२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा एक सातादेखि बाढीपहिरो: ८१ घरका ३ सय ४२ जना विस्थापित

ताप्लेजुङमा पछिल्लो एक सातायताको बाढी र पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएअनुसार गत जेठ २७ यता जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोबाट ती घरपरिवार विस्थापित भएका हुन्।

जेठ २७ देखि यहाँ लागातर वर्षा हुन थालेको र हालसम्म बाढी र पहिरोले मानवीयसहित ठूलो धन–सम्पत्ति क्षति गरेको जिल्ला प्रहरी कार्यायल ताप्लेजुङले जनाएको छ। ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलका अनुसार बाढी र पहिरोका कारण हालसम्म आठ घर पूर्णरूपमा क्षति भएको छ। जिल्लाका विभिन्न क्षेत्रमा गरी १८ घर उच्च जोखिम र ५५ घर जोखिममा रहेको विवरण संकलन भएको प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए। 

उनका अनुसार उच्च जोखिम, जोखिम र घर पूर्णरूपमा भएकासमेत ८१ परिवारले बाढीपहिरोका कारण विस्थापित हुनुपरेको छ। विस्थापित परिवारका एक सय ६३ जना महिला र एक सय ७९ पुरुष गरी ३ सय ४२ जना विस्थापित भई कोही आफन्तकहाँ तथा कोही विद्यालयमा बस्दै आएका छन्।

बाढी र पहिरोले काठेपुल २ वटा, झोलुङ्गे पुल १ वटा, निर्माणाधीन पुल एकवटा र मान्छे हिँड्न बनाएको सिमेन्ट पुल १ गरी ५ वटा पुलमा क्षति पुर्‍याएको छ। यस्तै क्रसर उद्योग एक, सवारी साधन चार, पशुपालन फर्म एक र नौवटा गोठमा बाढी र पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

त्यस्तै नौवटा नगदेबाली अलैंची खेती भएको जमिनसमेत पहिरोले बगाएको छ। हालसम्म बाढी र पहिरोले बगाएर तथा पुरिएर ८४ वटा चौपाया मरेका छन् । पहिरोमै परेर ३१ वटा पशुपन्छी मरेको प्रहरीले जानकारी दिएको छ। हालसम्म पहिरोमा परेर तीनजना महिला र दुई पुरुष गरी पाँचजनाको मृत्यु भएको छ।

बाढी र पहिरोका कारण एक महिला र एक पुरुष गरी दुईजना घाइते भएका र उनीहरू उपचारपछि घरमै आराम गरिरहेको प्रहरीले जनाएको छ। बाढी र पहिरोले जिल्लाका ग्रामीण सडक कुद्ने ६ स्थानका बाटो अवरुद्ध भएकोमा ३ स्थानमा अझै अवरोध कायम रहेको र ३ स्थानमा भने एकतर्फी यातायात सेवा सुरु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असार २०८१ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App