२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सरुवा साँठगाँठमा मन्त्री महासेठ

आफ्नो गृह जिल्लामा मात्रै बजेट केन्द्रित गरेको आरोप खेपिरहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चालु आर्थिक वर्ष सकिने बेलामा मन्त्रालय मातहतका दर्जनाै कर्मचारी सरुवा गरेका छन्। आव सकिने बेलामा मन्त्री महासेठले धमाधम आयोजना प्रमुख, सुपरिटेन्डेन्ट इन्जिनियर, सिडिई (सिनियर डिभिजन इन्जिनियर) लगायतको सरुवा  गरेका हुन्।

मन्त्रालय स्रोतका अनुसार कर्मचारी सरुवामा मन्त्री महासेठको अस्वाभाविक चासो रहने गरेको छ। उनकै निर्देशन र साँठगाँठमा सरुवा हुने गरेको स्रोतले बतायो। आर्थिक वर्ष सकिन लागेका बेला मन्त्रालयबाट गरिएको सरुवालाई स्वाभाविक मान्न नसकिने मन्त्रालयका एक उच्च कर्मचारीले बताए। ती कर्मचारीका अनुसार मन्त्रालयबाट गरिएका केही सरुवामा बेथिति देखिएको छ।

मन्त्रीनिकट एक कर्मचारीले भने आव सकिने बेला देखिनेगरी काम गर्न कर्मचारीको सरुवा गरिएको दाबी गरे। काम नदेखिएको र परिणाम दिन नसकेको अवस्थामा मात्र कर्मचारीको सरुवा गरिएको ती कर्मचारीले बताए। उनले भने, ‘सरुवा अझै जारी रहनेछ।’

मन्त्रालय स्रोतका अनुसार दैलेखकी आयोजना प्रमुख कुशलता न्यौपानेलाई सडक विभागमा ल्याई त्यहाँ कार्यरत जुनियर इन्जिनियर (शाखा अधिकृत) अमित मण्डललाई निमित्त दिइएको छ। यसैगरी उपसचिवसरहका कर्मचारी पुल सेक्टर धरानका प्रमुख दरौला प्रसादलाई विभागमा ल्याई त्यहाँ पनि जुनियर इन्जिनियरलाई निमित्त दिइएको छ।

सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेलाई एक महिनामा तीनपटक सरुवा गरिएको छ। उनलाई गत महिना संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट विभागमा ल्याइयो। त्यसपछि विभागबाट सडक सुधार विकास आयोजना (आरआइडिपी) मा लगियो। केही दिनअघि मात्र उनलाई आरआइडिपीबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ। यसैगरी अर्का सुपरिटेन्डेन्ट अर्जुन अर्याललाई संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय बबरमहलबाट आरआइडिपीमा पठाइएको छ।  

अर्यालको ठाउँमा सहसचिव ज्ञानेन्द्र झालाई लगिएको छ। सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र विष्टलाई पुल सेक्टर नेपालगन्ज सरुवा गरिएको छ। यतिबेला जुम्लामा आयोजना प्रमुखको पद खाली छ। यसैगरी संघीय सडक सुपरिवेक्षण कार्यालय झापाका प्रमुख सहसचिव विनौद मौवारलाई मन्त्रालयमा ल्याइएको छ भने त्यहाँ सिनियर डिभिजन इन्जिनियर रविन्द्रलाल दासलाई पठाइएको छ।

यसैगरी अर्का सहसचिव कुबेर नेपालीलाई मध्यपहाडी आयोजनाको प्रमुखबाट सडक विभागमा सरुवा गरिएको छ। उनलाई यतिबेला जिम्मेवारीविहीन बनाइएको छ।

मध्यपहाडी आयोजनाको प्रमुखमा थानेश्वर खत्रीलाई लगिएको छ। मदन भण्डारी राजमार्ग आयोजनाका प्रमुख बेलबहादुर भुजेललाई मन्त्रालयमा सरुवा गरी त्यहाँ दिप बाराहीलाई पठाइएको छ। यसैगरी मन्त्री महासेठले हुलाकी राजमार्गको आयोजना प्रमुख अजय मूललाई रेल विभागको महानिर्देशक बनाएका छन्।

हुलाकी राजमार्गको आयोजना प्रमुख पद अहिले खाली छ। स्रोत भन्छ, ‘यतिबेला सहसचिवसरहका कर्मचारीलाई जिम्मेवारीविहीन बनाई हुलाकी राजमार्गको आयोजना प्रमुखमा उपसचिवसरहका कर्मचारीलाई कामु दिन खोजिएको छ।

गत जेठमा रेल विभागका महानिर्देशक रोहित विसुरालले अनिवार्य अवकाश पाएपछि सो पद रिक्त थियो।

यसैगरी मध्यपहाडी राजमार्ग गोरखाका प्रमुख नरेन्द्र भट्टलाई मदन भण्डारी राजमार्ग सुर्खेतमा सरुवा गरिएको छ। शम्भु आचार्यलाई मदन भण्डारी राजमार्ग सुर्खेतबाट मध्यपहाडी राजमार्ग पर्वत सरुवा गरिएको छ।

इन्जिनियर रमेश चौधरीलाई सडक डिभिजन लाहानबाट सडक डिभिजन साफेबगर सरुवा गरिएको छ। मन्त्री महासेठले केही दिनअघि मात्र सडक विभागको नेतृत्व फेरेका थिए। विभागका तत्कालीन महानिर्देशक सुशीलबाबु ढकाललाई मन्त्रालयको योजना महाशाखामा सरुवा गरी विभागका उपमहानिर्देशक रामहरि पोखरेललाई महानिर्देशक बनाइएको हो।

प्रकाशित: ६ असार २०८१ ०६:५१ बिहीबार

Physical Infrastructure and Transport Minister Raghuveer Mahaseth Minister Mahaseth's unnatural interest in staff transfers