२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सरकारी जागिरमा किन घट्यो आकर्षण?

वैदेशिक रोजगारलगायत विभिन्न कारणले पछिल्लो समय सरकारी सेवामा युवायुवतीको आकर्षण घटेको पाइएको छ। गत आथिक वर्ष (आव २०७९-८०) को तुलनामा चालु आर्थिक वर्ष (आव २०८०-८१) मा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन दरखास्त परेको कुल संख्यामा करिब १० हजारले कमी आएको हो।

आयोगका अनुसार आव २०७९-८० मा ४ लाख ८३ हजार २ सय ३ जनाको आवेदन परेको थियो। चालु आव २०८०-८१ को असार ७ गतेसम्म आवेदन दिनेको संख्या ४ लाख ७३ हजार पुगेको छ। ‘यो संख्या नै चालु आवमा आवेदन दिने कुल मोटामोटी संख्या हुने छ। किनभने अब परीक्षाका लागि फाराम खुल्ने सम्भावना निकै कम छ,’ आयोगका सूचना अधिकारी एकनारायण शर्माले भने।

उनका अनुसार शुक्रबारसम्मको रिपोर्टलाई आधार मान्ने हो भने गत आर्थिक वर्षको तुलनामा चालु आवमा आयोगको परीक्षामा सहभागी हुन आवेदन परेको संख्या करिब १० हजारले कमी भएको पाइएको हो।

सरकारी सेवाभन्दा निजी सेवामा सेवासुविधा बढी हुनु, निजी क्षेत्रमा रोजगारका अन्य क्षेत्रहरू सिर्जना हुनु तथा वैदेशिक रोजगार लगायत कारणले पछिल्लो समय सरकारी सेवामा युवायुवतीको आकर्षण घट्दै गएको पाइएको छ। तर आव २०७८-७९ को तुलनामा आव २०७९-८० मा भने सरकारी सेवामा आकर्षण बढेको पाइएको थियो।

आव २०७८-७९ मा ३ लाख ६५ हजार ४ सय ३४ जनाबाट दरखास्त परेको थियो। उक्त आवमा परेको भन्दा आव २०७९-८० मा परेका दरखास्तको संख्या ३२.२३ प्रतिशतले बढेको थियो।

आयोगका अनुसार पछिल्लो १० वर्षमा आयोगमा सबैभन्दा कम दरखास्त आव २०७५-७६ मा परेको थियो। त्यस वर्ष १ लाख ४३ हजार ७ सय ५३ जना व्यक्तिबाट मात्र दरखास्त परेको थियो। यसैगरी सबैभन्दा बढी दरखास्त आव २०७३/७४ मा परेको थियो। त्यस वर्ष ८ लाख ४४ हजार २ सय ९७ जनाबाट दरखास्त परेको थियो।

आव २०७९-८० मा फाराम भरेका ४ लाख ८३ हजार २ सय ३ जना व्यक्तिमध्ये ३ हजार ६ सय ७५ जना उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए। यसबाट आयोगको परीक्षा पास गर्न झनै चुनौतीपूर्ण रहेको देखिन्छ।

त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेहरूमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५७६ जना छन्। आयोगका अनुसार आयोगले लिने परीक्षामध्ये अप्राविधिक खरिदार पदमा सबैभन्दा बढी दरखास्त पर्ने गरेको पाइएको छ।

आयोगले निकालेका वार्षिक प्रतिवेदनहरूलाई हेर्ने हो भने सबैभन्दा बढी आवेदन अप्राविधिक खरिदार, त्यसपछि अप्राविधिक नायब सुब्बा र त्यसपछि अप्राविधिक शाखा अधिकृत पदमा बढी पर्ने गरेको छ।

यसैगरी अप्राविधिक नायब सुब्बा पदमा १ लाख ३३ हजार ६ सय ७७ जनाले आवेदन दिएका छन्। जसमध्ये ७३ हजार ८ सय ८४ पुरुष तथा ५९ हजार ७ सय ९३ जना महिला छन्। यसैगरी अप्राविधिक शाखा अधिकृत पदमा ५७ हजार ९ सय ६९ जनाको आवेदन परेको छ। जसमध्ये ३५ हजार ६ सय ६ पुरुष तथा २२ हजार ३ सय ६३ महिला छन्।

खरिदार, नायब सुब्बा र शाखा अधिकृतपछि सबैभन्दा बढी आवेदन अप्राविधिक उपसचिव पदमा परेको आयोगको भनाइ छ। उक्त पदमा ८ हजार ६ पुरुष तथा २ हजार ४ सय ७६ महिलाको निवेदन परेको छ। त्यसपछि अप्राविधिक सहसचिव पदमा निवेदन परेको छ। सहसचिव पदमा २ हजार ४ सय ८४ जनाको निवेदन परेको छ। तीमध्ये २ हजार १ सय ३० पुरुष तथा ३ सय ५४ महिला छन्।

सरकारी सेवाप्रति कर्णाली प्रदेशवासीमा भने आकर्षण बढेको पाइएको छ। लोकसेवा आयोगको ६३औ र ६४औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक हेर्दा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन फाराम भर्ने प्रतिशत दर कर्णालीमा बढेको देखिएको छ।

आयोगको परीक्षाका लागि आव २०७८/७९ मा कुल ३ लाख ६५ हजार ४ सय ३४ जनाले फाराम भरेको थिए। तीमध्ये ३३ हजार ४ सय ९४ जना कर्णाली प्रदेशवासी थिए। यो संख्या भनेको ९ दशमलव १ प्रतिशत हो। यसैगरी आव २०७९-८० मा फाराम भर्नेको कुल संख्या ४ लाख ८३ हजार २ सय ३ छ। जसमध्ये ६४ हजार २ सय ९० कर्णाली प्रदेशवासीले फाराम भरेका थिए।

यो संख्या भनेको १३ दशमलव ३० प्रतिशत हो। तथ्यांक हेर्दा एक वर्षको अन्तरमा कर्णाली प्रदेशवासीमा आयोगको फाराम भर्नेको संख्या ९ दशमलव १ बाट १३ दशमलव ३० पुगेको छ।

मधेस प्रदेशमा भने आयोगको फाराम भर्ने संख्या एक वर्षको तुलनामा झिनो घटेको छ। आव २०७९-८० कुल फाराम भर्ने संख्या ३ लाख ६५ हजार ४ सय ३४ मध्ये ९३ हजार ५ सय ५४ मधेस प्रदेशवासीले फाराम भरेका थिए। यो संख्या भनेको २५ दशमलव ६० हो।

प्रकाशित: ८ असार २०८१ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App