२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा अज्ञात रोगले २३ भेडा मरे

जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडाको मृत्यु भएको छ।

हिमा गाउँपालिकाको वडा नं-१ बड्की गाउँका किसान वीर बहादुर शाहीका १०, कर्णबहादुर शाहीका ६, अकल शाहीका ४ र जिर शाहीका ३ भेडा मरेका हुन्।

वीर बहादुर शाहीका अनुसार, भेडाहरूमा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने र अन्ततः मर्ने समस्या देखिएको छ। यहाँ विगत एक महिनाको अवधिमा २३ भेडाको मृत्यु भएको हो।

अज्ञात रोगले तिन दिनभित्र मात्रै करिब १० भेडा मरेको किसान शाहीले बताए। रोगको पहिचान अझै नभएको र यसको कारणबारे स्पष्ट जानकारी नभएको उनले थपे।

हिमा गाउँपालिका पशु शाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा प्राविधिक पठाउने तयारी भइरहेको जानकारी दिए। औषधि सकिएको र स्थानीय तहमा खरिद प्रक्रिया अघि बढिरहेको उनले बताए।

औषधिको अभावले समस्या उत्पन्न भएको किसानहरूले गुनासो गरेका छन्। थापाले औषधि तथा थप प्राविधिकका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयमा माग गरिएको जानकारी दिए। भेडाहरू मर्न थालेपछि अहिले तिनीहरूलाई कालाकाटिया पाटनतिर सारिएको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयले रोग पत्ता लगाउन गाउँपालिकाले अनुरोध गरेपछि आवश्यक औषधि पठाउने प्रतिबद्धता जनाएको छ।

कार्यालय प्रमुख ज्ञानेन्द्र बुढथापाले स्थानीय तहसँग समन्वय गरेर रोगको पहिचान गरी उपचार गरिने र औषधि तथा प्राविधिक पठाइने बताए।

प्रकाशित: २७ जेष्ठ २०८१ १९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App