२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

उखुबालीमै उब्जाए सहनीले लाखौँको तरकारी

उखुलाई एक वर्षमा उत्पादन हुने नगदे बाली मानिन्छ तर रौतहटको एक किसानले  उखुबालीमै विभिन्न तरकारी बाली लगाएर लाखौँ रुपैया आम्दानी गरेका छन् । उखुबालीमा अन्य बाली लगाउन सकिन्छ कि भनेर परीक्षण गरेका रौतहटको गढीमाई नगरपालिका २ का अगुवा उखु किसान कामेश्वर सहनीले परीक्षणमै लाखौँ रुपैया आम्दानी गर्न सफल भएका छन् । 

सहनीले आठ बिगाहामा उखुखेती गरेका छन् । आठ बिगाहा उखुमध्ये चार बिगाहा उखुखेतीमा विभिन्न किसिमका तरकारी खेती गरेर पहिलो पटक नयाँ परीक्षण गरेका छन् । चार बिगाहा उखुबालीमै प्याज, खुर्सानी, घिरौँला, लौका आदि लगाएर लाखौँ कमाएका छन् । 

सहनी भन्छन् – पहिलो परीक्षणमा सफल भएको छु । रिस्क लिएर उखुबालीलाई कस्तो असर गर्ला भनेर विभिन्न किसिमका तरकारी खेती गरेको त उत्पादन राम्रो भएको छ । 

उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने देखिएको छ । उखुखेतीबाली भित्र पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने देखिएको छ । 

सहनीले थोरै उखुमा प्याज रोपेकामा प्याजको उत्पादन निकै राम्रो भएको छ । अहिलेको मूल्यमा करिब साठी हजार मूल्य बराबरको प्याज उत्पादन भएको सहनीको भनाइ छ । 

उखुसँगै सहनीले खुर्सानी हुर्काएका थिए । खुर्सानीको उत्पादन राम्रो हुँदा करिब सत्तरी हजार रुपैयाको बेचेको सहनी बताउँछन् । हरियो खुर्सानी खेतबाटै थोकमा नै व्यापारीहरूले लगेको सहनी बताउँछन् ।

घिरौँला र लौकाले त कमाल गरेको छ । एक लाखभन्दा बढी रुपैयाको घिरौँला बिक्री भइसकेको बताउँदै सहनी भन्छन् – उखुको दुई लाइनको बिचमा रहेको खाली जमिनमा हुर्केको घिरौँलाले निकै राम्रो उत्पादन दिएको छ । 

उखुसँगै लौका खेती गरेका सहनी भन्छन् – अहिलेसम्म  तिन लाखभन्दा बढीको लौका बिक्री भइसकेको छ ।

अब उखुको बोट बिस्तारै ठुलो भइरहेकोले लौकाको करिब आधा लहरा काटिसकेको छु । लौकाको उत्पादन अहिले पनि भइरहेको छ तर अब उखुको बोटलाई हुर्कन तथा नयाँ बिरुवा पलाउनको लागि लौका बिस्तारै हटाउँदै लगेको छु । अझै पनि कम्तीमा पचास हजार रुपैयाको लौका निस्किने सहनी बताउँछन् । 

उखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिँचाइ गर्नु नपर्ने तथा उखुकै लागि गरिएको सिँचाइ र गोडमेलले तरकारी बालीलाई पनि करिब पुग्ने हुन्छ । उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा उखुसँगै गरिने मिश्रित तरकारी बालीले उखुलाई पनि फाइदा पु¥याएको सहनीको अनुभव छ । 

जमिनमा तरकारी बालीको लहर वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन् । उखुबालीमा गरिने तरकारी खेतीले किसानलाई अतिरिक्त आम्दानी दिने देखिएको छ । 

उखुसँगै  तरकारी उत्पादन गर्ने हो भने निकै राम्रो आम्दानी दिने तर अलिकति परिश्रम भने बढी लाग्ने सहनी बताउँछन् । उखुबालीमा गरिने मिश्रित तरकारी खेतीमा लागतको तुलनामा कैयौँ गुना बढी आम्दानी हुने भएकोले अरूलाई पनि उखुबालीसँग अन्य तरकारी बाली लगाउन सहनी सुझाव दिन्छन् ।

प्रकाशित: २६ जेष्ठ २०८१ १५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App