२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पाल्पाको नुवाकोट घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार राती करिब साढे ८ बजेतिर बुटवलको जितगढी झर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक स्याङ्जा पुतली बजार घर भई हाल बुटवल-१० बस्ने ५६ वर्षका रामप्रसाद शर्मा, तिलोत्तमा-३ की ५७ वर्षीय आशा श्रेष्ठ र ५० वर्षीय भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटना दुई जना घाइते भएका छन्। बुटवल मिलनचोककी ५६ वर्षीय चन्दा श्रेष्ठ र बुटवल-११ होराइजन चोककी ४६ वर्षकी लक्ष्मीता श्रेष्ठ घाइते भएका हुन्।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

बुटवलको सिरानमा रहेको डाँडाको पर्यटकीय क्षेत्र नुवाकोटबाट जितगढी झर्ने ओरालो सडकको घुम्तीबाट कार एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए।

उनीहरु बुधबार नै नुवाकोट घुम्न गएको र फर्कने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाको कारणबारे खुलिसकेको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३१ जेष्ठ २०८१ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App