२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हरहर महादेव पानी देऊ !

पानीकाे माग गर्दै देवताको भाकल गर्न सहभागी जुम्लावासी। तस्बिर: गोल्डेन/नागरिक

लामो समयदेखि खडेरीले जनजीवन अस्तव्यस्त बनेको भन्दै जुम्लाका स्थानीयले देवताको पूजा गर्दै पानीका लागि प्रार्थना गरेका छन्। उनीहरूले तत्काल पानी पारेर भोकमरीबाट बचाउन भगवान् शिवसँग प्रार्थना गरेका हुन्।

चन्दननाथ नगरपालिका-१ स्थित दानसाँघुमा रहेको शिव मन्दिरमा पूजा गरेर, स्थानीयले सुख्खा खडेरी हटाएर ‘हरियाली जुम्ला’ बनाउन भगवानसँग माग गरे।

विगत ११ महिनादेखि देखिएको खडेरीले जुम्लाको खेतबारीमा छरेको अन्नबाली सखाप हुन थालेपछि किसानहरूमा भोकमरीको चिन्ता छ।

चन्दननाथ-३ सिम्खाडा गाउँका धर्मानन्द उपाध्याय तिमलसेनाले पानी नपर्दा मानव जीवन नै संकटमा परेको सुनाए। उनले भने, ‘पानी परिरहेको छैन। खेतबारीमा बाली सुकिसकेको छ। डाँडापाखाहरू सुख्खा हुँदा उराठ लाग्दो देखिन्छ। अन्तिम विकल्प स्वरुप भगवानको पूजा गरेका छौं।’

पानीका मुहानहरू सुकेर सदरमुकाम खलंगा पनि काकाकुल भएको छ। जुम्लाका खोलानालाहरूमा पानीको सतह घटेको छ, जसका कारण अधिकांश सदरमुकामवासी खोलाको दूषित पानी पिउन विवश छन्।

धर्मानन्दले थपे, ‘भर्खरै रोपेको मार्सीधानमा धाँजा फाटेर बिउमा बिजोग भएको छ। यस्तो अवस्थामा भगवान गुहार्नुको विकल्प रहेन। खडेरी हुँदा पूजा गरेपछि पानी पर्ने विश्वास छ। जौ पाक्ने बेला भइसक्यो। पानी परेको छैन। जमिनमा चिस्यान नहुँदा नपाक्दै बालीनाली सुकिसकेको छ।’

लामो समयको खडेरीले जुम्लाका जौँ, गहुँ, आलु, मकै, र कोदो बालीनाली तथा फलफूल खेती नराम्ररी प्रभावित भएका छन्। फल लाग्नका लागि फुलेका स्याउका बगैँचामा चिचिला नलाग्दै फुल झरिरहेका छन्।

चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले पानी पार्न देवताहरूको पूजा सुरु गरिएको बताए। उनका अनुसार शिव मन्दिरमा एघार सय ८ पिपलको पातमा "ओम नमः शिवाय" लेखेर पूजा गरिएको थियो।

एक सय ८ गाईको दूध मन्दिरमा चढाइएको थियो। एघार जना बाहुनले ११ पटक रुद्री पाठ गरेका थिए। भगवानले पानी पार्न गर्ने सबै प्रक्रिया पूरा गरिएको थापाको भनाइ छ।

मन्दिरमा भक्तजनहरू भेला भएर खडेरीले भोग्नु परेको पीडा र पानी पर्दा हुने खुसी समेटिएको देउडा भाका प्रस्तुत गरेका थिए। तिला र जवानदिमा बगिरहेको पानी एकापसमा छर्केर भिजिरहेका थिए।

जनविश्वास अनुसार, देवताको पूजा गर्दा जति पानीमा भिज्न सक्यो, उति नै छिटो पानी पर्छ। यसअघि लामो समय खडेरी पर्दा भगवानको पूजा गर्दा पानी पर्ने गरेकोले यो पटक पनि पाँच दिनभित्र पानी पर्ने विश्वास स्थानीयहरूमा छ।

कर्णालीको धार्मिक पर्यटनको केन्द्र मानिएको चन्दननाथ भैरवनाथ मन्दिरबाट बाजागाजा सहित शिव मन्दिरमा पुगेर रुद्री गरिएको थियो। पूजा सकिएपछि चन्दननाथ र भैरवनाथ मन्दिरमा आएर भगवानको जयजयकार गर्दै पूजा सकिएको थियो।

शिवजीको पूजामा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतका सुरक्षाकर्मीहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयवासीहरूको सहभागिता थियो।

यसअघि चन्दननाथ नगरपालिका-२ भण्डारीबाडा गाउँका महिलाहरूले पानी माग्दै मालिका भगवानको मन्दिरमा पूजा गरेका थिए।

प्रकाशित: ६ असार २०८१ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App