२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

‘हिन्दकुश हिमालयमा सामान्य तहभन्दा कम हिउँ’

हिन्दकुश क्षेत्रमा हिउँको स्थायित्व र जमिनमा हिउँ रहने अवधि यस वर्ष सामान्यभन्दा अत्यन्त कम हुँदा तल्लो तटीय क्षेत्रमा पानीको अभाव हुने देखिएको छ। 

काठमाडौंमा मुख्यालय रहेको अन्तरसरकारी निकाय इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) ले सोमबार सार्वजनिक गरेको वार्षिक ‘स्नो अपडेट रिपोर्ट–२०२४’ मा समयमै खडेरीजनित समस्या व्यवस्थापनका लागि रणनीति बनाउन सुझाइएको छ । यसैगरी आपत्कालीन अवस्थामा पानीको आपूर्ति सुनिश्चितताका लागि समयमै तयारी गर्न पनि प्रतिवेदनले सुझाएको छ।

पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म फैलिएको ३५ सय किलोमिटर हिन्दकुश हिमालय क्षेत्रबाट पग्लने हिउँले यो क्षेत्रका १२ प्रमुख नदीको पानीको प्रवाहमा सरदर २३ प्रतिशत हिस्सा लिन्छन्। तर हरेक नदीमा प्रवाह हुने पानीको आपूर्तिमा यो क्षेत्रको हिउँको योगदान फरक–फरक छ। उदाहरणका लागि मध्य एसियामा बग्ने अमुदार्या नदीमा प्रवाह हुने ७४ प्रतिशत पानी, अफगानिस्तान हुँदै बग्ने हेलमन्ड नदीको ७७ प्रतिशत पानी र सिन्धु नदीमा प्रवाह हुने ४० प्रतिशत पानीमा हिन्दुकुश हिमालय क्षेत्रबाट बग्ने हिउँको योगदान छ।

हिउँको तह अनुगमनले यो क्षेत्रमा यस वर्ष हिउँ सामान्य तहभन्दा २० प्रतिशतले कम रहेको देखाएको छ। विशेषगरी पानी आपूर्तिमा अत्यधिक योगदान रहेको हिन्दकुश हिमालयको पश्चिमी क्षेत्रमा नाटकीय हिसाबले हिउँ तहमा कमी देखिएको इसिमोडका वैज्ञानिकले जनाएका छन्। 

प्रतिवेदनअनुसार हेलमन्ड नदी जलाधार क्षेत्रमा पानीको अविरल प्रवाहमा ३१.८ प्रतिशतले ह्रास आएको छ। यसअघि सन् २०१८ मा यो प्रवाहमा सर्वाधिक ४२ प्रतिशतले कमी आएको थियो । यसैगरी सिन्धु जलाधार क्षेत्रमा पानीको प्रवाहमा २३.३ प्रतिशतले कमी आएको छ, जुन विगत २२ वर्षकै सबैभन्दा कम स्तर हो। यो क्षेत्रमा सबैभन्दा कम प्रभाव परेको मेकोङ जलाधार क्षेत्र हो, जहाँ हिउँको उपस्थितिमा मात्र १ प्रतिशतले कमी आएको छ। ‘हामीले हिन्दकुश हिमालयमा हिउँको मात्रा व्यापक रूपमा घट्दै गएको पाएका छौं। विशेषगरी विगत २२ वर्षमध्ये १३ वर्षमा सरदरभन्दा कम हिउँको मौसमी स्थिरता देखिएको छ,’ प्रतिवेदनका लेखकसमेत रहेका इसिमोडका क्रायोस्फेयर विज्ञ सेर मोहम्मदले भनेका छन्।

अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू र तल्लो तटका समुदायहरूका लागि यो जाग्ने घण्टी (वेक–अप–कल) हो । हिमालका टाकुरामा हिउँको सतहमा आएको कमी र हिउँको उतार–चढ़ावले यो वर्ष पानीको आपूर्तिमा अत्यन्त गम्भीर प्रभाव पर्न सक्ने देखिएको छ,’ उनले भनेका छन्।

इसिमोडका अर्का वरिष्ठ क्रायोस्फेयर विज्ञ मिरियम ज्याक्सन समस्या समाधानका लागि संकट आउनुअघि नै उपायहरू खोजिनुपर्ने ठान्छिन्। ‘विशेषगरी गर्मीयाममा पर्न सक्ने खडेरीका बेला पानी व्यवस्थापन गर्न र जोखिममा रहेका समुदायलाई पूर्वसूचना दिन आवश्यक छ,’ उनले भनिन्। 

यसैगरी उत्सर्जित कार्बनले यो क्षेत्रमा हिउँ पर्ने र पग्लने समग्र प्रणालीमा पारेको असरसँग जुध्न यस क्षेत्रका सरकार र समुदायलाई तत्काल सहयोग आवश्यक रहेको प्रतिवेदनमा औंल्याइएको छ। ‘जी–२० समूहका देशले कार्बन उत्सर्जन कटौतीलाई तीव्र हिसाबमा घटाउन आवश्यक छ। त्यसो गर्न सकेमा मात्र यो क्षेत्रको अधिक जनसंख्याले खेप्नुपर्ने विपत् रोक्न सकिन्छ,’ ज्याक्सन भन्छिन्।

इसिमोडको प्रतिवेदनका अनुसार ब्रम्हपुत्र नदी जलाधार क्षेत्रमा १४.६ प्रतिशत र गंगानदी जलाधारमा १७ प्रतिशतले हिउँको उपस्थितिमा कमी आएको छ। यसैगरी तिब्बती पठारमा सरदरभन्दा १४.८ प्रतिशत र याङजे नदी जलाधार क्षेत्रमा २४.२ प्रतिशतले हिउँ घटेको प्रतिवेदनमा उल्लेख छ।  

प्रकाशित: ५ असार २०८१ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App