२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

सिन्धुलीगढी संरक्षण गर्न पदयात्रा

सिन्धुलीको कमलामाई नगरपालिका-२, चियाबारीदेखि सिन्धुलीगढीसम्म ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ। यो यात्रा नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वाटर अन्तर्गत रहेको श्री नं. ९ बाहिनी अड्डा र सिन्धुली जिल्लामा तैनाथ श्री भवानीबक्स गणको आयोजनामा गरिएको थियो।

पछिल्लो वर्षदेखि सिन्धुलीको चियाबारीदेखि सिन्धुलीगढीसम्मको पुरानो पदमार्गलाई 'क्याप्टेन किनलक मार्ग' नामाकरण गरी पदयात्रा गर्ने गरिएको छ। यस यात्राको उद्देश्य ऐतिहासिक गढी र किल्लाहरूको संरक्षण तथा प्रवर्धन गर्नु हो। यो मार्ग क्याप्टेन किनलकले सिन्धुलीगढी आक्रमण गर्दा प्रयोग गरेको मध्ये एक थियो।

नेपाल एकीकरणका बेला वि.स. १८२४ मा सिन्धुलीगढीमा भएको युद्धमा इस्ट इण्डिया कम्पनीका क्याप्टेन किनलकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंशु गुरुङको नेतृत्वमा रहेको गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक घटना छ।

यो पदयात्राको आयोजनामा सोही स्थानहरूको संरक्षण गर्दै वीर पुर्खाहरूको वीरताका गाथाहरूलाई स्मरण गराउने र आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको नेपाली सेनास्थित भवानी बक्स गणका गणपति विमल वाग्लेले जानकारी दिए।

उनका अनुसार ‘सिन्धुलीको सान गढीहरूको पहिचान’ नारा सहित सिन्धुलीको चियाबारी देखि ढुङग्रेभन्ज्याङ हुँदै सिन्धुलीगढीसम्म करिब ८ कि.मि.को दुरीमा पदयात्रा गरिएको थियो।

कमलामाई नगरपालिकासँगको सहकार्यमा संचालन गरिएको कार्यक्रममा जिल्लाका सुरक्षा निकायहरु, सरकारी तथा गैर सरकारी कार्यालय, निर्वाचित पदाधिकारीहरू, सिन्धुली जिल्ला उद्योग वाणिज्य संघ, राष्ट्रिय सेवा दल तथा बहिरा स्कुलका बालबालिकाहरू, स्थानीय बासिन्दा, सिन्धुली कला घर लगायत पत्रकार महासंघ सहित करिब ५ सय ५० भन्दा बढी सहभागी थिए।

पदयात्राको सुरुवात चियाबारीमा नेपाली सेनाको पञ्चेबाजा टोलीले बाजा बजाएर गरेको थियो भने सिन्धुलीगढीमा कलाकारहरूले बाजा बजाएर स्वागत गरेका थिए।

किनलकले प्रयोग गरेको मार्ग सिन्धुलीको चियाबारी देखि ढुङग्रेभन्ज्याङ हुँदै सिन्धुलीगढीसम्म पदयात्रा गरिएको नेपाली सेनाको ९ नम्बर बाहिनी अड्डाले जनाएको छ।

विपी राजमार्गको निर्माण हुनुपुर्व पैदल यात्रीले प्रयोग गर्ने मार्ग मानै किनलकले प्रयोग गरेको इतिहास रहेको भन्दै सोही मार्गमा पदयात्रा गरिएको हो। नेपाल एकिकरण समयमा इन्डिया कम्पनी –ब्रिटिस कम्पनीका २४ सय फौज बिच युद्ध भएको इतिहास छ।

सिन्धुलीगढी क्षेत्रको ढुङग्रेभन्ज्याङ क्षेत्रमा र अन्तिम युद्ध ठुलो गढीको जंगल र सोलाभन्ज्याङ छेउछाउमा गरि तीन स्थानमा युद्ध गरि सेनाहरु पराजित भएको इतिहासकार बताउँछन्। कहिल्यै नहारेको बेलायती शक्तिले सिन्धुलीगढीमा हार बेहोरेको भएर नेपाली भन्ने अवसर पाएको इतिहासकार बत्ताउँछन्।

सिन्धुलीगढीका अनुसन्धानकर्ता सागरकुमार ढकालका अनुसार वीर पुर्खाहरूको अदम्य साहस र वीरताका कारण नेपाल राष्ट्रको अस्तित्व राख्न सिन्धुलीगढीको महत्त्वपूर्ण भूमिका रहेको छ।

‘वि.स. १८२४ मा इस्ट इण्डिया कम्पनीका क्याप्टेन किनलकको नेतृत्वमा आएको २४०० अंग्रेजी फौजलाई बंशु गुरुङको नेतृत्वमा रहेको नेपाली फौजले सिन्धुलीगढीबाट पराजित गरेको थियो, जसले हामीलाई नेपाली भनेर शिर उच्च राख्ने अवसर दिएको छ, ’ अनुसन्धानकर्ता ढकालले बताए।

यो पदयात्रा वर्तमान पुस्तालाई ऐतिहासिक मार्गको महत्वबारे प्रत्यक्ष जानकारी दिन र यस मार्गको संरक्षण गर्न महत्त्वपूर्ण रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८१ २०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App