२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पति बेपत्ता, सुत्केरी पत्नी थुनामा

लोलाएको आँखामा चिन्तै चिन्ताले भरिएकी दुई महिनाकी सुत्केरी यतिबेला पीडकका रूपमा थुनामा छिन्। आमा छोरालाई काँखमा खेलाउँदै हो हो बाबु हो हो... नरोऊ बाबु नरोऊ नरोऊ नरोऊ...भन्दै आफूले लगाएको कुर्ताको फेरोले बेरिरहेकी थिइन्। यी महिला हुन्-दोलखा जिरी नगरपालिका-९ की २५ वर्षीया मञ्जु भन्ने सिर्जना खनाल तामाङ घिसिङ।

उनी आफ्नो छोरालाई काँखमा राखेर दुध खुवाउँदै थिइन् भने अर्को हातले बच्चाको टाउँको र जिउ मुसारेसँगै छोराको शिरदेखि पाउसम्म आफ्नो मुखले फुफु गर्दै थिइन्। उनको एक हातमा हत्कडी झुन्डिएको थियो । तैपनि उनको पुरै शक्ति छोरामाथि लगाउँदै गर्दा बच्चाले च्याँच्याँ गर्न भने छोडेको थिएन।

कुर्तासुरुवालमाथि थुनुवाले लगाउने हाफ ज्याकेटको पहिरनमा ती आमाले बच्चालाई फकाउन भरपुर प्रयास गरिरहेकी थिइन्। कहिले दुध चुसाउँथिन् त कहिले नरोऊ बाबु नरोऊ भन्दै काँखमा हल्लाइरहेकी थिइन् । त्यो बच्चालाई आमाको दुध चाहिएको थिएन।

दुई महिलाको बालकले भनोस् पनि कसरी मलाई गाह्रो भइरहेको छ भनेर। उसको शरीर पुरै घमौराले भरिएको थियो। त्यो बालकको लुगा सारेर हेर्दा पुरै शरीर राताम्य थियो। त्यसैले होला आमाले जति फकाउन खोज्यो उत्ति धेरै हातखुट्टा फालेर रोइरहेको थियो। तर, पनि आमाको मनै त हो, उनी बच्चालाई थुम्थुम्याउन छोडिनन्। अझै माया गर्दै हातका औंलाले बच्चाको शरीर पुरै मुसार्दै आमा पनि रुन थालिन्। बच्चालाई केही हुन्छ भन्ने ठुलो चिन्ता उनको आँसुको धाराले बताइरहेको थियो।

‘मेरो बच्चालाई केही भयो भने यही आत्महत्या गरिदिन्छु,’ उनले भक्कानिँदै नागरिकसँग भनिन्, ‘कति दिनदेखि बच्चा बिरामी भइरहेको छ। यहाँ कसैलाई मतलब नै छैन। दुई महिनाको सुत्केरी हुँ म। यस्तो अवस्थामा बच्चालाई दुध आउने गरेर पोषणयुक्त खानेकुरा र स्याहार गर्नुपर्ने तर केही खान पाएकी छैनन् उनले। त्यसैले होला उनको दुध नै आएको छैन र बच्चाले पनि खान पाएको छैन।’

 अपराधको आरोप उनलाई मात्रै होइन, पतिलाई पनि लागेको छ । प्रहरीको हिरासतमा दुई महिनाको शिशुसहित उनी परेकी छन्।

मानव बेचबिखन ब्युरोका प्रहरीले दुई महिनाकी सुत्केरी आमालाई ल्याउनुको कारणबारे बताए, ‘सिर्जनाले सञ्चालन गरेको मित्रपार्कस्थित स्वागतम् रेस्टुरेन्ट एन्ड बारबाट तीनजना नाबालिकालाई यौन धन्दामा लगाएको सुराकमार्फत ती नाबालिकालाई उद्धार गर्‍यौं। उक्त बालबालिकालाई केरकार गर्दा यौन कार्यमा लगाएको हो भन्ने खुल्न आयो । त्यसैले उहाँहरूलाई समात्नु परेको हो।’

पीडक भनिएकी महिला यो स्विकार्न तयार छैनन् । महिलाका अनुसार आफू सुत्केरी भएर कोठामा थिइन्। प्रहरीले पतिलाई फेला नपारेपछि अनुसन्धानका लागि भन्दै यी महिलालाई हिरासतमा लिएका हुन्।

‘बुढा कहाँ जानुभएको छ थाहा छैन,’ उनले आँसुको बलिन्द्र धारा बगाउँदै भनिन्, ‘यसरी कस्टडीमा बसेको यत्तिका दिन हुँदा पनि यहाँ आउनुभएको छैन। तर, उहाँले माया त धेरै गर्नुहुन्थ्यो । किन आउनुभएन थाहा छैन। यो बच्चाको मायाले पनि आउनुपर्ने हो।’

ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार प्रहरी खाजा घरमा पुग्दा महिलाका पति थिएनन्। उनलाई तपाईँको पति खोइ भनेर प्रश्न गर्दा ‘घरमा नभएको’ जवाफ दिएकी थिइन् । ‘अहिले मेरा पति घरमा छैनन्। हामीले नानीहरूलाई त्यस्तो नराम्रो काममा लगाएका पनि होइनौं। मेरो बाबु सानो छ। खाना, खाजा र बच्चाको कपडा धुने काममा लगाएका थियौँ। त्यस्तो नराम्रो काममा किन लगाउनु र? कहाँ लैजानु पर्ने हो मलाई लैजानुस्।’

उद्धार गरिएका नाबालिकाको भनाइअनुसार पतिपत्नी दुवैले यौन कार्यमा लगाएको भनी खुल्न आएको ब्युरोका एसपी मिश्रले बताए।

‘सानो बच्चा छ, त्यो हामीलाई पनि थाहा छ । हुन त उहाँ पनि आरोपित व्यक्ति नै हुनुहुन्छ,’ एसपी मिश्रले भने, ‘हाम्रो पनि दुई महिनाको बच्चाको आमालाई यसरी कस्टडीमा राख्ने रहर होइन। तपाईको पतिलाई बोलाउनुस्, हामी तपाईँलाई छोडिदिन्छौँ भनेर धेरै पटक भन्दा पतिलाई उपस्थित गराउनै चाहनु हुन्न उहाँ।’

 आरोपितलाई यो अवस्थाका आधारमा संवेदनशील भएर छाड्दा सर्वसाधारण र पीडितले ‘पैसा खाएर छाडेको’ भन्न सक्छन्। ‘धेरै गाह्रो छ नि, माया मात्रै लागेर हुँदैन,’ मिश्रले भने, ‘त्यही पनि उहाँको पति आएको खण्डमा उहाँलाई छोड्ने योजना नै हो। पत्नीको साच्चै माया लाग्ने र गल्ति नै नगरेको भए ती महिलाको पति पक्कै आउँथ्यो।’

महिलालाई माया नै गरेर छोडिदिएको खण्डमा पतिपत्नी नै भारततिर गए भने कसलाई समात्ने भन्ने द्विविधामा प्रहरी रहेको मिश्रले बताए।

‘यसरी पीडकलाई नै माया गरेर छोडिदिएको खण्डमा पीडितलाई न्याय कसरी दिने हो र? त्यहीमाथि उहाँका पति आएको खण्डामा ती महिलालाई छोडिदिने हाम्रो योजना छ। उहाँले पतिलाई बोलाउँनै चाहनु हुन्न,’ एसपी मिश्रले भने।

 नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा मानव बेचबिखन अनुसान्धान ब्युरोले काठमाडौं महानगरपालिका–७ बाट ती सुत्केरी महिलालाई पक्राउ गरेको हो।

विभिन्न आर्थिक प्रलोभन देखाएर रेस्टुरेन्टमा वेटरको काम भन्दै नाबालिकालाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा उनीलगायत दुई जना महिलालाई दुई साताअघि ब्युरोले पक्राउ गरेको थियो। तर यस कार्यमा आफू संलग्न नभएको दाबी ती महिलाले गरिन्।

‘हामीले त्यस्तो काम लगाएका छैनौं,’ उनले भनिन्, ‘ती नानी आफैं काम खोज्दै आएका थिए। उनीहरू रेस्टुरेन्टमा सम्पूर्ण काम र मेरो बच्चासमेत हेर्ने भन्दै तयार भएका थिए। दशा बाजा बजाएर आउँदैन भन्थे हो रहेछ, आज यस्तो आरोप लाग्नुरहेछ।’

आरोपित महिलाको दाबीअनुसार नाबालिकालाई परामर्श र सहायत दिने विभिन्न संघसंस्थाले नै नाबालिकालाई उस्काएर तथा अन्य प्रलोभनमा पारेर उजुरी दिन लगाउँछन्। त्यति मात्रै नभएर उजुरी दिएमा क्षतिपूर्तिसम्म पाउने आश्वासन दिइन्छ।

यसरी विभिन्न संघसंस्थाले नचाहिने धेरै कुरा सिकाउँदा आफूहरूजस्तो नेपालमै व्यवसाय गरेर रोजगार प्रदान गर्ने सोझासाझालाई मार पर्ने गरेको छ। सिर्जनाको खाजाघरबाट तीन पीडित नाबालिकालाई दैनिक पाँचदेखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेकी हुन्।

रेस्टुरेन्टमा आएका ग्राहकसँग शारीरिक सम्पर्क राखेबापत आधा रकम दिने भनिए पनि त्यो पनि नदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। आर्थिक अवस्थाले कमजोर अवस्थामा रहेका बालिकालाई विभिन्न प्रलोभन देखाएर जबरजस्ती यौन व्यवसायमा लगाएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो । उक्त सूचनाको आधारमा खटिएको ब्युरोको टोलीले तिनको उद्धार गरेको हो। 

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App