२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा धमाधम भत्काइँदै ‘छाउपडी गोठ’

समाजमा धेरै सामाजिक समस्याहरू र विकृतिहरू विद्यमान छन्, विशेष गरी बालबालिका र महिलासँग सम्बन्धित समस्याहरू। यस्ता समस्याहरूमा बालविवाह र छाउपडी प्रमुख हुन्।

बालविवाह रोकथाम र न्यूनिकरणका लागि सरकारी र गैरसरकारी निकायहरू विभिन्न अभियान सञ्चालन गर्दै आइरहेकाे भएतापनि जुम्लामा प्रशस्त छाउपडी गोठ (छुई कुल्लो) भेटिएका छन्।

गुठिचौर गाउँपालिका वडा नम्बर-४ मा मात्र २१ छाउपडी गोठ भेटिए। यस क्षेत्रमा बालविवाह र छाउपडी अन्त्य अभियानलाई तीव्रता दिइएको छ। सोही क्रममा अनुगमन गर्दा यी गोठहरू फेला परेका हुन्।

यसैगरी, प्यकुरेबाडामा ५ वटा र उखाडी गाउँमा १६ वटा छाउपडी गोठ फेला परेका छन्।

गुठिचौर गाउँपालिका वडा नम्बर-४ उखाडी गाउँकी सम्झना अधिकारीले छुई गोठ भत्काएर यो अभियानमा सक्रिय सहभागिता जनाइन्। उनी छुई गोठ भत्काउने यहाँकी पहिलो महिला समेत बनिन्।

सम्झनाले छुई गोठमा बस्दा डर लाग्ने र स्वास्थ्यमा असर पर्ने भएकोले गोठ भत्काएको बताइन्। वडाको टोली छुई गोठ भत्काउन घरमा पुगेपछि उनले स्वेच्छाले गोठ भत्काएको सुनाइन्।

वडा अध्यक्ष टिकादत्त न्यौपानेले बालविवाह र छाउपडी प्रथा न्यूनिकरणका लागि वडाले अभियान सञ्चालन गर्ने जानकारी दिए। उनले वडाको समग्र विकासमा यसका नकारात्मक प्रभावहरू पर्ने भएकोले यसको अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको बताए।

गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी) ले बालबालिका र महिलाका लागि आगामी आर्थिक वर्षमा प्राथमिकता राखेर बजेट आउने जानकारी दिइन्। उनले महिलाहरूलाई उत्पादनमा लगानी गरी आर्थिक रूपमा सशक्त बनाउनुपर्नेमा जोड दिइन्।

गुठिचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरिले बालविवाह र छाउपडी प्रथाको अवस्था सन्तोषजनक नभएको बताए। उनले जनचेतनामूलक अभियान सञ्चालन गरी यसलाई अन्त्य गर्ने बताए।

वडा स्तरिय बाल सञ्जालका अध्यक्ष धन प्रशाद न्यौपानेले बालविवाहको प्रमुख कारण गरिबी भएको र यसले समाजमा नकारात्मक असर पारेको बताए।

समाजमा अझै पनि बालविवाह र छाउपडी प्रथा विद्यमान रहेको र यसको अन्त्यका लागि निरन्तर प्रयास आवश्यक रहेको बताइएको छ।

प्रकाशित: ८ असार २०८१ २१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App