२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा ‘राईड सेयरिङ’ अवैध,चलाए कारबाही गरिने

गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’सञ्चालनमा रोक लगाइएको छ। पोखरामा पछिल्लो समय ईनड्राईभ लगायतले एपमार्फत सञ्चालन गर्दै आएको ‘राईड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको हो। यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना निकालेर ‘राइड सेयरिङ’सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ।

 गण्डकीमा ‘राइड सेयरिङ’ सम्बन्धी कानुन बनी नसकेकाले सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका प्रमुख डिल्लीराम रिजालले बताए।

गण्डकीमा ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली बनिसकेको छ।तर कार्यविधिसँगै मापदण्ड बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनले यात्रु बिमासँगै भाडा दर निर्धारण लगायतका मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ । कार्यविधिसँगै मापदण्ड नबन्दा त्यस्ता एपमार्फत सञ्चालन हुने ईनड्राइभ, पठाओ, सहारा लगायतले आफैले एप बनाउने अनि भाडा दर पनि आफै तोकेर यात्रु ओसार पसार गर्दै आएका छन्।यसरी जथाभाबी रुपमा ‘।राइड सेयरिङ’ सञ्चालन भएको पाइएपछि कार्यालयले सूचना निकालेर त्यस्ता कार्यप्रति रोक लगाएको हो। गण्डकीमा ‘राइड सेयरिङ’ अवैध छ,उनले भने,यही अवैध कार्यलाई रोक्न पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाएका हौँ ।’


प्रमुख रिजालले सूचनाको बेवास्ता गरेर राईड सेयरिङ सञ्चालन गर्दै निजी सवारी साधनमा यात्रु ओसारपसार गरे कारबाही गरिने चेतावनी दिए। उनले भने,कानुन विपरीत अनधिकृत रुपमा निजी सवारी साधनमा यात्रु बोकेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ।’ उनका अनुसार गैर कानुनी रुपमा राईड सेयरिङ सञ्चालन गरे सवारी ऐन अनुसार पहिलो पटक ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिनेछ। त्यसपछि पनि चलाएको पाइए पटकेमा कारबाही गरिने भन्दै उनले भने, कारबाहीमा परेकाले पटक पटक चलाएको पाइए दर्ता खारेजदेखि रुट खारेजसम्म गर्छौं।’ उनले कारबाहीलाई प्रभावकारी बनाउन अबदेखि नियमित अनुगमन गरिने बताए।

गण्डकी प्रदेशको राजधानी पोखरामा ईनड्राइभले कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएर एपमार्फत ‘राइड सेयरिङ’’ सञ्चालन गर्दै आएको थियो। तर त्यसले म्याद गुज्रिसक्दापनि नवीकरण गरेको छैन।

पोखरामा एपमार्फत सञ्चालन हुँदै आएको राईड सेयरिङ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । तर बिमा नहुँदा कारणवश दुर्घटना भएमा जोखिम हुनुका साथै मनपरी भाडा दर हुँदा यात्रु ठगिन सक्ने भन्दै यसको नियमनमा जोड दिइँदै आएको छ । यसैलाई सम्बोधन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८/८२ का लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा राईड सेयरिङलाई कानुनी मान्यता दिएर वैधानिक बनाउने उल्लेख गरेको छ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले गैर कानुनी रुपमा सञ्चालनमा रहेका राईड सेयरिङलाई प्रतिबन्ध लगाउनु स्वागतयोग्य भएको बताए। यो पहिल्यै हुनुपर्थ्यो,उनले भने,। तर ढिलै भए पनि स्वागतयोग्य काम भएको छ। सूचना निकाल्नु नै ठुलो कुरा त होइन। बरु यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ।’ देशको मौजुदा कानुन सबैले मान्नुपर्ने भए पनि राईड सेयरिङ सञ्चालन गर्दा त्यसको उलङ्घन भइरहेकाले आफूहरूले विरोध गर्दै आएको उनको भनाई छ।

सार्वजनिक सवारी साधन सञ्चालक र व्यवसायीका पनि समस्या भए त्यो पनि हटाउन आफूहरू तयार रहेको उनले बताए। गैर कानुनी रुपमा राईड सेयरिङ चल्दा हामीलाई प्रत्यक्ष असर परेको थियो,उनले भने,’ तर हामी व्यवसायीका पनि समस्या होलान्। त्यसलाई पनि हामी सच्याउँछौँ। सरकारले पनि सच्याउनका लागि दबाब दिदै जाओस्, त्यसमा हामी पनि सघाउँछौँ।’

प्रकाशित: ८ असार २०८१ १६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App