२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सय वर्षपछि म्यालोरी पछ्याउँदै पनातिनी

फ्रेजा एभलिन हलो सगरमाथा आधार शिविरमा।

‘आधार शिविरमा पुग्नु मेरा लागि  अविश्वसनीय अनुभव थियो तर मेरो जिजुबुबा जर्ज म्यालोरीले सय वर्ष पहिले आरोहण गर्नुभएको उही चुचुरो नजिकबाट हेर्न पाउनु अझ मनमोहक थियो।’ चर्चित आरोही म्यालोरीको विरासतको कथा महसुस गर्न सगरमाथा आधार शिविर भ्रमण गर्दाको अनुभव पनातिनी फ्रेजा एभलिन हलोले यसरी सुनाइन्।

म्यालोरी र एन्ड्रियु अरभिन सगरमाथा आरोहणका क्रममा हराएको सय वर्ष पुगेको अवसरमा हलो अहिले सगरमाथा आधार शिविरमा छिन्। उनले जिजुबुबाको विरासत महसुस गर्न यही जुन ८ तारिख आधार शिविरमा बिताइन्।

आधार शिविरमा रहँदा आफूले जिजुबुबा किन हिमाल र विशेषगरी सगरमाथाप्रति यति मोहित हुनुहुन्थ्यो भनेर आफ्नै आखाँले देखी महसुस गरेको उनले बताइन्।

‘यस्तो विशाल र सुन्दर पहाडहरूले घेरिएको सगरमाथाको सुन्दरता वास्तवमै एकदमै विस्मयकारी छ। मैले यी दृश्यबाट एकछिन पनि आँखा हटाउन सकिनँ,’ उनले भनिन्।

उनी आफू सानैदेखि जिजुबुबा र उनका साहसिक कार्यबाट मोहित भएको बताइन्। उनले जिजुबुबा म्यालोरीको आत्माको केही अंश आफैंमा पाएकाले लामो समयदेखि हिमाल भ्रमण गर्ने धोको र आशा पालेको बताइन्।

त्यही आशालाई यथार्थमा बदल्न म्यालोरी सगरमाथामा देखिएको अन्तिम दिनको सय वर्षगाँठको अवसरमा उनी आधार शिविरमा पुगेकी हुन्। यसका लागि उनले आफ्नो शल्यक्रियाको समय पर  सारिन, कामबाट विश्राम लिइन्, नेपालमा आइट्रेक एभरेस्ट कम्पनीसँग सम्पर्क गरिन् र जुन ८ मा सगरमाथा आधार शिविरमा पुग्न साथी रिकसँग नेपाल आइन्।

जुन ७ मा उनी साथी रिकसँग सगरमाथा आधार शिविरमा पुगेकी थिइन्। उनले मौसम एकदमै राम्रो भएकाले सगरमाथा र अन्य हिमालसहित बादलको दृश्य एकदमै आनन्द दिने खालेको रहेको बताइन्। त्यस रात आधार शिविरमा बिताएकी उनले जिजुबुबा देखिएको अन्तिम दिन ८ जुनमा सगरमाथालाई आफ्नै आखाँले नजिकबाट हेरिन्।

यो यात्रा उनका लागि विषेश थियो। उनका मनपर्ने दिनहरूमध्ये ८ जुन एक रहेछ। यसैदिन सगरमाथा आधार शिविरमा पुग्न पाउँदा एकदमै खुसी भएको उनले बताइन्। उनी यो पदयात्रालाई अचम्मको मान्छिन्। गाइड सोनमको अनुभव र ज्ञानले यो यात्रालाई विशेष बनाएको हलोरीको बुझाइ छ।

म्यालोरी र अरभिन वास्तवमा सगरमाथ शिखरमा पुगेका थिए कि थिएन भन्ने विषय आजसम्म रहस्यमै छ। म्यालोरीको शव ७५ वर्षपछि सन् १९९९ मा फेलापरेको थियो। त्यसबेला म्लोरी र अरभिनले बोकेको क्यामेरा फेलापरेको छैन। त्यो फेला परेमा उनीहरू सगरमाथा शिखरमा पुगे कि पुगेनन् भन्ने कुरा खुल्ने उनी बताउँछिन्।

सन् १९२४ मा म्यालोरी र अरभिनले ८,५७२.८ मिटर उचाइसम्म पुगेर कीर्तिमान कायम गरेका थिए। विडम्बना, यी दुई साहसी आरोही ८ जुन १९२४ मा हिउँमा हराए। कतै म्यालोरी र अरभिन दुवैले वा एकले सगरमाथा चढेर फर्कने क्रममा त दुर्घटना भएको थिएन? दशकौंसम्म यो जिज्ञासा कायम छ। पुष्टि हुने आधार फेला नपरेसम्म यो जिज्ञासा रहिरहने छ।

सन् १९९९ मा बेलायती खोज टोलीले ८,१५६ मिटर उचाइमा कंकाल बाँकी रहेको शव भेटेको थियो। वैज्ञानिक जाँचपछि त्यो म्यालोरीको भएको पत्ता लाग्यो। अरभिन भने अझै सगरमाथामै कतै भएको अनुमान छ। आफ्नो जिजुबुबा म्यालोरी र उनको विरासतका कथाहरू सुन्दै हुर्केको बताउने हलोरीले अर्को पटक आइट्रेकसँग सगरमाथा आरोहण गर्ने योजना बनाइरहेकी छन्। उनको सम्झनामा जिजुबुबा एक उत्सुक आरोही हुन्, अनि एक रहस्य र प्रेरणाका स्रोत पनि हुन्।

प्रकाशित: २८ जेष्ठ २०८१ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App