२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

२ करोड ७२ लाखको सामानसहित ५ जना पक्राउ

भन्सार छलेर ल्याएको अवस्थाको २ करोड ७२ लाख रुपैयाँ बराबरको भेप र फ्लेवरसहित मकवानपुरबाट ५ जना पक्राउ परेका छन्।

हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको बसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थाको भेप र फ्लेबरसहित ५ जनालाई प्रहरीले पक्रेको हो । बसको यात्रु बस्ने सिट माथि सिलिङको भागमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थाको ५८ कार्टुन भेप र भेपको फ्लेवर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सिताराम रिजालले जानकारी दिए।

प्रहरीले बस चालक दोलखाको भीमेश्वर नगरपालिका २ बस्ने ३७ वर्षका सलाम मोक्तान, सह चालक उदयपुरको कटारी नगरपालिका ११ का २७ वर्षका प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका ७ का ३९ वर्षका इन्द्रबहादुर दर्जी, सोही स्थानका ३० वर्षका सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका १६ का २९ वर्षका राजकुमार हिमाङलाई पक्रेको छ । पक्राउ गरिएको सामानको मूल्य २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ रहेको प्रहरी उपरीक्षक रिजालले बताए। ‘विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थाना 

भर्‍याङमा चेकिङ गरेका थियौं’, प्रहरी उपरीक्षक रिजालले भने, ‘बसमा रहेका भारतीय यात्रुलाई बसबाट ओरालेर शङ्कास्पद व्यक्तिहरूसहित बसका चालकलाई नियन्त्रणमा लिएर बसको खानतलासी गर्दा लुकाएर ल्याएको अवस्थाको भेप र फ्लेवर फेला पारेका हौं ।’ उक्त सामान काठमाण्डौको बालाजु बसपार्क भन्दा माथि भत्केको पुल क्षेत्रबाट लोड गरेको, बसमा फल्स सिलिङ पहिले देखिनै रहेको  र बस नेपाल दिल्ली चल्ने आधिकारिक नभएको पाइएको प्रहरीले बताएको छ।

 पक्राउ परेका मध्ये केहीले पहिले पनि पटक पटक भन्सार छलीका अवैध समानहरू ल्याउने गरेको खुलेको रिजालले बताए। बस, सामान र पक्राउ गरिएका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रकाशित: ७ असार २०८१ २१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App