२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रमदानमा जुटेका बाक्सिलाका ती पौरखी हातहरू

श्रमदान अभियानमा खट्दै केपिलासगढी- ४ बाक्सिलाबासी। तस्बिर : नागरिक

खोटाङको केपिलासगढी- ४ बाक्सिलाका कोशीकुमार राई हातमा झम्पल र गैंती लिएर बिहान १० बजे गाउँकै सार्वजनिक स्थलमा आइपुग्छन्। खाना खाएर आएका उनी व्यक्तिगत फाइदा नहेरी दिनभर ‘श्रमदान अभियान’ मा सरिक हुन्छन्।

गाउँका सडक, विद्यालय तथा अन्य सार्वजनिक स्थलको मर्मत–सम्भार र पुनर्निर्माण थालेका बाक्सिलाका नागरिक उनीसँगै आवश्यक घरेलु औजार उपकरण बोकेर श्रमदान अभियानमा खट्न पुग्छन्। अभियानका संयोजकसमेत रहेका राईलाई साथ दिन गाउँका प्रत्येक घरबाट १-१ जना बयस्क नागरिक औजार उपकरणसहित आउने गरेका छन्।

गत चैतको अन्तिम शनिबारदेखि भेला भएर सामूहिक काम गर्न थालेको १० हप्ता बितिसक्दा गाउँका भत्केबिग्रेका सबै सडकको मर्मतसम्भार पनि भइसकेको छ। अहिले विद्यालय, स्वास्थ्य संस्था र सामाजिक संघसंस्था सफा, सुग्घर र बोटबिरूवाले भरिभराउ भइसकेका छन्।

बाक्सिलावासी हरेक शनिबार श्रमदानमा जुट्दै आएका छन्। श्रमदान अभियानले वडाका प्रत्येक टोल र भित्री सडक बाह्रै महिना यातायात चल्न सक्ने भएर गाउँभित्र र बाहिर आउजाउ गर्न सहज भएको छ।

संयोजक राईका अनुसार बर्खायाममा दुःख बिमार पर्दा उपचार गर्न एम्बुलेन्ससम्म चल्न नसक्ने गरी बिग्रिएका सडक मर्मत गरी बाह्रैमास गाडी चल्ने बनाउन अभियान सुरू गरिएको हो। सधैं काम गर्न नभ्याउने हुनाले सातामा एक दिन शनिबार श्रमदानमार्फत सडकलगायत सार्वजनिकस्थलहरूको मर्मत र सरसफाइ गर्ने अभियान थालिएको राईको भनाइ छ।

श्रमदानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, युवा, महिला, विद्यार्थी सबै स्वतः स्फूर्तरूपमा सहभागी हुने गरेको संयोजक राईले बताए। हातमा कोदालो, झम्पल, गैँटी र कुखुरी बोकेर शनिबार विहान घरदेखि निस्कने स्थानीयहरू दिनभर श्रमदानमा सहभागी भएर साँझ मात्र घर फर्कने गरेका छन्।

१० साताको श्रमदानमा चार सयजना स्थानीय सहभागी भएको संयोजक राईले बताए। पहाडी भूभाग, विना इन्जिनियरिङ डोजर लगाएर खनेका सडकहरू उसै पनि टिकाउ हुने कुरै भएन। एउटा गाउँदेखि अर्को गाउँ जोड्न खनेको साँघुरो ट्रयाक हरेक वर्षाले पहिरो जाँदा गाउँ-टोलमा आउजाउ गर्नसम्म नसक्ने अवस्था अन्त्य गर्न श्रमदानले ठूलो सहयोग गरेको छ। बर्सेनि भल-पहिरोले बिगार्ने सडकहरू यसरी नियमित मर्मत गर्न थालेपछि आउजाउ गर्न र खासगरी बिरामी पर्दा उपचार गर्न लान ल्याउन र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ।  

निरन्तर श्रमदान हुन थालेपछि देशविदेशमा रहने स्थानीयबासीले आर्थिक सहयोगसमेत गर्न थालेका छन्। बाक्सिलामा जन्मेर रोजगारी तथा अध्ययन गर्न विभिन्न ठाउँ र विदेश रहेकाहरूले सहयोग गर्न थालेका छन्। यसबाट हालसम्म १ लाख १२ हजार रूपैयाँ प्राप्त भईसकेको र सो रकम श्रमदानमा खट्नेहरूलाई खाजामा खर्च गर्ने गरिएको संयोजक राईले बताए।

अर्को सबल पक्ष श्रमदानमा खट्नेहरूले आयातीत नभएर स्थानीय उत्पादनको खाजा खाने गरेका छन्। खाजामा भुटेको मकै भट्मास, कोदोको रोटी, भात खाँदा मकै र स्थानीय किसानले उत्पादन गरेको चामल, सागसब्जी र तरकारी, मही, दही, घ्यु र जुस सबै गाउँलेले उत्पादन गरेकै प्रयोग गर्ने गरिएको छ। चाउचाउ, कोक फेन्टा, डिउ जस्ता जंकफुड पूर्णरूपमा प्रयोग गर्न मनाही गरिएको छ।

वडाध्यक्ष खड्ग तामाङका अनुसार अभियान बाक्सिलास्थित हल्कुमस्थित शिक्षा जयन्ती आधारभूत विद्यालयको भुईं ढलान गरेर सुरुआत गरेको बताए। त्यसयता लगातारको श्रमदानले बाक्सिलाका दशकते-रातोपानी सडक ५७ मिटर, माक्पाली डाँडामा ४५ मिटर, हयापु २२ मिटर र खर्कु खोलामा १० मिटर सडक सोलिङ भएको छ। श्रमदानबाट हालसम्म १ सय ३४ मिटर सडक सोलिङ गरिसकिएको छ भने स्थानीय विद्यालयपरिसर सबैमा सरसफाइ र बिरुवा रोप्ने काम भइसकेको तामाङले बताए।

  

श्रमदानका लागि गाउँलेको नारा छ, ‘आफ्नो गाउँ, आफैं बनाऔं।’ वडाध्यक्ष तामाङ आफ्नो कार्यकालभर यो नारा र श्रमदान अभियानलाई जारी राख्ने पक्षमा प्रतिबद्ध छन्। उनले वडाको बजेटले सबै काम सम्भव नहुने भए पनि स्थानीयस्तरमा गर्न सकिने काम आफैं गर्न र त्यो काममा गाउँलेलाई सहभागी गराउन अभियान सुरु गरिएको बताए।

अहिलेसम्म वडाले सुरु गरेको श्रमदान अभियानमा सबैको साथ पाइरहेको भन्दै उनले कतिपय सानातिना काममा राज्यको नजर पर्न नसक्ने देखेर श्रमदानबाटै सम्बोधन गर्ने गरी यसमा लगाव दिइएको बताए।

अभियानकै क्रममा असार १ गते बाक्सिला बजारमा गुराँसको बिरूवा रोप्ने तयारी भइरहेको छ। बाक्सिला बजारदेखि हरेलोडाँडा हुँदै केपिलासगढीसम्मको रेन्जलाई गुराँस क्षेत्र बनाउने लक्ष्यका साथ बिरुवा रोप्ने तयारी गरिएको अभियानका संयोजक राईले बताए। निकट भविष्यमा बाक्सिला बजारमा ‘गुराँत पार्क (उद्यम)’ बनाएर पर्यटकीयस्थल घोषणा गर्न यसले मद्दत पुग्ने अपेक्षा वडाले लिएको छ।

जसअनुसार केही साता श्रमदानबाटै बाक्सिला बजार क्षेत्रमा गुराँसका बिरुवा रोप्ने क्रम चल्ने छ। अभियानको सुरूवात गाउँपालिका अधयक्ष समिर राईले गर्ने गरी कार्यक्रम तय भएको छ, जसअनुसार सो क्षेत्रमा गुराँसका एक हजार बिरुवा रोप्ने योजना रहेको संयोजक राईले बताए।

प्रकाशित: १ असार २०८१ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App