२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

उपलब्धिमूलक बन्दै बहुक्षेत्रीय पोषण कार्यक्रम

पोषणमैत्री अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रममा अभिनय गर्दै कलाकार। तस्बिर : नागरिक

जुम्लाको गुठीचौर गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रम उपलब्धिमूलक बन्न पुगेको छ। वडा ५ लाई पोषणमैत्री बनाउने अभियानअन्तर्गत गुठीचौर गाउँपालिकामा पोषणमैत्री जनचेतनामूलक देउडा तथा नाटक प्रस्तुत भइरहेका छन्।

‘सबैका लागि पोषण, सधैंका लागि पोषण’ भन्ने मूल नारासहित गुठीचौर गाउँपालिकाको साविकको देपालगाउँ गाविसभित्र विभिन्न पोषणमैत्री जनचेतनामूलक विषयक कार्यक्रम भइरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमका सहजकर्ता जगी धितालले बताए।

त्यस्तै, गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) ले चालु आर्थिक वर्षमा वडालाई पोषणमैत्री बनाउन कामलाई निरन्तरता दिन जिम्मेवार शाखालाई निर्देशन दिइन्।

उनका अनुसार कर्णाली प्रदेशको पहिलो पोषणमैत्री वडा घोषणाका लागि तयारी थालिएको छ। समाजका हरेक व्यक्तिको स्वस्थ मस्तिष्क विकासका लागि पोषणयुक्त खानेकुरा जरुरी  छ। देउडा कार्यक्रम र नाटक प्रदर्शनले समाजमा नयाँ सन्देश प्रवाह गरेको छ।

त्यस्तै, स्वच्छ खानेपानी व्यवस्थापनमा सहयोग साथै स्वास्थ्य संस्थाहरूमा आवश्यक उपकरण सहयोग कार्यक्रम सञ्चालन गरिएको र अबको योजना कार्य क्षेत्रअन्तर्गतका वडामा पोषणमैत्री वडा घोषणा गर्ने लक्ष रहेको वडा ५ का अध्यक्ष कमलबहादुर महतले बताए।

वडालाई पोषणमैत्री घोषणा गर्न जनप्रतिनिधि, कर्मचारी स्थानीय जनताको सहयोग आवश्यक छ। जनचेतनामूलक कार्यक्रमले साधारण मानिसले पोषणका बारेमा प्रस्ट बुझेको गुठीचौर गाउँपालिका–३ का वडाध्यक्ष इन्द्र बुढा दाबी गर्छन्।

जनप्रतिनिधि र कर्मचारीले मात्रै काम गरेर पोषणमैत्री वडा बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन्।

जुम्लामा उत्पादित रैथाले बालीको संरक्षण तथा प्रवर्द्धन गरी आयातित खाद्यवस्तुलाई निरूत्साहित गर्न सके पोषणमैत्री वडा घोषणामा सहज हुने उनको धारणा छ। गाउँपालिका बहुक्षेत्रीय पोषण कार्यक्रमद्वारा चालु आव ०८०/८१ मा आठभन्दा धेरै कार्यक्रम भएका छन्।

आगामी आर्थिक वर्षमा गुठीचौर गाउन्पालिका– ३ र ५ मध्ये एउटा वडालाई पोषणमैत्री वडा कनाउने लक्ष्यका साथ काम भइरहेको पोषण सहजकर्ता जगीप्रसाद धिताल बताउँछन्।

उनका अनुसार पोषणमैत्री वडा घोषणाका लागि चालु आवमा पालिकास्तरीय बैठक सञ्चालन तीन विपन्न सुनौला हजार दिनका ३८ जना आमालाई बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल, षाडेन पाइप, सुनौलो हजार दिनका आमालाई स्प्रिकलर र तरकारी बीउ वितरण, पोषणमैत्री टोल समिति गठन, पोषण प्रोफाइलका लागि तथ्यांक संकलन गरिएको छ।

धितालका अनुसार पोषणमैत्री अभियानका लागि क्षमता विकास तालिम, किशोरकिशोरी, सुनौला हजार दिनका आमा, महिला स्वयंसेविका, स्वास्थ्यकर्मीलाई पोषणसम्बन्धी क्षमता विकास तालिम, २ सय जना सुनौला हजार दिनका पालिकाका ३ र ५ का विपन्न आमालाई आयआर्जन तथा पोषणका लागि मासु र अन्डामा पहुँच पुर्‍याउने उद्देश्यले कुखुराका चल्ला वितरण भइरहेको छ।

त्यस्तै, विद्यालयमा बालबालिकालाई दिवा खाजा, सफा खानेपानीका लागि फिल्टर वितरण, दिवा खाजा खानका लागि प्लेट र चम्चा सहयोग, पोषण कर्नर पालिका, वडा र विद्यालयमा राख्ने तयारी सुनौला हजार दिनका आमालाई कृषि सामग्री तथा मौसमी बिउ वितरण गर्ने तयारी लगायतका काम भइरहेको धितालले बताए।

धितालका अनुसार पालिकाका शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ, सुशासन, स्वास्थ्य चौकी, बहुक्षेत्रीय पोषण, खाद्य सुरक्षा समिति स्रोतलगायत शाखाले तीव्ररुपमा काम गरेमा छिटो पोषणमैत्री वडा घोषणा गर्न सकिने छ। कुपोषणको समस्या सुधार्न एक दिनको मात्र पहल र प्रयास पर्याप्त नहुन सक्छ।

प्रकाशित: ३१ जेष्ठ २०८१ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App