त मान्न सक्दैनौँ किनभने हामीले उनीहरूलाई तस्बिर हेरेर मात्र मूल्याङ्न गराएका थियौँ।’

बालबालिका मन पराउने पुरूष यदि एकल छ भने उसप्रति महिलाहरूको सकारात्मक धारणा बन्छ, उसप्रति विश्वास बढ्छ। तर यत्ति एउटा कारणले नै सो पुरूष कुनै पनि महिलाका लागि गज्जबको पति बन्छ भन्ने छैन।

केही समयअघि युनिभर्सिटी अफ क्यालिफोर्नियाले एउटा अध्ययन गरेको थियो। जसमा नयाँ विवाहित जोडीमध्ये पहिलो वर्षमा नै बाबु बनेकाहरू अन्यको तुलनामा बढी आकर्षक मानिएको थियो। उता महिलाहरू भने पहिलो सन्तान जन्मिएपछि आफूलाई कम आकर्षक मान्न थालेको पनि पाइएको थियो।

खासगरी महिलाले आफ्नो शरीरमा आउने शारीरिक परिवर्तनका कारण आफूलाई कम महत्त्वको ठान्ने गर्छन्। यसले महिलाहरू आफूलाई पहिलेको तुलनामा बढी थकित महसुस गर्नाले पनि त्यस्तो भाव आएको हुन सक्ने विज्ञहरू बताउँछन्।

प्रकाशित: ९ असार २०८१ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App