२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गर्मीमा शीतलता प्रदान गर्दै हेटौंडाको ‘मोही घर’

राजमार्ग अन्तर्गत नेवारपानीमा रहेको मोही घर।

‘यस्तो गर्मीमा मोही पिउन पाउनु सुखद कुरा हो’, पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१९ नेवारपानीको डिपडाँडामा रहेको मोहीघरमा मोही पिउँदै चितवनबाट आएका नवराज राईले भने ‘चिसो पेय पदार्थको सट्टा मोही खान पाउँदा गर्मी नै कम भएको महसुस भयो।’

कोरियन भाषाको कामका लागि हेटौंडा जाँदै गरेका उनले तीन गिलास मोही पिए। भर्खरका युवाले निकै राम्रो कामको थालनी गरेको भन्दै उनले मोही घरको प्रशंसा समेत गरे।

राईजस्तै मोही घर नजिकै बसेर मोहीको स्वाद लिइरहेका अन्यले पनि प्रशंसा गरिरहेका थिए।

नेवारपानीका युवा प्रल्हाद अधिकारीले गर्मीमा प्यास लागेका यात्रुहरूलाई शीतलता प्रदान गर्ने उद्देश्यसहित मोही घर सञ्चालनमा ल्याएका हुन्।

पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्नेहरू यहाँ पसेर मोही पिउँदै जान्छन्, जसले गर्दा मोहीघरमा सर्वसाधारणको भीड लाग्ने गरेको छ।

जापान जाने प्रक्रियामा रहेका अधिकारीले बीचकाे समयलाई सदुपयोग गर्न सानो लगानीमा मोही घर सुरु गरेका हुन्। यहाँ दैनिक ३० लिटरसम्म मोही बिक्री भइरहेको अधिकारीले बताए।

१५ रुपैयाँ गिलासमा बिक्री हुने मोहीले पछिल्लो समय सरदर ५ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको छ। उनका अनुसार दारको ठेकीमा राखेर विक्री गरिने मोही आफ्नै घरमा पालेको तीनवटा गाईको दूध र गाउँबाट संकलन गरिएको दूधबाट तयारी गरिएकाे हाे। प्रल्हादलाई उनकी आमाले पनि सहयोग गर्दै आएकी छिन्।

गर्मी बढेसँगै उनले दुई हप्ता अघिबाट मोही बेच्न सुरु गरेका हुन्। उनी भन्छन् ‘जापान जाने भनेर कुरेर बसिरहेको थिएँ। त्यसै के बस्नु, सानो लगानीमा केही गरौं भन्ने उद्देश्यले मोही बेच्न सुरु गरेको हुँ। ५ लिटरबाट सुरु गरेको थिएँ अहिले दैनिक ३० लिटरसम्म मोही बिक्री गर्ने गरेको छु। पछिल्लो समय सरदर ५ हजार रुपैयाँ सम्मको मोही बेचिरहेको छु।’ 

मोहीसँगै उनले लस्सी समेत बेच्ने गरेका छन्। ‘शीतल ताप्न र मोही खान आउनेहरूको भीड लाग्ने गरेको छ। मोही बेच्दा कसो होला भनेर सामान्य तरिकाले सुरु गरेको थिएँ, कहिले त बनाएको मोही दिउँसै सकिने गरेको छ’, अधिकारीले सुनाए।

गर्मीमा मोहीको माग बढ्दै गएमा व्यापारलाई अझ बृहत् बनाउने योजना रहेको उनले सुनाए। सामान्य कामबाट समेत राम्रो चर्चा र कमाई भएकोमा उनको आमा समेत खुसी छिन्।

गर्मीमा चिसो पेय पदार्थ प्रयोग गर्नुको सट्टा मोही, दही खानु स्वास्थ्यको लागि समेत फाइदाजनक हुने स्वास्थ्यकर्मीको भनाई छ।

प्रकाशित: २९ जेष्ठ २०८१ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App