२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ठडियो लिमचुङबुङको प्रशासनिक भवन

लिमचुङबुङ गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवन। तस्बिरः महेश्वर

उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकामा नयाँ निर्मित प्रशासनिक भवन सम्पन्न भएको छ। अढाई वर्षअघि निर्माण सुरु भवन वडा नं. ३ को बाराहास्थित गाउँपालिका मुकाममा ठडिएको हो।

बहुकोठे ४ तलाको सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न भएसँगै अनौपचारिक रुपमा कार्यालय सारेर सञ्चालनमा ल्याइएको छ। प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले भवनको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको बताए। केही दिनभित्रै भवन उद्घाटन गरी विधिवत् रुपमा सञ्चालन गर्ने तयारी भइरहेको हाकिम गुरुङले बताएका छन्।

गाउँपालिका अध्यक्ष मेजरकुमार राईका अनुसार भवन अभावले स्थानीयहरूका केही साँघुरा घर टहरा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आउनु परेको थियो। ०७३ सालमा स्थानीय तह पुनर्संरचना भएपछि गाउँपालिका केन्द्र तोकिएको बाराहामा आफ्नो स्वामित्वको भवन अभावमा भाडाका घरमा कार्यालय सञ्चालन गर्नुपर्दा खेप्दै आउनु परेको समस्या यो भवन निर्माणसँगै समाधान भएको अध्यक्ष राईले बताए।

भवन बनाउन सुरुमै पहल भए पनि आवश्यक जमिन नपाएका कारण निर्माण गर्न ढिलाई भएको थियो। लामो समयको प्रयासपछि स्थानीयबाट प्राप्त गरेको १५ रोपनी क्षेत्रफल जमिनमा प्रशासनिक भवन बनाइएको हो। साबिकको कार्यालय स्थल पोखरीभन्दा आधा किलोमिटर माथि बनेको नयाँ भवनसम्म जान–आउन गाउँपालिकाले छुट्टै नयाँ सडक निर्माण गरेको छ।

गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईका अनुसार आर्थिक वर्ष ०७७/७८ मा निर्माण कार्य सुरु भएको भवन सम्झौता अवधिभित्रै सकिएको छ। कुल लागत ७ करोड ७८ लाख मूल्यको प्राविधिक इस्टीमेट रहेको भवन निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धा हुँदा ४१ प्रतिशत विलो (न्यून मूल्य) अर्थात मूल्य अभिवृद्धि कर (भ्याट)सहित ४ करोड ६१ लाखमा सम्पन्न भएको अधिकृत राईले बताए।

गाउँपालिकाको मुख्य लगानीमा निर्मित भवनका लागि प्रदेश सरकारबाट १ करोड र स्थानीय पूर्वाधार विकास विभाग (डोलि)बाट १ करोड रकम सहयोग प्राप्त भएको अधिकृत राईले बताए । नवनिर्मित भवन रङरोगन, फिर्निसिङ गर्ने काम सम्पन्न भइसकेर कार्यालय सजावटसँगै कार्य सञ्चालन थालिएको छ।

अत्याधुनिक, सुविधा सम्पन्न र अपाङ्गतामैत्री भवनका हरेक तलामा महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय, अध्यक्ष, उपाध्यक्षलगायत जनप्रतिनिधि कार्यकक्ष, प्रमुख प्रशासकीय कार्यकक्ष, लेखा, प्रशासन, प्राविधिकलगायत विषयगत शाखा कक्ष, बैठक कक्ष र खानेपानी तथा विद्युत् सेवा उपलब्ध रहेको प्रशासकीय अधिकृत युवराज ओलीले बताए। ओलीका अनुसार भवन परिसरमा घेराबेरा र अन्य पूरक संरचना निर्माण कार्य पनि छिट्टै गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ। 

प्रकाशित: २७ जेष्ठ २०८१ १७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App